Comments Add Comment

सुशील कोइरालाका पाँच ‘क्राइसिस’

१४ भदौ, काठमाडौं । नयाँ संविधान बनाई इतिहासमा नाम लेखाएर राजीनामा दिने सोचाइमा रहेका प्रधानमन्त्री सुशील कोइराला संकटको भूँवरीमा फसेका छन् । अहिले प्रधानमन्त्री कोइराला सम्भवतः आफ्नो कार्यकालकै सबैभन्दा ठूलो संकटमा रुमलिएका छन् ।

प्रधानमन्त्री कोइरालाका सामु मुख्यतः ५ वटा गम्भीर चुनौती खडा भएका छन् जसलाई यसरी टिप्पणी गर्न सकिन्छ:

PM sushil Koirala in problems

१. मधेसमा बढ्दो तनाब

तराई मधेसमा तीनसातादेखि आन्दोलन र हडताल भइरहेको छ । सरकारले यो आन्दोलनलाई मथ्थर पार्न सकेको छैन । यसको साटो तनाव र झडप झनै बढिरहेको छ । कैलालीमा एसएसपीको समेत ज्यान गएको छ भने सोमबारसम्म आइपुग्दा यो तनाब वीरगञ्जमा देखापरेको छ ।

Gaura-Sena-ko-jimma

सरकारले एकातर्फ मधेसमा शान्ति सुरक्षा कायम गर्न सकिरहेको छैन भने अर्कोतर्फ लामो समयसम्म बन्द र हडताल भइरहँदा त्यहाँका जनता जनजीवन तहस-नहस बनेको छ । व्यापार व्यवसाय ठप्प छ । यातायात अवरुद्ध हुँदा मानिसहरुले आवत-जावत गर्न सकेका छैनन् । जनजिविकालाई सहज बनाउन सरकारले सकिरहेको छैन ।

तीज, दसैं लगायतका चाडबाड आउने बेलामा भएको बन्द र हडतालले व्यापारी, किसान एवं मजदुरहरु मर्कामा परेका छन् । भन्सार अवरुद्ध हुँदा राजस्व संकलनमा सरकारले ठूलो घाटा ब्यहोरिरहेको छ । मधेसमा आन्दोलन साम्य हुनुको साटो झनै हिंसात्मक हुने खतरा बढेको छ, जसले प्रधानमन्त्री कोइरालामा तनाब थपेको छ ।

२. वार्ताको विफलता

प्रधानमन्त्री कोइरालाले पटक-पटक वार्ताका लागि पत्र पठाउँदा पनि मधेसवादी मोर्चा, थारु र जनजातिहरु अहिलेसम्म वार्तामा बस्न मानेका छैनन् ।

संविधानको मस्यौदा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने समय सकिँदा पनि वार्ता भएन भने संविधान जारी गर्न र त्यसलाई लागू गर्ने सम्भावना जटिल बन्ने भएकाले प्रधानमन्त्री दबावमा परेका छन् ।

३. डा. गोविन्द केसीको अनसन

Baburam

एक सातादेखि जारी डा. गोविन्द केसीको भोक हडताल प्रधानमन्त्रीको लागि अर्को टाउको दुखाइको विषय बनेको छ । प्रधानमन्त्री डा. केसीका मागहरु पूरा गर्ने पक्षमा छैनन् । तर, केसीको बिग्रँदो स्वास्थ्यका कारण प्रधानमन्त्रीले यत्तिकै आँखा चिम्लन सक्ने स्थिति पनि छैन ।

डा. केसीको माग पूरा गर्दा पनि दबाव र नगर्दा पनि दबावको असामञ्जस्य स्थितिमा प्रधानमन्त्री कोइराला रुमलिएका छन् ।

४. अन्योलमा कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्ने म्याद सकिएकाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला अर्को संकटमा फसेका छन् । संविधान र पार्टीको विधानले गरेको व्यवस्थाअनुरुप महाधिवेशन गर्न नसेकपछि कांग्रेस नेताहरु संविधान नै संशोधन गर्नुपर्ने तर्क गर्न थालेका छन् ।

कांग्रेस बैठक । फाइल फोटो
कांग्रेस बैठक । फाइल फोटो

तर, एउटा पार्टीको महाधिवेशन सर्दा संविधान संशोधन गर्ने पक्षमा एमाले लगायतका नेताहरु तयार नहुन सक्छन् । तथापि पार्टीको महाधिवेशन नभए कांग्रेसको वैधानिकता नै सकिने र महाधिवेशन गर्न पनि नसक्ने स्थितिका कारण प्रधानमन्त्री कोइराला संकटमा फसेका छन् ।

५. विदेशी असहयोग

पछिल्लो समयमा कोइराला सरकारले छिमेकी देशबाट सहयोग नपाएको र मुलुकमा आन्दोलन चर्काउने विदेशीको हात रहेको गुप्तचर निकायहरुले सूचना प्राप्त गरेका छन् ।

मुलुकमा शान्ति कायम गर्ने र भदौ मसान्तमा संविधान जारी गर्ने कार्यसूचीमा विदेशीले असहयोग गरेको सरकारी अधिकारीहरुको बुझाइ छ । विदेशीको असहयोगका कारण सुशील कोइराला थप तनावमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment