Comments Add Comment

एक वर्षमा भित्रिए २ लाख ३९ हजार सवारी

compact-car-comparison_678x352_51435660179

नविन अर्याल
२५ भदौ, काठमाडौं । विनाशकारी भूकम्पले करिब तीन महिना अटो व्यवसाय सुस्ताएको देखिए पनि गाडीको आयात भने बढेको छ । गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा करिव ४१ हजार सवारी साधन बढी आयात भएका छन् ।

यता अटो व्यवसायी भने भूकम्पपछि बैशाख, जेठ र असार महिना अटो व्यवसाय ठप्प भएको बताउँदै आएका छन् । आव २०७१/०७२ मा दुई लाख ३९ हजार ५ सय ८३ सवारी नेपाल भित्रिएका छन् । अघिल्लो आव २०७०/०७१ मा एक लाख ९८ हजार ३ सय ४३ सवारी भित्रिएका थिए ।

गएको वर्ष दुई पांग्रे सवारी (मोटरसाइकल र स्कुटर)मात्र एक लाख ९६ हजार थान भित्रिएका छन् । जुन कुल सवारी संख्याको ८२ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष एक लाख ६३ हजार ९४५ थान दुई पांग्रे सवारी भित्रिएका थिए ।

नेपालीको आर्थिक अवस्था र भौगोलिक बनावटका कारण चार पांग्रे सवारीको तुलनामा दुई पांग्रेको माग अत्याधिक बढी छ । केही वर्ष अगाडिसम्म विलासी वस्तुको रुपमा लिइने सवारी साधन पछिल्लो समय अत्यावश्यक बन्न पुग्दा आयात तिब्र वृद्धि भइरहेको छ ।

VEHICLES

अघिल्लो वर्षको तुलनामा गत वर्ष सबैजसो सेगमेन्टका गाडिको आयात बढेको यातायात व्यवस्था विभागले जनाएको छ । खासगरी मोटरसाइकल तथा स्कुटर, कार, टेप्पोको आयात उच्च दरले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ५० अर्ब २२ करोड रुपैयाँ बराबरको सवारी तथा पार्टपुर्जा आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११ अर्ब रुपैयाँले बढी हो । अघिल्लो वर्ष ३९ अर्ब १४ करोड रुपैयाँ बराबरको गाडी तथा पार्टपुर्जा आयात भएको थियो ।

यातायात व्यवस्था विभागका अनुसार गत वर्ष कार, जीप र भ्यान १३ हजार ५६० थान भित्रिएका छन् । अघिल्लो वर्ष यस्ता सवारी ११ हजार ३७२ थान भित्रिएका थिए । मानिसहरु बाइकबाट इन्ट्रिलेवलका कारमा सिफ्ट हुने क्रम बढेपछि कारको आयात बढ्न थालेको व्यवसायी बताउँछन् ।

नेपालमा भारत, चीन, कोरिया, जापान, थाइल्यान्ड तथा युरोपियन मुलुकहरुबाट गाडी आयात गरिँदै आएको छ । सस्ता प्यासेञ्जर कार, बाइक र कमर्सियल गाडीहरु भारतबाट आयात हुँदै आएका छन भने महंगा कार तथा बाइक तेस्रो मुलुकबाट आयात हुने गरेको छ ।

विश्वका चर्चित ब्रान्डहरु नेपाली बजारमा भित्रिसकेका छन् । पछिल्लो समय नेपालमा महंगा कार तथा बाइकका पारखी बढिरहेका छन् । नेपालीको चाहानालाई मध्यनजर गर्दै पाँच करोडसम्मका कार र ५० लाखसम्मका बाइक नेपाल भित्रिन थालेका छन् ।

vehicle Zonewise

गत वर्ष टेम्पो समेत धेरै दर्ता भए । अघिल्लो वर्ष १७ टेम्पो दर्ता भएकोमा गत वर्ष १५ सय ४१ वटा दर्ता भएको यातायात विभागले जनाएको छ । बस र मिनी बसको संख्या पनि अघिल्लो वर्षको तुलनामा धेरै रहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार सबैभन्दा बढी सवारी बागमती अञ्चलमा दर्ता भएका छन् । गत वर्ष बागमतीमा ७२ हजार ६ सय ३३ सवारी दर्ता भए । अघिल्लो वर्ष बागमतीमा ६७ हजार ४ सय ४९ सवारी दर्ता भएका थिए ।

दोस्रोमा नारायणी अञ्चल रहेको छ । नारायणीमा ६५ हजार १ सय ६१ सवारी दर्ता भए । कोशी अञ्चलमा ३३ हजार ९ सय सवारी दर्ता भएका छन भने लुम्बिनीमा २८ हजार ५ सय ४६ सवारी दर्ता भएको विभागले जनाएको छ ।

कर्णाली अञ्चलमा भने गत वर्ष एउटा पनि गाडी दर्ता भएनन् । मुलुककै बिकट अञ्चल मानिने कर्णालीमा गत वर्ष पनि एउटा सवारी दर्ता नभएको विभागको तथ्यांकले देखाउँछ । अहिलेसम्म कर्णाली अञ्चलमा एउटा पनि सवारी दर्ता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment