११ असोज, सिरहा । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा पानीको बहाव बढेपछि सुरक्षाकर्मीले जोखिम क्षेत्रमा माइकिङ गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान शाखाले ८ गतेदेखि ११ गतेसम्म भारी वर्षा र हावाहुरी हुन सक्ने सूचना जारी गरेपछि सिरहामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सम्भावित जोखिम क्षेत्रमा परिचालन गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार जिल्ला प्रशासन कार्यालय सिरहाले समेत सूचना जारी गरी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। उनका अनुसार सशस्त्र प्रहरीका ८३ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् भने थप २०० जनालाई तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, नेपाली सेनाका २ सय ५० जना सुरक्षाकर्मीलाई समेत आवश्यक परे तत्काल परिचालन गर्न तयारी अवस्थामा राखिएको बरालले जानकारी दिए।
नेपाल प्रहरी नियमित रूपमा फिल्डमा परिचालित रहेको उनले बताए।बरालका अनुसार पानीको बहाव बढेपछि लहानस्थित बलान नदीका कारण सखुवानन्कारकट्टी गाउँपालिका–५ र सिरहा नगरपालिका–६ प्रभावित हुन सक्ने जोखिम छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तथा जोखिमयुक्त क्षेत्रहरूमा माइकिङ गर्नुका साथै सुरक्षाकर्मी परिचालन गरिएको बरालले बताए। उनले नदी किनार तथा जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया 4