Comments Add Comment

वीरगञ्जमा अस्पताल भित्रै गोली चल्यो, ३ घाइते

१५ भदौ, वीरगञ्ज । मधेसी मोर्चाको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पर्साको वीरगञ्जमा गोली चलाउँदा नौजना घाइते भएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल परिसर भित्र पनि गोली चल्दा एक प्रहरीसहित तीनजना घाइते भएका छन् ।

Birganj-Tax-Office
कर कार्यालयमा आगजनी गर्दै प्रदर्शनकारी

कर कार्यालयमा आगजनी गरेको समूह भाग्दै अस्पताल तर्फ गएपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । तर प्रहरीले यसबारे औपचारिक कुनै प्रतिक्रिया दिएको छैन ।

अस्पताल हाताभित्र गोली लागेर विनोद महतो, नरेन्द्र चौधरी र आइतबरियादेवी घाइते भएका छन् । चौधरी अस्पतालमा खटिएका प्रहरी जवान हुन् भने महतो कार्यालय सहायक हुन् । आइतबरिया देवी अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । उनीहरुको खुट्टामा रबरको गोली लागेको छ ।

नगवाचोकमा पनि गोली चल्दा २ जना घाइते भएका छन् । बारा विश्रामपुर ८ का अमिरीलाल पाल र सञ्जय साह घाइते भएका हुन् । सञ्जयको पेट र खुट्टामा गोली लागेको छ ।

यसैगरी मालपोत कार्यालय अगाडि चलेको गोली लागेर सिकेन्द्र हुसेन र विक्रम साह कानु घाइते भएका छन् । विर्ताचोकमा चलेको गोली लागेर वारा छतवा ६ का अजय साह घाइते भएका छन् । वीरगञ्जको गण्डकमा प्रहरीले चलाएको गोली लागेर एक बालक समेत घाइते भएका छन् ।

Birganj-hatiyar
वीरगञ्जमा मंगलबार देखिएका हतियारधारी एक व्यक्ति

घरेलु हतियारसहित प्रदर्शन

अस्पताल र बिभिन्न स्थानमा गोली चलेपछि स्थानीय आतंकित भएका छन् । वीरगन्जमा मधेसी मोर्चाका कार्यकर्ताहरुले घरेलु हतियारसहित प्रदर्शन गरेका छन् । धारिलो हतियारधारी समूह पर्साको पोखरीया गाउँ आसपासबाट वीरगञ्जमा प्रदर्शनमा आएको बताइएको छ ।

कैलालीको टीकापुर घटनामा पनि घरेलु हतियार प्रयोग भएको थियो ।

बिभिन्न स्थानमा आगजनी

वीरगञ्ज मंगलबार पनि विहानैदेखि अशान्त छ । स्थानीय प्रशासनले कर्फ्यु लगाए पनि प्रदर्शनकारीले त्यसको उल्लंघन गर्दै आएका छन् । मधेसी मोर्चाका कार्यकर्ताहरुले कर कार्यालयमा, जानकी टोलको प्रहरी चौकीमा र सीमा प्रहरी चौकीमा आगजनी गरेका छन् ।

आन्दोलनकारीले वीरगञ्जस्थित आन्तरिक राजश्व कार्यालयका बा १ झ २७२५ र ना १ झ ९७१ नम्बरको गाडीसमेत जलाएका छन् ।

नेपालको प्रमुख व्यापारिक नगर वीरगञ्ज सोमबार पनि दिनभर तनावग्रस्त भएको थियो । तनाव नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो । आन्दोलनकारीले कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिकसमेत ढालेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment