+
+

सुनका गहना किन्दै हुनुन्छ ? होस गर्नुस्

२८ भदौ, काठमाडौं । तीजको संघारमा सुन पसलहरुमा निकै भिडभाड छ । यस्तो बेला सुन खरिद गर्दा ठगिन सक्ने सम्भावना पनि अत्यधिक हुन्छ । सुनको शुद्धता जाँच्ने कुनै वैज्ञानिक प्रविधि उपभोक्ताको पहुँचमा छैन । यस्तो अवस्थामा उपभोक्ताले सचेत हुनैपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १८:००

Gold Silver market Newroad Kathmandu (2)

रविन्द्र घिमिरे
२८ भदौ, काठमाडौं । तीजको संघारमा सुन पसलहरुमा निकै भिडभाड छ । यस्तो बेला सुन खरिद गर्दा ठगिन सक्ने सम्भावना पनि अत्यधिक हुन्छ ।

केही दिनअघि वाणिज्य विभागले गरेको अनुगमनमा केही सुन पसलले २४ क्यारेटका भनेर बेचेको सुनमा १२ प्रतिशतसम्म मिसावट भेटियो । अनुगमनपछि विभागले सुनका गहनामा धातुजन्य अन्य पदार्थ मिसावट हुने गरेको निश्कर्ष निकालेको छ । बजारमा मिसावटयुक्त अशुद्ध सुनको कारोबार मौलाइरहँदा उपभोक्ताले सचेत हुनुपर्ने भएको छ ।

धेरै उपभोक्ता सुुनको असलीपनलाई चमकका आधारमा छुट्ट्याउन सकिने विश्वास गर्छन् । धेरै चम्किलो देखिएमा त्यसलाई शुद्ध मान्छन् । तर, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यको भनाइ फरक छ ।

शाक्यका अनुसार बजारमा अहिले पित्तलकै गहना पनि सुन जत्तिकै चमकदार भेटिन्छन् । त्यसैले हेरेर, छामेर वा अरु कुनै घरेलु विधि लगाएर सुनको असलीपन थाहा पाउन सकिँदैन ।

‘हामी वर्षौंदेखि सुनसँग खेलेका मान्छे त कसी नलगाई सुनको शुद्धपन थाहा पाउँदैनौं भने साधारण उपभोक्ताले कसरी शुद्ध र अशुद्ध भनेर चिनुन् ?’ उनले भने, ‘शुद्ध सुन चिन्ने सामान्य आधार र तरिकाहरु छैनन् । त्यसलाई वैज्ञानिक आधार नै चाहिन्छ ।’

ठगीबाट जोगीने कसरी त ?

सुनको शुद्धता जाँच्ने कुनै वैज्ञानिक प्रविधि उपभोक्ताको पहुँचमा छैन । यस्तो अवस्थामा उपभोक्ताले सचेत हुनैपर्छ । उपभोक्ताले सुन किन्ने मानसिकता बनाउँदा सर्वप्रथम त विश्वसनीय पसलमा नै जानुपर्छ । सकभर ती पसल रोज्नुहोस् जून पुराना र स्थापित छन् ।

maniratna-sakya-(1)
मणिरत्न शाक्य

महासंघ अध्यक्ष शाक्य भन्छन्, ‘सुन किन्ने भनेपछि आफैं संवेदनशिल हुनुपर्छ । अनि सकभर आफ्नो विश्वासमा रहेका व्यवसायीकोमा नै जानुपर्छ ।’

विश्वसनीय सुन पसलको छनौटले उपभोक्तालाई शुद्ध सुन पाउने पहिलो आधार खडा गर्छ । ‘सुन किनिसकेपछि बिल लिन भूल्नै हुँदैन,’ शाक्यले भने, ‘बिलमै सुन कति क्यारेटको भनेर उल्लेख गर्न लगाउनुपर्छ । यदि २४ क्यारेटको सुन किन्दै हुनुहुन्छ भने बिलमा २४ क्यारेटको सुन भनेर स्पष्ट उल्लेख हुनुपर्छ । त्यसले सुनको शुद्धतामा तपाईलाई शंका गर्ने वातावरण बन्न्दैन ।’

पुनः त्यही सुन बेच्न आएमा बिलमै उल्लेख भएको क्यारेट अनुसारको मूल्य पाउनुपर्ने गरी विक्रेतासमक्ष दावी पनि पेश गर्नुपर्छ उपभोक्ताले ।

‘यदी बिलमा क्यारेट उल्लेख नभए सुनमा केही न केही खराबी छ भन्ने सम्भिmँदा हुन्छ । क्यारेट उल्लेख गर्न पसलेले मानेन भने त्यहाँ सुन नकिन्नु नै राम्रो । किनभने बिलमा सुनको क्यारेट उल्लेख गर्नु अन्तर्राष्ट्रिय प्रचलन नै हो,’ शाक्यले भने ।

सुनमा पनि उपहार र छुटका अफर गरिएको छ भने उपभोक्ताले शंकालु आँखाले हेनुपर्ने हुन्छ । किनभने सुनमा अफर दिने स्थिति सजिलै बन्दैन ।

टन्च मेसिन अभाव

बजारमा सुन पसलहरुले सुनलाई २२ र २४ क्यारेटका भनेर बेच्ने गरेका छन् । २४ क्यारेट सुनमा शुद्धताको प्रतिशत ९९ दशमलव ९९ प्रतिशत हुनुपर्छ । २४ क्यारेटको सुनको शुद्धता सुन जाँच्ने टन्च मेसिनमा राखेपछि मात्र थाहा पाउन सकिन्छ ।

तर, नेपालमा टन्च मेसिन ब्यवसायीका पहुँचमा मात्रै छ । नेपालमा १५ वटा जतिमात्रै टन्च मेसिन छन् । सरकारी तवरबाट बालाजुमा एउटा टन्च मेसिन राखिएको छ । सर्वसाधारण उपभोक्ताले सुन किन्दा त्यसलाई जाँच्न सक्ने कुनै प्रविधि नेपालका सुन पसलहरुमा प्रयोग भएको छैन ।

नेपालमा भित्रिने सुनको ढिकालाई व्यवसायीले गहना बनाउने समयमा पगाल्ने गर्छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार सुन पगाल्ने भाडो एकपटक मात्रै प्रयोग गर्न पाईन्छ । तर, नेपालमा एउटा भाडो २० औं पटक प्रयोग हुँदा त्यसले सुनमा अशुद्धता ल्याउँछ । शुुद्ध सुन लिन्छु भन्नेले ढिक्का सुनै किन्दा हुन्छ ।

सुनमा मिसावट कसरी हुन्छ ?

नेपालका ज्यासलहरु अझै पनि पुरानै प्रविधिमा निर्भर हुँदा सुनमा मिसावटको सम्भावना अधिक भएको व्यवसायी बताउँछन् । सुन पगाल्दा अपनाइने पुरानो प्रविधिले सामान्य मिसावट त हुन्छ नै । बैंकहरुले व्यवसायीलाई बेच्ने सुन पनि अशुद्ध भेटिने गरेको महासंघका अध्यक्ष शाक्यले आरोप लगाए ।

तर, केही व्यवसायी कमाउने लोभमा व्यवसायिक रुपमै मिसावटमा लागेको हुनसक्ने शाक्यको अनुमान छ ।

‘कालीगढले पनि बदमासी गर्न सक्छन् । व्यवसायीले सुनबाट गहना बनाउने जिम्मा कालीगढलाई नै दिने हो, उनीहरुले बदमासी गरे भने पनि मिसावटको समस्या आउन सक्छ,’ शाक्यले भने, ‘सुनको शुद्धतामा केहीले बदमासी गरे होलान् तर, सरकारले सबै व्यवसायीलाई उस्तै नजरले हेर्दा समस्या भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?