Comments Add Comment

चितवनमा सबै भारतीय टिभी च्यानलको प्रसारण बन्द

sony new tv (8)

  • फाइल तस्वीर

१० असोज, चितवन । चितवनका केबुल टेलिभिजन सञ्चालकहरुले भारतीय टिभी च्यानलको प्रशारण बन्द गराएका छन् । नेपालमा भारतीय हस्तक्षेपको विरोध गर्दै केवुल टिभी र सीम टिभीले सबै भारतीय टेलिभिजन च्यानलहरू बन्द गरेका हुन् ।

शनिबारदेखि भारतीय समाचारमुलक, मनोरञ्जनात्मक तथा हिन्दी भाषा प्रयोग भएर प्रसारण हुने सबै भारतीय टेलिभिजनहरूको प्रसारण चितवनमा बन्द छन् ।

चितवनका विद्यार्थी संगठनहरुले जिल्लाका सबै केबुल टिभी तथा सीम टिभीबाट भारती टेलिभिजन च्यानलहरू प्रसारण नगर्न शनिबार मध्यान्ह बाह्र बजेसम्मको अल्टिमेटम दिएका थिए । सोही अल्टिमेटमअनुसार भारतीय च्यानलको प्रसारण रोकिएको हो ।

अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठक नेतृत्वको विधार्थीहरूको टोलीले चित्रवन युनिक केवल टिभि र सिम टिभि सञ्चालकहरुलाई ज्ञापन पत्र दिएको थियो । भारतले अनावश्यक रुपमा नेपालको आन्तरीक मामिलामा हस्तक्षेप गरेको र नेपालमा अघोषित रुपमाका नाकावन्दि गरी अत्याबश्यक सामाग्रीहरु ल्याउन प्रतिवन्ध लगाएको बिरोधमा भारतीय टेलिभिजन प्रसारणमा रोक लगाइएको पाठकले बताए ।

आफूहरुको आग्रह अनुसार केबुल सञ्चालकहरुले भारतीय टेलिभिजनहरू बन्द गराइ राष्ट्रियता, स्वाधिनताको पक्षमा र भारतीय हस्तक्षेपको बिरूद्धमा सहयोग गरेको भन्दै उनले धन्यवाद समेत दिए । उनले भने, ‘भारतले हाम्रा लागि अत्यावश्यक सामाग्रीहरु ल्याउन रोक लगाउँछ भने, उसको टिभि च्यानल हेरेर किन नेपाली रकम भारत पठाउने ?’

केवुल सञ्चालकहरुले पनि राष्ट्रिय स्वाधिनताको यो मुद्दामा आफूहरुले पनि सहयोग गरेको बताएका छन् । उनीहरुले केन्द्रीय तहबाट नै भारतीय टेलिभिजन प्रसारणमा रोक लगाउनुपर्ने माग पनि गरेका छन् ।

नवलपरासीमा पाँच दिने अल्टिमेटम

यसैबीच अनेरास्ववियु नवलपरासीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै हिन्दी गीत, कार्यक्रम र चलचित्र प्रसारण बन्द गर्न सबैलाई आग्रह गरेको छ ।

अनेरास्ववियु नवलपरासीका अध्यक्ष मदन गिरीले विज्ञप्ति जारी गरी भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै त्यस विरुद्ध भारतीय गीत, कार्यक्रम र चलचित्र प्रसारण बन्द गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा अबको पाँच दिन भित्र रेडियो, टिभी र चलचित्र हलमा भारतीय गीत, कार्यक्रम, चलचित्र प्रसारण नगर्न आग्रह गरिएको छ । भारतले अन्तराष्ट्रिय कानुन विपरित भूपरिवेष्ठित देश नेपालमा नाकाबन्दी गरेको भन्दै आपत्ति समेत जनाइएको छ ।

परासीका विद्यालय र बजार खुले

यसैबीच लामो समयदेखि बन्द रहेका नवलपरासी सदरमुकाम परासी र दक्षिणी क्षेत्रका विद्यालयहरु आइतबारदेखि सन्चालनमा आएका छन् । बजार पनि आइतबारदेखि नै खुलेका छन् ।

नयाँ संविधान र सीमांकनप्रति असहमति जनाउँदै आन्दोलनरत मधेसी थरुहट संयुक्त मोर्चा नवलपरासीले आइतबारदेखि विद्यालय र बजार सुचारु गर्न दिने निर्णय गरेअनुसार आइतबारदेखि विद्यालय सन्चालन भएका हुन् ।

उद्योग वाणिज्य संघको पटक पटकको आग्रह र प्याव्सन सहित विभिन्न शैक्षिक संस्थाहरुको आग्रहमा विद्यालय र पसल व्यवसाय सन्चालन गर्न मोर्चा सहमत भएको हो ।

विहान ६ बजेदेखि दश बजेसम्म विद्यालय खुलेका छन् भने सांझ ५ बजेदेखि राती आठ बजेसम्म बजार खोल्न दिइएको मोर्चाले जनाएको छ ।

यसअघि पनि मोर्चाले विहान विद्यालय र सांझ व्यवसाय सञ्चालन गर्न सहमति जनाएपनि त्यसलाई कार्यान्वयनमा ल्याएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment