मात्रिका पौडेल
३० भदौ, काठमाडौं । एक युगमा एक दिन एक पटक आउँछ भन्ने गाेपालप्रसाद रिमालको कविताको अंश २०७२ भदौ ३० गते राति प्रमाणित भयो । इतिहासको यो एक दिनलाई त्यसै खेर जान दिएनन् सभासदले ।
संविधानसभामा संविधानको विधेयक पारित गर्न मत विभाजनपछि सभासदहरु यो ऐतिहासिक क्षणलाई आ-आफ्नो मोबाइलबाट फोटोमा कैद गर्न व्यस्त देखिए ।
मत विभाजनको घण्टी लागेदेखि नै सेल्फी खिच्न र समूह फोटो सेसनमा व्यस्त रहेका सभासद ठूला नेताहरुसँग फोटो खिचाउन तछाड मछाड गरिरहेका देखिन्थे ।
ओली, प्रचण्ड र सिटौला क्रेज
सभासदहरुको फोटो खिचाईको विशेष रोजाईमा परे एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, संविधान मस्यौदा समितिका सभापति समेत रहेका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला ।
प्रचण्ड प्रभाव
त्यस्तै प्रधानमन्त्री सुशील कोइराला तथा पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल, बाबुराम भट्टराई र झलनाथ खनालसँग पनि सभासदहरु फोटो खिचाउन पालो गरिरहेका थिए ।
संविधानसभाको एजेण्डा लिएर जनयुद्धको नेतृत्व गरेका प्रचण्ड संविधान पारित भइरहँदा निकै खुसी देखिन्थे । उनी आफूसँग फोटो खिचाउन झुम्मिएको सभासदहरुको भीडमा हराइरहेका थिए ।
ओलीको विजयी मुस्कान
पछिल्लो समय संविधान जारी गर्ने अभियानमा निकै कठोरतापूर्वक अघि बढेका एमाले अध्यक्ष ओलीको अनुहार युद्ध जितेको कमाण्डरको जस्तो देखिन्थ्यो । प्रधानमन्त्री सुशील कोइरालाले बधाई दिए लगत्तै ओलीलाई बधाई दिनेहरुको ओइरो नै लागेको थियो ।
उनीसँग फोटो खिचाउन अन्य पार्टीका सभासहदरु समेत तछाड मछाड गरिरहेका थिए । इतिहास निर्माणको यो दिनका प्रत्येक क्षणहरु उनीहरु मोबाइलको मेमोरीमा कैद गरिरहेका थिए ।
तीजका आकर्षक सभासद
मत विभाजन चलिरहेको बेला यस्तो लाग्थ्यो-उनीहरुलाई दिइएको समय फोटो सेसनका लागि हो । तीजको दिन रातो पहिरनमा आएका महिला सभासदहरु उसै पनि आकर्षक देखिन्थे ।
त्यसमा पनि उनीहरु फोटो सेसनको पोज दिइरहदा अझ रमाइलो दृष्य देखिन्थ्यो । इतिहासमा एक पटक आएको यो दिनका प्रत्येक पल स्मरणीय भएकाले फोटोमा कन्जुस्याई नगरेको एमाले सभासद सिन्धु जलेशा बुढाथोकीले बताइन् ।
फेसबुक र ट्वीटरमा सिधै
फोटो सेसनमा सधै अगाडि हुने कांग्रेस सभासद रामहरी खतिवडाले भावी पुस्ताका लागि आजको दिनका हरेक क्षणहरु दस्तावेज हुने भएकाले फोटो सेसनलाई अन्यथा अर्थमा लिन नहुने बताए ।
सभासदहरु संविधानसभा हलभित्रबाट फोटो खिच्दै फेसबुक र ट्वीटरमा पोष्ट गर्न पनि व्यस्त थिए । फोटो पोस्ट गर्दै ओखलढुंगा १ का एमाले सभासद यज्ञराज सुनुवारले आफ्ना मतदातालाई ऐतिहासिक क्षणको लागि बधाई समेत दिन भ्याए ।
एमाओवादी सभासद रुपा महर्जन प्रत्येक क्षणहरुलाई आफ्नो स्मार्टफोनमा कैद गर्दै सामाजिक सन्जालमा पोष्ट गर्न अग्रपंक्तिमा देखिइन् ।
झण्डै गडबडि
फोटो खिच्दा खिच्दै एमालेका रामवीर मानन्धरले मतदान गर्न झण्डै छुटेका थिए, तर उनलाई एमालेका अन्य सभासदले सम्झाइदिए । कांग्रेसका आनन्द प्रसाद ढुंगाना र एमालेका आनन्दप्रसाद पोखरेलले एकले अर्काको नाममा हस्ताक्षर गरेपछि फेरि सच्याइएको स्रोतले जनाएको छ ।
अन्तमा उल्लास
संविधानसभाबाट संविधानको बिधेयक पारित भएको घोषणा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गर्नासाथ संविधानसभामा तालीको गड्गडाहटसँगै सभासदहरु शीर्ष नेतासँगै उठेर उल्लास मनाएका थिए ।
त्यसपछि पनि फोटो सेसन शुरु भयो, जुन संविधानसभाबाट बाहिरने बेला राति सवा नौ बजेसम्म पानि जारी थियो । एक युगमा आएक एक दिनलाई आफ्नो मन, मष्तिस्क र मोबाइलमा कैद गर्दै विजयी मुद्रामा निस्किए सभासदहरु ।