Comments Add Comment

मरिचमानको जति ल्याकत देखिएन सुशील कोइरालाको

Marichman And Sushil Koirala

चिरञ्जीवी पौडेल

११ असोज, काठमाडौं । भारतले यदि लामै समय तेल र ग्यास आउन रोक्यो भने के गर्ने ? दशैं-तिहार जस्ता ठूला चाड नजिकिएका बेला जनतामा छटपटी सुरु भइसकेको छ । तर, दुःखका साथ भन्नुपर्दा यो संकट समाधानका लागि सरकारसित कुनै कार्ययोजना छैन ।

तेस्रो मुलुकबाट इन्धन ल्याउने सम्भावनाबारे कुनै गृहकार्य नगरेको सरकारले तेल वितरणमा कोटा लगाएर तथा सवारी साधनलाई जोर-बिजोर खेलाएर काम देखाउन खोजिरहेको छ । ‘ढिलो-चाँडो भारतले नाकाबन्दी हटाउँछ’ भन्ने आशामा प्रतिक्षारत देखिन्छन् सरकार र राजनीतिक दलहरु ।

काठमाडौंबाट तेलको लाइन इन्डियाको बोर्डरसम्मै पुग्न लागेका बेला वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा सोमबारै भारत भ्रमणमा गएका छन् । तपाईं सोच्नुहोला, मन्त्री थापा नाकाबन्दी खुलाउने जोडदार पहल गर्नका लागि गएका होलान् ।

तर, यो नाकाबन्दीसित उनको भ्रमणको कुनै लेनादेना छैन । उनी पू्र्वनिर्धारित ‘साउथ एसिया इकोनोमिक कनक्लेभ’ सम्मेलनमा भाग लिन गएका हुन् । मन्त्री थापाले यसक्रममा भारतका कुनै जिम्मेवार व्यक्तिहरुसित भेटघाट गरे भने त्यो कागताली मात्रै हुनेछ ।

उत्तरको छिमेकी चीनले नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छौं भनिरहेका बेला सरकारले वाणिज्य मन्त्रीलाई चीन भ्रमणमा पठाएको भए ठूलो अर्थ राख्थ्यो । अरु कसैलाई दूत बनाएर पठाएको भए पनि हुन्थ्यो । तर, त्यति पनि गरिएको छैन । प्रधानमन्त्री सुशील कोइराला के सोच्दैछन् सायद उनैलाई मात्र थाहा छ ।

राजनीतिक दलका नेताहरुसित पनि भारतले नाकाबन्दी जारी राखे भने के गर्ने भन्ने कुनै सोच देखिँदैन । उनीहरु त निरीहता देखाउँदै भनिरहेका छन्, ‘भारतले नदिए भोकै बस्छौं, गाडी चढ्न छोडेर साइकल चढ्छौं ।’

भारतले नदिए चीनबाट ल्याउँछौं किन भन्न सक्दैनन् उनीहरु ? भोकै बस्नु कुनखालको राष्ट्रवाद हो ?  सडकमा तेलका लागि लागेको लाइन देख्दा अहिले नै आपतकालको झल्को आउँछ । जबकि आयल निगम भन्छ, नाकाबन्दी हटेन भने यही तेलले दशैंसम्म चलाउने हो ।’

निगमका निर्देशक गोपाल खड्का अनलाइनखबरसित भन्छन्, ‘यदि नाकाबन्दी जारी रह्यो भने यही इन्धनले दशैंसम्म पुर्‍याउनुपर्छ । अरु विकल्प केही पनि छैन ।’

आयल निगमसित अहिले कति इन्धन सञ्चित छ भन्ने जानकारी दिन पनि उनले मानेनन् । के गरोस् आयल निगम ? ऊ सरकारको निर्देशन पर्खेर बसिरहेको छ । कार्यकारी निर्देशक भन्छन्, ‘अन्य देशबाट तेल ल्याउने विषयमा सरकारले सोच्ने कुरा हो । हामी त सरकारले जे निर्देशन दिन्छ त्यही मान्छौं ।’

भारतको विकल्प चीन

छिमेकी मुलुक चीनले नेपाललाई भोकै मर्न दिँदैनौं भन्दै जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाइरहेको छ । तर, चीनसित नजिक हुँदा भारत रिसाउला कि भन्ने डर अझै देखिन्छ सरकार र राजनीतिक दलहरुमा । त्यही भएर चीनको सहयोग स्वीकार गर्नसमेत अन्कनाइरहेको छ सरकार ।

राष्ट्रियतामा सम्झौता गर्नुभन्दा अलिकति बढी लागत व्यहोरेर भए पनि चीनसित व्यापारिक सम्बन्ध कायम गर्नुपर्नेमा विज्ञहरु जोड दिन्छन् ।

अर्थशास्त्री विश्वम्भर प्याकुरेल भारतले निहुँ खोजेका बेलामा तत्काल चीनसितका नाका खुलाउन पहल गर्नुपर्ने बताउँछन् । प्याकुरेल भन्छन्- ‘चीन हाम्रो हितैषी देश हो, हामीले माग्यौं भने उसले सहयोग नगर्ने कुरै छैन,’ उनी भन्छन्, ‘अहिले सारा शक्ति लगाएर भए पनि चाँडो भन्दा चाँडो चीनसितको नाका खुलाउनुपर्छ ।’

तत्कालिक आवश्यकताका लागि तेल, ग्यास लगायतका अत्यावश्यक सामग्री चीनबाट ल्याउने व्यवस्था मिलाउनुपर्ने प्याकुरेलको भनाइ छ ।  त्यसो त तेल ल्याउनका लागि नेपालले बंगलादेशसित पनि कुरा गर्न सक्छ । तर, बंगलादेशबाट ल्याउनका लागि पनि भारतले बाटो दिनैपर्छ ।

हेपाइको पराकाष्टामा ओर्लेको भारतले बंगलादेशबाट तेल ल्याउन बाटो खुला गरिदिने अवस्था छैन । हवाइ जहाजबाट ल्याउने विकल्प भए पनि यो अत्यन्त महंगो पर्ने भएकाले नेपालले धान्न सक्ने अवस्था छैन ।  ‘सरकारले अब चीनसित सहकार्य गर्न हिच्किचाउनुहुँदैन,’ प्याकुरेल भन्छन्, ‘अझै पनि भारत रिसाउला भनेर डराउने नेताहरुले राष्ट्रियता र स्वाधीनताको कुरा गर्नु बेकार छ ।’

सिन्धुपाल्चोकस्थित तातोपानी नाका भूकम्पपछि अवरुद्ध भएको हो । लगातारको पहिरोले भत्काएको करिब १० किलोमिटर बाटो मर्मत हुन नसक्दा उक्त नाकाबाट सामान ल्याउन सकिएको छैन । युद्धस्तरमा काम गरेमा केही दिनभित्रै तातोपानी नाका खुलाउन सकिने प्याकुरेल बताउँछन् ।  ‘त्यहाँको नाका खुलायौं भने, भारत आफैं सिथिल हुन्छ,’ उनले भने, ‘यद्यपि दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय दबाव सिर्जना गरेर भए पनि भारतलाई पछि हट्न बाध्य बनाउनैपर्छ ।’

दुबईसित कुरा गर्दैछौं : निगम

आयल निगमका कार्यकारी निर्देशक खड्काले नेपालका इन्धन आपूर्तिका लागि दुबईसित प्रस्ताव मागिएको बताएका छन् । दुबईका नेपालस्थित एजेन्टसित आफूहरुले अनौपचारिक कुराकानी गरिरहेको उनले जानकारी दिए । ‘हामीे कोटेसन मागेका छौं, एक-दुई दिनमा जवाफ आउला,’ खड्काले भने । 

बरु मरिचमानले ल्याएका थिए

भारतले ०४६ सालमा नेपाललाई घोषित रुपमै १३ महिना नाकाबन्दी लगाएको थियो । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह भारतसित झुकेनन् । त्यतिबेला सिंगापुर, बंगलादेशलगायत देशहरुबाट प्लेनमा तेल ल्याएरसमेत बाँडिएको तत्कालीन गृहराज्यमन्त्री निरञ्जन थापा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment