News Summary
Generated by OK AI. Editorially reviewed.- साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
- टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार पारेको थियो ।
- पराजित गुजरात टाइटन्सले फाइनल प्रवेशका लागि सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
१२ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्समाथि ९२ रनको एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा पुगेको हो ।
बेंगलुरुले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट भयो । राहुल तेवातियाले बनाएको अर्धशतक सान्त्वना मात्र बन्यो । उनले ४३ बलमा ६८ रन बनाए । जस बट्लरले २९ तथा साइ सुदर्शनले १४ रन बनाए ।
बेंगलुरुका लागि जेकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पान्ड्याले २-२ तथा जोश हेजलवूडले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो । कप्तान रजत पाटिदारले शानदार ब्याटिङ गर्दै ३३ बलमा अविजित ९३ रन बनाए ।
पाटिदारले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । २० रनमा खेलिरहँदा जीवनदान पाएका पाटिदारले त्यसपछि थप ७३ रन जोडे । विराट कोहली र क्रुनाल पान्ड्याले समान ४३ रन बनाए । भेनकटेश अय्यरले १९ रन बनाउँदा जितेश शर्मा १५ रनमा अविजित रहे ।
गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले २-२ विकेट लिँदा प्रसिध कृष्णाले १ विकेट लिए ।
जितसँगै बेंगलुरु सिधै फाइनलमा पुगेको छ भने पराजित गुजरातलाई अझै एक मौका हुनेछ । आईपीएलमा बुधबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच इलिमिनेटर खेलमा प्रतिस्पर्धा हुनेछ ।
इलिमिनेटरको विजेताले गुजरातसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
प्रतिक्रिया 4