सुभाषप्रसाद साह
१४ भदौ, बारा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन तराई मधेसमा एमाले विरुद्ध केन्द्रित हुन थालेको छ ।पछिल्लो समयमा एमाले जिल्ला कार्यालय र एमालेका मधेसी सभासदको कार्यालयमा सिलसिलेवार ढंगले आक्रमण र आगजनी हुन थालेपछि आन्दोलन एमाले विरुद्ध लक्षित देखिएको हो ।
पछिल्लोपटक सोमवार साँझ आन्दोलनकारीले बाराको कलैयास्थित एमाले जिल्ला कार्यालयमा आगो लगाइदिएको अनलाइनखबरकर्मी सुवासप्रसाद साहले जनाएका छन् ।
आन्दोलनकारीले एमाले कार्यालयमा आगजनि गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । यसअघि आन्दोलनकारीले महोत्तरी र रौतहटमा एमाले कार्यालयमा आगजनी गरेका थिए । सप्तरीमा एमाले सभासद रञ्जुकुमारी झाको सम्पर्क कार्यालयमा तोडफोड भएको थियो ।
किलैयास्थित एमालेको जिल्ला कार्यालयमा आन्दोलनकारी मधेशी मोर्चाका कार्यकर्ता आगजनी गरे । अहिले पनि कलैयाको भरत चोक र एमाले कार्यालय पन्नाबागमा अहिले पनि आन्दोलनकारी र प्रहरीबीच झडप भइरहेको छ । झडपमा रामसहाय यादव घाइते भएका छन् ।
आन्दोलनकारीले आफ्नै मञ्च तोडफोड गरे

मधेसी मोर्चा बाराले सोमबार सदरमुकाम कलैयामा लाठी जुलुस प्रदर्शन गरेको छ । गाउँ गाउँबाट सदरमुकाम कलैया आएका उनीहरुले हात हातमा बासको चिरेर बनाइएको लाठी बोकेर प्रदर्शन गरेका हुन् ।
सीमांकन लगायतका बिषयमा असहमति जनाउँदै मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई/मधेस बन्दको १६ औं दिन जनआन्दोलनको झझल्को दिने गरी उनीहरु प्रदर्शनमा उत्रिएका छन् । भाटासहित निकालिएको जुलुस नगर परिक्रमा गरी शहिद चोकमा सभामा परिणत भएको थियो ।
उनीहरुले स्थानीय प्रशासनले घोषणा गरिएको निषेधित क्षेत्र तोड्न खोज्दा नेताहरुले रोकेका थिए । त्यसको विरोधमा आक्रोशित आन्दोलनकारीले आफ्नै मञ्च तोडफोड गरेका थिए ।
स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र तोडन नदिने, खाली भाषण गरेर मधेसको अधिकार पाउन नसक्ने भन्दै उनीहरुले मञ्च तोडफोड गरेका हुन् । शहिद चोकमा बनाइएको मञ्च तोडफोड गर्न थालेपछि नेताहरुलाई आफ्ना कार्यकर्ता सम्हाल्न हम्मे-हम्मे परेको थियो ।
उनीहरुले मधेसी एकताको पक्षमा र प्रधानमन्त्रीको विपक्षमा नारा लगाएका थिए ।
प्रतिक्रिया 4