Comments Add Comment

गौरबाट मधेसी मोर्चाका नेताहरुले भने-सम्झौता लागू नभएसम्म वार्ताको औचित्य छैन

Madhesi-Morcha

गौतम श्रेष्ठ

१३ असोज, रौतहट । मधेसी मोर्चाका नेताहरुले विगतका सम्झौता कार्यान्यवन नभएसम्म वार्ताको कुनै औचित्य नरहेको बताएका छन् ।

मोर्चाको बैठकपछि रौतहटको गौरमा आयोजित सभालाई मोर्चामा आवद्ध चार दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले आफूहरु तत्काल वार्तामा जाने अवस्था नरहेको बताएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको आहृवान गरे पनि वातावरण अझै तयार नभएको बताए । आन्दोलनका क्रममा मृत्यु भएकाहरु लाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको विषयमा पनि कुनै सम्बोधन नभएको उनले बताए ।

आफूसँग सरकारका प्रतिनिधिहरुले अनौपचारिक भेटघाट र कुराकानी गरेपनि वार्ता कै रुपमा आफू नबसेको उनले प्रष्ट पारे । तमलोपा अध्यक्ष ठाकुरले मोर्चाका नेता कार्यकर्ताहरुमाथि मुद्दा चलाएकोप्रति उनले आपत्ति जनाएका छन् ।भारतले कुनै किसिमको नाकाबन्दी नगरेको भन्दै उनले आफूहरुले सीमामा धर्ना दिएर नाकाबन्दी गरेको बताए । उनले आफ्नो समस्याका लागि अरुलाई दोष दिन नहुने बताए ।

Gaur--Sava

संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा र मुश्लिम संघर्ष गठबन्धनले आयोजना गरेको विरोध सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासँग भएको स्वायत मधेशको सम्झौतालाई तीन दलले वेवास्ता गरेको आरोप लगाए । दुई पटकसम्म सम्झौता गरेर मधेसलाई धोका दिएको भन्दै उनले अब उधारोमा सम्झौता नगर्ने बताए ।

सदभावना अध्यक्ष महतोले मधेसबाट बहुमत प्राप्त पार्टी भन्नेहरुले मधेसमा आएर देखाउन चुनौती समेत दिए । तीन दलका कुनै सभासद अहिले मधेस आउन नसक्ने भन्दै उनले शीर्ष दलहरुको पनि मधेसमा कुनै स्थान नभएको दाबी गरे ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक महिनाभन्दा बढी समयसम्म मधेस बन्द हुँदा सरकारको ध्यान नगएको तर, नाकाबन्दी भएपछि शासकहरुको होस उडेको बताए ।

वार्ताका लागि आफूहरु तयार रहेपनि सरकारले सेना प्रयोग गरेर मधेसमा दमन गरेको भन्दै यादवले मधेसलाई अधिकार सम्पन्न बनाउन यस पटक सम्पूर्ण मधेसी जनता लागेको बताए ।

सभालाई तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले समेत सम्बोधन गरेका थिए । सभाका लागि गाँउगाँउबाट मानिसहरु आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment