+
+

समुदायमा बालयौन हिंसा : कतै प्रलोभन, कतै धम्की

राज्यले बालिकामाथि हुने हिंसालाई जघन्य अपराधको रूपमा उल्लेख गरे पनि यस्ता घटना कम हुनसकेका छैनन् । प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक ६ जना बालिका यौन हिंसाको शिकार बनेका छन् ।

मीना गुरुङ मीना गुरुङ
२०८१ जेठ ७ गते ८:३५

घटना तीन वर्षअघिको हो । ज्याला-मजदुरी गर्दै आएका वीरबहादुर (नाम परिवर्तन) एक दिन काम सकेर घर फर्किंदै थिए । किराना पसलमा छोरीसँग जम्काभेट भयो ।

छोरीको हातभरी मिठाई र चाउचाउका पोका थिए । पैसा कहाँबाट पाएर खानेकुरा किनेको भनेर केरकार गरेपछि पैसाको प्रलोभनमा उनी गाउँमै यौनशोषणमा परेको घटना थाहा भयो ।

गाउँकै नन्दमान भन्ने ४३ वर्षीय पुरुषले उनका ९ र ११ वर्षीया दुई छोरी र सोही गाउँकी अर्की ११ वर्षीया बलिकालाई पटक-पटक पैसाको प्रलोभनमा पारी यौन हिंसा गर्दै आएका रहेछन् ।

घटनाबारे परिवारले जानकारी पाएपछि २०७७ असोज ७ गते जिल्ला अदालत लमजुङमा छुट्टाछुट्टै तीनवटा मुद्दा दर्ता गरे । २०७८ भदौ २८ गते जिल्ला अदालत लमजुङले नन्दमानलाई जबरजस्ती करणी उद्योग ठहर गरी सजाय सुनायो । नन्दमान अहिले कारागारमै छन् ।

यो एउटा प्रतिनिधि घटना मात्र हो । पछिल्ला दिनहरूमा लमजुङमा बालिका माथि हुने यस प्रकारका घटनाको उजुरी प्रहरीसम्म पुग्न थालेको छ । गएको ३ वर्षमा ५० वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार विगतमा यस्ता घटना भए पनि घरपरिवारमै मिलाउने गरेकोमा पछिल्लो समय प्रहरीकोमा आउने गरेका छन् । उनका अनुसार वर्षेनि २० वटाभन्दा बढी यौन हिंसाका घटना प्रहरीकोमा आएका छन् । जसमा १५ वटाभन्दा बढी बालबालिका यौन हिंसाका घटना छन् ।

पहिले समाजले के भन्ला ? इज्जत जाने हो कि भन्ने डरमा घटना लुकाउने गरेकोमा आजभोलि कानुनी सचेतना वृद्धि भएसँगै यस्ता घटनालाई कानुनी दायरामा ल्याउन पीडितहरू प्रहरीकोमा जान थालेका छन् ।

घले भन्छन्, ‘यस्ता घटनाहरू समाजमा मिलाउँदा पीडकले झनै प्रोत्साहन पाउँछ । कानुनी दायरामा ल्याउन सकेमा बालिकाहरू सुरक्षित बन्न सक्छन् । यसका लागि अझै सचेतनाका कार्यक्रमहरू चलाउन जरूरी छ ।’

लमजुङमा पछिल्लो तीन वर्षको यौन हिंसाको तथ्याङ्कलाई हेर्ने हो भने बालिका माथि हुने यौन हिंसाका घटना बढी छन् । यौन हिंसाका घटना अधिकांश परिवारभित्रका सदस्य, चिनेजानेका, छिमेकी र नातेदारहरूबाट भएको पाइएको छ । कसैलाई प्रलोभनमा पारेर, कसैलाई फकाएर त कसैलाई धम्की दिएर यौन हिंसा गरेको देखिन्छ ।

बालबालिकामाथि हुने यौनजन्य अपराध नियन्त्रणका लागि मुख्यगरी अभिभावकहरू नै सचेत र संवेदनशील हुनुपर्ने देखिन्छ । अपराधमा संलग्न जो-कोहीलाई कानुनी कारबाही स्पष्ट भए पनि घटना हुनुपूर्व नै आफ्ना बालबालिकाको सुरक्षाको जिम्मा अभिभावकहरूले लिने हो भने घटनामा कमी आउन सक्छ

लमजुङ मध्यनेपाल नगरपालिकाकी १५ वर्षीया सीमा (नाम परिवर्तन) बिदाको समय सधैंजसो घाँस–दाउरा गर्न जंगल जाने गर्थिन् । एकदिन जंगल गएकै वेला नाताले भिनाजु पर्ने व्यक्तिबाट यौन हिंसाको शिकार बन्न पुगिन् । घर-परिवार र समाजको डरले घटना गुपचुप जस्तै भयो । तर सीमा गर्भवती भएपछि घटना बाहिरियो ।

सीमाकी आमाले २०७९ जेठ ४ गते देउबहादुर विरुद्ध मुद्दा दर्ता गरिन् । जिल्ला अदालतले २०७९ चैत २० गते देउबहादुरलाई १२ वर्ष कैद, चारलाख रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गर्‍यो ।

जिल्ला प्रहरी कार्यालयकोे तथ्याङ्क अनुसार जिल्लामा यौनजन्य अपराधबाट पीडित हुनेमा सबैभन्दा बढी १८ वर्ष मुनिका बालिकाहरू रहेका छन् । आर्थिक वर्ष २०७७/७८ मा २० वटा यौनजन्य अपराधका घटना दर्ता भएकोमा १५ वटा घटनामा पीडित बालिका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २५ वटा घटना दर्ता भएकोमा २२ जना बालिका रहेका छन् भने आर्थिक वर्ष २०७९/८० मा १८ वटा घटना दर्ता भएकोमा १३ वटा घटनाका पीडित बालिका छन् । यो आर्थिक वर्षको चैत मसान्तसम्म मात्रै पनि १९ वटा यौन हिंसाका मुद्दा दर्ता भएकोमा १३ वटा मुद्दाका पीडितहरू १८ वर्ष मुनिका बालिका छन् ।

१८ वर्षभन्दा मुनिका बालिकासँग मन्जुरी लिएर वा नलिएर यौन सम्पर्क गरेमा पनि बलात्कार गरेको मानिन्छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ ले १० वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा जन्मकैद, १० वर्षदेखि १४ वर्ष भित्रका बालिकालाई करणी गरेमा १८ देखि २० वर्षसम्म कैद, १६ वर्षदेखि १८ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ ।

बालबालिका नियमावली २०७५ को परिच्छेद-८ को दफा ६८ मा यौन हिंसा लगायत विभिन्न हिंसाबाट पीडित बालबालिकाको लागि तत्काल उद्धार तथा संरक्षण गर्न आवश्यक देखिएमा सुरक्षित बसोबासको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आपसी समन्वयमा अस्थायी संरक्षण सेवाको व्यवस्था गर्ने विषय र त्यस्तै गरी सोही नियमावलीको परिच्छेद-८ को दफा ६९ मा कुनै संस्था वा प्रदेश सरकार/स्थानीय तहले पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्ने व्यवस्था भए पनि व्यवहारमा लागू भएको पाइँदैन ।

राज्यले बालिकामाथि हुने हिंसालाई जघन्य अपराधको रूपमा उल्लेख गरे पनि यस्ता घटना कम हुनसकेका छैनन् । प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक ६ जना बालिका यौन हिंसाको शिकार बनेका छन् । आर्थिक वर्ष २०७९/८० मा ३ हजार ४०३ जना महिला यौन हिंसामा पर्दा ६३.८ प्रतिशत बालिका छन् । लागूपदार्थ वा मदिरा सेवन, फेसबुक, इमो, इन्स्टाग्राम, भाइबर जस्ता सामाजिक सञ्जाल वा इन्टरनेट जस्ता प्रविधिको दुरुपयोगका कारण पनि यौनजन्य अपराध हुने गरेको अनुसन्धानले देखाएको छ ।

कानुनी व्यवस्था अनुसार पीडकलाई सजाय वा जरिवाना सुनिश्चित भए पनि पीडितको उपयुक्त व्यवस्थापन भने स्पष्ट छैन । घटनाको प्रकृति हेरी राहतको व्यवस्था गरिए पनि पीडितको मानसिक र भावनात्मक उपचारका विषयमा भने कानुनी स्पष्टता नभएको जिल्ला अदालत लमजुङका स्रेस्तेदार भेषराज पौडेलको भनाइ छ ।

यौन हिंसामा परेपछि बालिका र परिवारलाई नकारात्मक असर परेको अनुभव सुनाउँछन् अभिभावकहरू ।

साथीभाइ, आफन्त र छिमेकीले गर्ने व्यवहारले यौन हिंसामा परेका बालिकाहरूमा विद्यालय जान नखोज्ने, सामाजिक कार्यमा घुलमिल नहुने, कम बोल्ने, डरमा बस्ने र पछि गाउँबाट परिवार नै विस्थापित हुने पनि गरेका छन् ।

मनोविमर्शकर्ता सुदीप घिमिरेका अनुसार यौन हिंसामा परेका बालिकाहरूमा स्तब्ध हुने, भावना व्यक्त गर्न नसक्ने, आफूमाथि नियन्त्रण गुमेको अनुभव गर्ने, डर, असुरक्षित र एक्लिएको महसुस गर्ने, आफैंलाई हानि पुर्‍याउने व्यवहार गर्ने जस्ता लक्षण देखापर्ने गरेका छन् ।

यस्तो अवस्थामा परिवारले उनीहरूको व्यवहारमा अवलोकन गर्ने, सकारात्मक व्यवहार गर्ने, उनीहरूको कुरा ध्यान दिएर सुन्ने, एक्लै नछोड्ने, उनीहरूको दैनिक क्रियाकलापमा निरन्तर ध्यान दिनुपर्ने र आवश्यक परेमा मनोविमर्शकर्ता वा स्वास्थ्यकर्मीसँग पनि परामर्श लिनुपर्ने घिमिरे बताउँछन् ।

बालबालिकामाथि हुने यौनजन्य अपराध नियन्त्रणका लागि मुख्यगरी अभिभावकहरू नै सचेत र संवेदनशील हुनुपर्ने देखिन्छ । अपराधमा संलग्न जो-कोहीलाई कानुनी कारबाही स्पष्ट भए पनि घटना हुनुपूर्व नै आफ्ना बालबालिकाको सुरक्षाको जिम्मा अभिभावकहरूले लिने हो भने घटनामा कमी आउन सक्छ । राज्यले पनि बालबालिकालाई सुरक्षित वातावरणमा हुर्कन दिन समुदायसम्म कानुनी सचेतनाका कार्यक्रमलाई व्यापक र प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

(रेडियो मर्स्याङ्दी लमजुङको निर्देशक रहेकी लेखक नेपाल खुला विश्वविद्यालय एमएमसीएस दोस्रो सेमेस्टरकी विद्यार्थी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?