२७ भदौ, काठमाडौं । सरकारले शुक्रबारदेखि यात्रुबाहक सवारी साधनको भाडा २ दशमलव २ प्रतिशतले घटायो । सवारीको न्युनतम् भाडा १३ रुपैयाँ कायम पनि भयो ।
तर, काठमाडौंमा गुड्ने सार्वजनिक बस, माईक्रोबस र अन्य सवारीले यात्रुसँग पुरानै दरमा भाडा असुलिरहेको यात्रुको गुनासो छ ।
खुद्राको सजिलो बाहना
धेरै सवारीले अझै पनि न्युनतम् भाडा १५ रुपैयाँ नै लिइरहेका छन् । बसका सहचालक र कन्डक्टरसँग १५ रुपैयाँ नै लिनुको सजिलो जवाफ छ, ‘खुद्रा पैसा छैन’ । धेरैजसो यात्रुले झन्झटिलो हुने भएकाले १३ रुपैयाँको सट्टा १५ वा २० रुपैयाँ दिए भने कन्डक्टरहरुले फुटकर नभएको भन्दै १५ रुपैयाँ नै काट्छन् । फुटकर नभएको बहाना व्यवसायीलाई फाइदा लुट्ने मेलो बनेको छ ।
‘१६ रुपैयाँ भाडा लाग्ने ठाउँमा जाँदा १५ रुपैयाँ दिईयो भने एक रुपैयाँ छोड्न मान्दैनन् । तर, एक-दुई रुपैयाँ फिर्ता दिन भने फुटकर छैन भनेर टार्छन्,’ नयाँबानेश्वरको लागि माईक्रो चढेकी एक महिला यात्रुले भनिन् ।
यात्रुलाई भएन राहत
सरकारले यसअघि पनि सार्वजनिक सवारीको न्युनतम् भाडा १५ रुपैयाँबाट घटाएर १४ बनाएको थियो । तर, व्यवसायीहरुले १५ रुपैयाँ नै लिने गरेका थिए । त्यतिबेला यात्रु न्युनतम् भाडामै १ रुपैयाँ ठगिन्थे ।
अहिले १३ रुपैयाँमा झरेको छ । अझैपनि १५ रुपैयाँ नै असुल्दा यात्रुले भाडा घटेर कुनै राहत पाएका छैनन् । ‘हिजो १४ रुपैयाँ भएपनि १५ तिर्थ्यौं, अहिले १३ रुपैयाँको पनि १५ नै तिर्दै छौं । हिजो एक रुपैयाँ ठगिन्थौं । आज २ रुपैयाँ ठगिएका छौं । भाडा नघट्दा ३ रुपैयाँ ठगिन्थ्यौं, भाडा घटेपछि झन् ५ रुपैयाँ ठगिएका छौं,’ रत्नपार्कमा भेटिएका एक यात्रुले आक्रोश पोखे ।
अनुगमन जारी
सरकार भने धेरै भाडा लिनेलाई कारवाही भईरहेको बताउँछ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले शनिबार पनि काठमाडौंको रिंगरोड क्षेत्रमा अनुगमन गरिएको बताए ।
अनुगमनका क्रममा तीनवटा बसले भाडा कार्यान्वयन नगरेको भटिएकाले कारवाही गरिएको श्रेष्ठको दावी छ । त्यसमा एउटा नेपाल यातायातको र दुईवटा माईक्रो बस थिए ।
भाडा कार्यान्वयमा समस्या रहेको थाहा पाएपछि विभागले अनुगमनलाई निरन्तरता दिने भएको छ । आईतबार पनि यातायात विभाग, ट्राफिक प्रहरी, उपभोक्तावादी संघसंस्था र यातायात व्यवसायीको संयुक्त अनुगमन टोली काठमाडौंमा खटिएको श्रेष्ठले बताए ।
खुद्रा रकम कसले बोक्ने ?
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ भने खुद्राकै कारण भाडा कार्यान्वयनमा समस्या नआउने बताउँछ । महासंघका उपाध्यक्ष डोलनाथ खनालले बसका धनि, चालक र सहचालकले नै खुद्रा रकम बोक्नुपर्ने बताए । ‘यात्रुसँग नै भए त समस्या हुँदैन । तर, अब न्युनतम् १३ रुपैयाँमा नै कडाई गरिने भएकाले व्यवसायीले नै खुद्रा रकम बोक्नुपर्छ ।’
महासंघले त्यसका लागि व्यवसायीलाई आग्रह गरिसकेको बताएको छ । उनले घटेअनुसारको घाडा लिन सबै व्यवसायीलाई परिपत्र गरिसकेको जानकारी दिए । उपाध्यक्ष खनालले बढी भाडा लिनेलाई अनुगमन गरेर कारवाही गर्नुपर्ने बताए ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4