Comments Add Comment

तेलको अभावले दसैंको मुखमा हवाइजहाज चढ्न नपाइने चिन्ता !

plane3

नविन अर्याल

१० असोज, काठमाडौं । छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी गरिदिँदा अब राजधानीबासीहरु दसैंमा घर जान नपाइएला कि भन्ने चिन्तामा छन् । तराईमा यातायात नचल्दा दसैं खल्लो हुने धेरैलाई डर छ । तर, योबेलामा तेलको अभाव भयो भने हवाइ यातायातलाई कस्तो असर पर्ला ? यो अर्को चिन्ताको विषय बनेको छ ।

अहिले नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । प्रमुख चाडपर्वको मुखमा तेलको चरम अभाव हुँदा यात्रुदेखि व्यवसायीसम्म मर्कामा पर्ने देखिएको छ । तेलको अभाव टार्नलाई सरकारले गाडीहरु जोर बिजोर चलाउन उर्दी जारी गरिसकेको छ ।

त्यस्तै विदेशी एयरलाइन्सलाई नेपालमा तेल उपलब्ध गराउन नसक्ने भन्दै विदेशबाटै तेल भरेर आउन सरकारले आग्रह गरेको छ । निगमका अनुसार अन्तराष्ट्रिय उडानका लागि ४ दिनमात्र पुग्ने हवार्इ इन्धन स्टक रहेको छ ।

अन्तर्राष्ट्रिय उडान भर्ने विमानले त विदेशबाट तेल भरेर आउलान, आन्तरिक उडान भर्ने विमानले कहाँ तेल भर्ने ? आन्तरिक उडानका लागि पनि हवार्इ इन्धनको स्टक कम  रहेको बताइन्छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का तेलकै अभावमा आन्तरिक उडान नरोकिने दाबी गर्छन् । तर, उनको दाबीमा दम नभएको एयरलाइन्स सञ्चालकहरु बताउँछन् ।

‘आन्तरिक उडानलाई तेलको अभाव हुन दिँदैनौं, अहिले यसको गृहकार्य भइरहेको छ’ खड्काले अनलाइनखबरसँग भने- ‘कुनै न कुनै माध्यमबाट तेल उपलब्ध गराएर उडान यथावत राख्छौं ।’

चार्टर्ड फ्लाइट नगर्नुस्

निगमले शनिबार आन्तरिक विमान सञ्चालकलाई बोलाएर २० दिनलाई मात्र हवाई इन्धन स्टक रहेको जानकारी गराएको छ । २० दिनलाई पुग्ने इन्धन नियमित उडानका लागि मात्र हो । चार्टर्ड फ्लाइट, माउन्टेन फ्लाइट तथा अन्य थप उडान भएमा स्टक इन्धनले २० दिनलाई पुग्दैन ।

निगमले बैठकमा चार्टर्ड फ्लाइट नगर्न विमान सञ्चालकहरुलाई आग्रह गरेको स्रोतले बताएको छ । दशैं र पर्यटकीय सिजन एकसाथ सुरु हुने हुँदा यो समयमा नियमित भन्दा ७० प्रतिशत बढी उडान हुने विगतको अनुभव छ ।

त्यसमाथि लगातारको तराई बन्दका कारण यस पटकको दशैंमा विगतमा भन्दा हवाइ यात्रुको संख्या अत्यधीक धेरै हुने निश्चित छ ।

‘दशैं र पर्यटकीय सिजन भएको हुँदा हामीले उडान थप्नुपर्ने हुन्छ, यो बेलामा चार्टर्ड फ्लाइट पनि हुने गर्छन्’ सिमि्रक एयरका बजार प्रमुख प्रज्वल थापाले अनलाइनखबरसँग भने- ‘यस्तो बेलामा इन्धनको अभाव हुँदा विमान सञ्चालक चिन्तित छौं ।’

त्यसो त वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पर्यटन सुस्ताउँदा विमान सञ्चालक मर्कामा परेका छन् । त्यसमाथि इन्धन अभावले सिजनमै प्रयाप्त विमान उडाउन नपाउँदा थप मर्कामा पर्ने थापाको गुनासो छ ।

भूकम्पपछि प्रयाप्त पर्यटक नआए पनि तराईमा जारी बन्द हड्तालका कारण आन्तरिक उडान भर्ने विमानले यात्रु पाइरहेका थिए । यही बेलामा भारतले सुरक्षाको कारण देखाउँदै इन्धन आपूर्ति ठप्प पारिदिँदा कमाएर खाने बेलामा विमान कम्पनी समस्यामा परेका छन् ।

नेपालमा अक्टोबर महिना पर्यटकका लागि सबैभन्दा उत्तम सिजन हो । ‘भूकम्पका कारण विगतमा जति पर्यटक नभित्रिए पनि केही मात्रामा भित्रिन्छन’ थापाले भने- ‘पर्यटक बोक्न भ्याई नभ्याई हुने बेलामा विमान थन्काएर बस्नुपर्ने भयो ।’

तराई बन्दका कारण बिराटनगर, भद्रपुर, धनगढी नेपालगञ्ज, भैरहवामा उडान चाप बढेको थियो । अक्टोबर महिनादेखि मुख्य पर्यटकीय सिजन सुरु हुने हुँदा हिमाली क्षेत्रमा उडान बढ्थ्यो ।

स्वदेशी विमान कम्पनीको सबैभन्दा राम्रो कमाई माउन्टेन फ्लाइट, लुक्ला, जोमसोम लगायतका दुर्गम गन्तव्यमा हुने गर्छ । यी क्षेत्रमा उडान चाप बढ्नका लागि पर्यटकीय सिजन र मुख्य चाडपर्व नै सुरु हुनुपर्छ । यस पटक इन्धन अभावले यी क्षेत्रमा उडान बढाउन नपाउने भएपनि व्यवसायी चिन्तित बनेका छन् ।

‘दशैं र पर्यटकीय सिजनमा नियमित भन्दा ७० प्रतिशत उडान बढ्छन्, हामीले नाफा कमाउने भनेको पनि यही सिजनमा हो, अरु बेला घाटा सहेर पनि उडान भर्नुपर्ने हुन्छ’ थापाले भने- ‘अहिले त चार्टर्ड फ्लाइटमात्र रोक्न भनेको सुन्नमा आएको छ, यहि अवस्था रहिरहेमा हप्तादिन भित्रमै नियमित उडान पनि घटाउन निर्देशन आइहाल्छ ।’

अहिले त्रिभुवन विमानस्थलबाट दैनिक ७०/८० वटा फ्लाइट हुने गर्छन् । दशैं र पर्यटकीय सिजनमा १५० सयको हाराहारीमा फ्लाइट हुने थापाले बताए । यसको अलवा पोखराबाट जोमसोम, विराटनगरबाट भोजपुर, लामिडाँडा, तुम्लिङटार तथा नेपालगञ्जबाट जुम्ला, बाजुरा, मुगु, सल्ले, डोल्पा लगायतका गन्तव्यमा उडान हुन्छ ।

यी सबै उडान इन्धनको अभावमा प्रभावित हुने विमान सञ्चालकको आकलन रहेको छ । ‘पहिला ४/५ दिन तेल आपूर्ति बन्द हुँदा त उडान घटाउन निर्देशन दिने सरकारले लगतार तेल आपूर्ति बन्द हुँदा नियमित फ्लाइट होला भनेर आंकलनसम्म गर्न सकिँदैन’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment