
एक्कासी खबर आयो, उनी रहिनन्। न मनले मान्यो; न, मस्तिष्कले ठान्यो। तर, यथार्थ त्यही थियो। सत्य त्यही थियो। उनी नरहेको खबरले मनमा पीडा र विरहको आगो बले पनि, मस्तिष्कमा भने एकैपटक उनीमाथि गरिएको मानसिक हिंसा, उनको गोपनीयताको हकमाथि गरिएको अपमानजनक व्यवहार सबै एकैपटक हुर्हुरिएर आयो। त्यसले आक्रोशको बाढी नै ल्यायो।
उनीमाथि गरिएको मानसिक हिंसा र शाब्दिक अपमानका शृंखलाको कारण, उनी नियुक्त हुनलागेको पद थियो। शायद, त्यो पदमा अरूलाई नै नियुक्ति लिनु थियो।
त्यसपछि शुरू भयो, उनको व्यक्तिगत जीवनमाथि प्रहार; चारित्रिक लाञ्छना। पढ्न नसकिने अक्षरहरूका खेती। यो, कुनै एक महिलामाथि मात्रै गरिने मानसिक र यौन हिंसाका दुर्व्यवहार होइनन्। यो त, अधिकांश महिलाहरूमाथि गरिने उस्तै उस्तै व्यवहार हुन्। उनी त एक प्रतिनिधि पात्र मात्रै थिइन्।
उनी नरहेको दिनमा मनलाई यति धेरै चोट परेछ कि, ती दु:खद् यादहरू रोक्नै नसकिने गरी मानसपटलमा आएको आयै भैरह्यो।
चरित्रहत्या सदियौंदेखि प्रयोग गरिएको यस्तो औजार हो, जसले समाजमा रहेको कसैको इज्जत र स्थानलाई तहसनहस पारिदिन्छ। यो सामाजिक, राजनैतिक, सांस्कृतिक क्षेत्रमा लागेका व्यक्तिहरूलाई नियन्त्रणमा राख्दै उनीहरूको व्यक्तिगत स्वतन्त्रतामाथि दाग लगाउन प्रयोग गरिन्छ। त्यसको निमित्त गलत हल्ला चलाएर हुन्छ कि, नभएको आरोप लगाएर हुन्छ कि, कुनै भ्रमपूर्ण स्थिति सृजना गरिदिएर वा उनीहरूको व्यक्तिगत जीवनको गोपनीयताको हकलाई सडकमा ल्याएर हुन्छ मानसिक रूपले ध्वस्त बनाउने कोशिश गरिन्छ। त्यो प्रचलन नेपाली समाजमा विशेषगरी महिलाहरूको व्यक्तित्वलाई अंकुश लगाउन धेरै प्रयोग गरिन्छ। त्यो पनि, त्यस्ता महिलाहरूलाई, जो जीवनलाई आफ्नै शर्त, सामर्थ्य र होश–हवासमा जिउन चाहन्छन्, उनीहरूमाथि चरित्रहत्याको हतियार अझै बढी प्रयोग गरिन्छ।
सन् १९५० मा अमेरिकी समाजशास्त्री तथा लेबर अर्गनाइजर जेरोमी डेविसले ‘क्यारेक्टर एस्स्यासिनेसन (चरित्रहत्या)‘ नामक पुस्तक लेखेका थिए, जसमा उनले लेखेका छन्–‘डर, अज्ञानता, ईर्ष्या, शंका, द्वेष, आहारिसेपन, निराशा, लाभ, आक्रामक स्वभाव, आर्थिक प्रतिद्वन्दिता, भावनात्मक असुरक्षा र आफू कमजोर महसुस गरेको मनस्थितिले गर्दा चरित्रहत्या गरिन्छन्।‘ यसो मनन गर्दा हो नै भन्ने लाग्छ।
‘हामी ती नारी जाति हौं, जसले हजारौं वर्षदेखि मानवीय सन्तुलन कायम गर्दै आएका छौं। मानव जातिमा हाम्रो संख्या धेरै छ तापनि हामीले छायाँको रूपमा बाँच्नु परेको छ।‘ यी पंक्तिहरू महिलावादी लेखिका तथा पत्रकार रविन मोर्गान र उनका साथीहरू मिलेर सन् १९९४ मा ‘विमेन्स इन्भारमेन्ट एन्ड डेभलपमेन्ट अर्गनाइजेसन‘को ग्लोबल स्ट्राटेजी मिटिङको घोषणामा लेखेका हुन्। यदि, छायाको रूपमा बाँच्न तयार नहुने हो भने, अधिकांश समयमा चरित्रहत्याको लागि तयार हुनैपर्छ। त्यो कुरा कसैले नभने पनि हाम्रा अनुभव र हाम्रा अगाडि देखिने दृश्यहरूले प्रमाणित गर्दछ।
समाजका एक पक्ष त्यस्ता छन्, जसले महिलाहरूलाई मानव भएर बाँच्न दिनै चाहँदैनन्। जसको मृत्युको समाचारले यी हरफहरू कोर्न बाध्य बनाइरहेछन्, उनी एक सक्षम महिला थिइन्; उच्च शिक्षित, तर्कयुक्त तथ्य र प्रमाणका साथ बहस गर्न सक्ने सामर्थ्य भएकी, आफ्नो क्षेत्रमा दह्रो उपस्थिति जनाएर बाँच्न सफल…. आदि केहीमा पनि उनी कम थिइनन्। तर, यो समाजका केही व्यक्तिहरूलाई उनको नामको डर रहिरह्यो र त्यही डरलाई पत्रकारिता गरेको नाउँमा ‘चरित्रहत्या र अपमानकारिता‘को माध्यमबाट उपयोग गरे। उनले गरेका सफल कार्यहरूको प्रशंसा नै नगरे पनि, श्रेय समेत दिन कन्जुसी गरिरह्यो ।
त्यसको सट्टा, उनको उपलब्धिलाई मान्यता दिनुपर्ला भनेर उनको चरित्रलाई नकारात्मक हतियारको रूपमा प्रयोग गरिरह्यो। त्यही ठाउँमा कुनै पुरुष भएको भए, गरेका काम र कुराभन्दा बढी शाब्दिक सगरमाथा ठड्याइन्थ्यो। प्रशंसाको पुलले हिमाल, पहाड, तराई–मधेश सबै जोडिन्थ्यो।
उनी र उनी जस्ता हरेक महिला, जसको गर्भमा प्रत्येक पुरुष नौ महिनासम्म रहन्छ, जसबाट प्रथम पटक स्तन-पान गरेर जीवन धान्ने आहारा लिन जान्दछ, जसले औंला समातेर हिंड्न सिकाउँछिन्, केवल आँखाले गुहारेको भरमा ती बाल-हृदयका हर्ष र विस्मात्का बयानहरू लिपिबद्ध गरिदिन सक्छन्, उनकै ‘अस्तित्व‘ पटक–पटक नकारिन्छ। उनलाई अपमान र चारित्रिक हत्याको दलदलमा टाउकोसम्म नै गाडिन्छ।
उनी र उनीहरूको सफलतामा, कानूनले उनलाई प्रदान गरेको नाम, जन्मिएको ठाउँ अनि पेशागत परिचय केहीको काम छैन; त्यसैले उनीहरूको अस्तित्व ‘समाजमा चरित्रहत्या गर्ने लाइसेन्स पाएका‘ हरूको हातमा खेलौना भएर नाचिरहेको हुन्छ।
हुन पनि, हामी त्यस्तो समाजमा जन्मियौं, जहाँ आँखा खुलेदेखि नै सुनाइयो, पढाइयो, ‘स्त्रीलाई कुमारीमा पिता, युवा अवस्थामा पति र वृद्धावस्थामा पुत्रले रक्षा गर्दछन्… स्त्रीले स्वतन्त्र रहनुहुँदैन।‘ चाहे ती पिताहरूले, उनी गर्भावस्थामै भएको समयमा दोबाटोको ढुंगो जस्तो ठोकर मार्दै हिंडुन्, चाहे ती युवतीलाई पति बनेकै हकमा लात्ती र मुड्की कस्दै रहुन् या बूढीआमाले खाएका अन्नका हरेक गेडाका परिश्रम असुल्ने गरेरै छोराहरू (छोरा यस अर्थमा भनिएको हो कि, यहाँ आमाबाबु छोराकै साथमा बस्ने चलन छ) ले उमेर र रोगले जीर्ण बनाइसकेको शरीरलाई लदाउँदै गरुन् ! तर महिलाको अस्तित्व ‘पुरुष‘ विना हुनै सक्तैन, रहनै सक्तैन !
त्यसैले होला, कसैसँग परिचय गर्न थाल्यो, अधेड उमेरकी महिला देख्ने बित्तिकै घुमिफिरी प्रश्न तेर्सिन्छ, अनि….. यहाँको श्रीमान् को त ?…. के गर्नुहुन्छ ?….. कता हुनुहुन्छ ? आदित्यादि ! कुरो उही, घुमिफिरी रुम्जाटार !! अनि, ती महिलाले आफ्नो परिचय पुरुषबेगर दिइन् भने सुरु हुन्छ, चारित्रिक तराजुको जोखाइ।
तर पनि, उनी र उनी जस्तै जुझारू महिलाहरू हार्दैनन्/डगमगाउँदैनन्। अनवरत हिंडिरहन्छन्/जीवन संघर्षको वहावमा हेलिइरहन्छन्। ‘अस्तित्व‘को लडाईं कुनै व्यक्तिविशेष पुरुषसँग होइन; यो त ‘पुरुष-प्रवृत्ति, जो हैकम मात्र चलाउन जान्दछ‘ उसैसँग हो।
यो घरभित्रको शक्ति प्रयोजन बारेको हो; जीवनमाथि निर्णय जनाउन सक्ने अधिकारको अभिप्राय हो। आर्थिक स्रोतमा हालीमुहाली गर्न पाउने विषयसँग सम्बन्धित कुरो पनि हो।
समग्रमा भन्नुपर्दा, एउटी महिलाले व्यक्तिको रूपमा जीवन्त भएर बाँच्न पाउने अधिकारको हो। त्यसको लागि पुरुषले आफ्नो अस्तित्व जन्मिएदेखि नै जनाउन पाउने तर महिलाले आफ्नो अस्तित्व जनाउन ‘पुरुषरूपी बैसाखी‘ कै प्रमाण जुटाइरहनुपर्ने ? नभए, चारित्रिक प्रमाणपत्र पेश गरिरहनुपर्ने ?
चाहे क्यारोल हेन्स्चले सन् १९६९ मा लेखेको निबन्धले उठाएको ‘पर्सनल इज पोलिटिकल‘ (निजी कुरा नै राजनैतिक कुरा हो) बहस होस् या सन् १९९४ को रविन मोर्गान तथा साथीहरूले लेखेको ‘महिलाको विश्वास‘ सम्बन्धी घोषणा-पत्र, जसले महिलाहरूलाई एउटा व्यक्तिको रूपमा सम्मान पाउन, स्वतन्त्र भएर बाँच्न पाउने अधिकारको वकालत गर्दछ। तर, त्यही तथ्यहरूलाई स्वीकार गर्न नचाहनेहरूले त्यहाँ चरित्रहत्याको हतियार उज्याइहाल्छन्।
उनी र उनी जस्ताहरूले त्यो लडाईं नहारिकन लडे; त्यसको बदलामा आफ्नो मानसिक स्वास्थ्यलाई कैयौं पटक ब्रह्मनालमै तेर्स्याए। तर पनि हारेनन्। गुनासोको पेटारो बाँधेर बसेनन्। जीवन आफ्नो शर्तमा बाँचे। त्यही कुरा धेरैलाई पचेन। त्यही निहुँमा, द्रौपदीको जस्तै उनको र उनीहरूको चीरहरण भइरह्यो।
यस्तै कुराहरू मनमा आइरहँदा उनको मृत्युमा मन बिथोलिइरह्यो। उनी र उनी जस्ता, आफ्नो शर्तमा जीवनयापन गर्न चाहने महिलाहरूलाई सभामा, चौतारामा, समाचारपत्रको नाममा ‘महिला अस्मिता बेचेर पैसा कमाउने‘ माध्यममा प्रयोग गरिंदा मनबाट आगो निस्कन्छ; उनको मृत्युमा ती सबै कुराहरू उदासीन मनस्थितिमा फेरि आँखाअगाडि तेर्सियो। किनकि, त्यस्ता व्यवहार, उनी/हामी/तिमी….सबैले कतै न कतै, कुनै न कुनै बेला व्यहोर्यौं, व्यहोरिरहेछौं।
बरु, एउटा लठ्ठीमा झुत्रा–झाम्रा बेरेर उभ्याइदिएको ‘बुख्याँचा‘को मान हुन्छ यो समाजमा, तर महिलाको अस्तित्व चिनाउन पुरुषको सहारामा नउभिएका महिला छन् भने, उनीहरूको चीरहरण हुनैपर्छ भन्ने मानसिकता बोकेका अधिकांश सदस्य भएको समाज हो यो। उनी र उनीहरू नदीको वहावलाई उल्टो बगाउन कदम चाल्नेहरू हुन्; जसलाई सफलता सजिलै हात पर्दैन।
यो समाजले बुझ्ने भएदेखि नै सिकाउने संस्कारी शिक्षा, ‘तिमीहरूको जन्म नै उपल्लो दर्जाको परिवार र शक्तिशाली पति प्राप्त गरेर, उनीहरू रिझाउन भएको हो। त्यसैले सहेर बस ! जान्ने नहोऊ ! होइन भने खैरियत छैन !‘ हो।
यस्तोमा चित्त नबुझेको व्यवहार र कुरामा प्रश्न र प्रतिकार गर्ने महिलाको चरित्रहत्या नभए के हुनु त, होइन त दिग्गज वर्गहरू ? एउटा पत्रकारको रूपमा आफूलाई समाजमा स्थापित गराउन चाहने व्यक्ति (अपवादलाई छाडेर)घर भित्र पस्ने बित्तिकै आफ्नै श्रीमती, छोरी, बहिनी, दिदी सबैलाई शरीर ढाकेर हिंड्नुपर्ने उपदेश दिन्छन; तर आफैं काम गर्ने पत्रिकामा महिलाको अपमान गरेर समाचार र पाठकीय सामग्री तयार पार्न, नाङ्गा तस्बिर छापेर मनोरन्जन लिन किञ्चित हिच्किचाउँदैन। अझ उल्टो, त्यही बिक्री गरेर पैसा पनि बटुल्छ। अरूको गोपनीयताको हकको शोषण गर्दै समाचार या अन्य सामग्री छाप्न या कतै प्रयोग गर्न पनि अलिकति संवेदनशीलता देखाउन चाहँदैन।
देशमा प्रेस काउन्सिल नामको संस्था पनि छ। प्रेस काउन्सिलको आचारसंहिता लेख्नेहरूले एक ठाउँमा ‘पत्रकारहरूले नग्न या घृणा, डर र उत्तेजना फैलाउने खालका सामग्रीहरू प्रकाशन र प्रसारण गर्न नपाइने‘ भनेर पनि उल्लेख गरिसकेपछि नै हो, पत्रकारिताको नाउँमा उनी र उनी जस्ता धेरैको चीरहरण गरिएको। त्यसोहुँदा, पत्रकारहरूको एउटा ठूलो तप्का, नदेखे झैं, नसुने झैं गरेर बसिदिन्छ। यदि कसैले उजुरबाजुर गरिहाल्यो भने पनि त्यसको निराकरण हुन ठूलै समय लाग्छ।
चीरहरण हुनेहरूको जमातलाई भने समाजको भय हुन्छ, परिवारका मूलीहरूको नदेखिने तर स्पष्टै महसुस गरिने, ‘चुप लागेर नबसेर किन परिवारकै बेइज्जती गराउन खोजेको ?’ भन्ने दबाब हुन्छ। यो स्थितिलाई, रविन मोर्गानको भाषामा यसरी बिट मार्न सकिन्छ– ‘हामी ती महिला हौं, जसको बारेमा पुरुषहरूले चेतावनी दिन्छन्।‘ कहिलेकाहीं लाग्छ, यदि महिलाहरू पहिलेदेखि नै शिक्षित हुन पाएका भए, उनीहरूले अस्तित्वको तराजुमा बराबरको हिस्सा पाएका भए, शास्त्र र पुराणमा आधारित रहेर खाका कोरिएको हाम्रा समाजका नियम–कानूनहरू उनीहरूद्वारा पनि लेखिने थियो होला र त्यसमा आफ्नो वर्चस्वको हक पनि छुटाउँदैन थिए होलान् ! त्यसो भएको भए, समाजको काया एकाङ्गी हुने थिएन होला! तर स्थिति ठिक उल्टो भयो, यसलाई रविन तथा साथीहरूले थोरै शब्दमा धेरै भनेका छन्, ‘हजारौं वर्षदेखि महिलाहरूलाई विना शक्ति ठूलो जिम्मेवारी प्रदान गरिएको छ भने पुरुषहरूसँग विना जिम्मेवारी अत्यधिक शक्ति सञ्चित रहेको छ।‘ त्यसै कारणले, शक्ति नभएका मानिसहरूलाई जसो गरे पनि हुन्छ भन्ने सोचले जरो गाडेको छ।
यति लेखेर उनी र उनी जस्ता सबैप्रति सम्मानका साथ श्रद्धाको पुष्प अर्पण गर्दछु। पत्रकारिताको नाममा उनी र उनीहरूको चरित्रहत्या गरेर जीविका चलाउनेहरू हो, तिमीहरू उनी/हामीहरूको चरित्र हत्या गरेर पैसा कमाएर पेट पाल्दै गर, हामी तिमीहरूले हामीमाथि गरेको अपराध र अन्याय विरुद्ध लड्दै गर्छौं ।
(नोट: यो म जन्मिएको समाजमा धेरै महिलाले भोगेको स्थितिको मनोवाद हो, कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ।)
प्रतिक्रिया 4