Comments Add Comment

कमलरीदेखि सचेतकसम्म : पूरा भयो शान्ता चौधरीको सपना, अब पिएचडीको धोको

१० चैत, काठमाडौं । तुलसीपुर मावि केन्द्रमा बा २ झ २८७१ नम्बरको सरकारी नम्बर प्लेटको गाडीबाट उनी ओर्लिदा ओर्लिदा परीक्षा केन्द्रका कर्मचारीदेखि परीक्षार्थीसम्म कुन भीआईपी आए भनेर हेर्न थाले । तर उनी थिइन् तुलसीपुर मावि, तुलसीपुर परीक्षाकेन्द्रकी परीक्षार्थी शान्ता चौधरी ।

संघीय संसद सचिवालयको गाडीबाट ओर्लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी संसदीय दलको सचेतक शान्ता चौधरी सीधै परीक्षाहलतर्फ अघि बढिन् । तर उनी सामान्य परीक्षार्थीमात्र थिइनन् । ‘सेलिब्रिटी’ सांसद चौधरीलाई पत्रकारले घेरा हालेपछि केही प्रतिक्रिया दिइन् र परीक्षा हलभित्र पसिन् ।

३९ वर्षीया शान्ता चौधरीको जीवनको ठूलो सपना पूरा हुँदैछ । बाल्यकालमा उनले पढ्न पाइनन् । स्कूल जाने उमेरमा उनी जमिन्दारको घरमा कमलरी बसिन् । जमिन्दारको घरबाट मुक्त भएपछि पनि उनले पढ्न पाइनन् । यसबीचमा बिभिन्न सामाजिक आन्दोलनबाट तत्कालीन एमालेमा जोडिएपछि अक्षर चिन्न थालिन् ।

२०६४ सालको पहिलो संविधानसभामा सभासद भएर आउँदासम्म शान्ता चौधरीलाई आफ्नो नाम लेख्न पनि गाह्रो हुन्थ्यो । पार्टीले संसदीय समितिको सभापति बनाएपछि निर्णयमा सही गर्न समेत अरुको सहारा लिनुपर्ने भएपछि उनले अब नपढी छाड्दिन भन्ने संकल्प लिएकी थिइन् ।

उनले छोराछोरीसँगै सिक्न थालिन् । पार्टी काम, संसदीय गतिबिधि र पढाइलाई सँगै लैजाने क्रममा शान्ता चौधरी एसईई दिने ठाउँमा पुगिन् । हुन त शान्ता चौधरीको जीवन आफैंमा एउटा संघर्षको गाथा हो । त्यहि गाथामा उनले नयाँ पाना थपेकी छन्– एसएसलसी (हालको एसईई) पास गर्ने धोको पूरा गरेर ।

खुसी लुकाउन नसकेकी चौधरीले भनिन्– मलाई अहिले बाल्यकालमा छु जस्तो लाग्यो । यो मेरो जीवनको सबैभन्दा ठूलो सपना थियो, जुन आज पूरा भएको छ । अहिले एसईई दिएकी छु, बुढेसकालसम्म भए पनि पिएचडी गर्ने सपना छ । तर आज मेरो बाल्यकालदेखिको एउटा ठूलो सपनाचाहिँ पूरा भएको छ ।

हुन त शान्ताले २०७२ सालमै ८ कक्षा पास गरेकी थिइन् । तर यसबीचमा बिभिन्न तहका चुनाव र पार्टी कामको व्यस्तताले गर्दा पढाइलाई निरन्तर गर्न सकिनन् । दोस्रो संविधानसभा निर्वाचनअघि नै उनलाई क्यान्सर जस्तो रोगले आक्रमण गर्‍यो । उपचारमा लाग्दा उनले पढाई अघि बढाउन पाइनन् । यसबीचमा रोग र राजनीति दुवैतिर जितेकी शान्ताले एसईई दिन पाइन् ।

शान्ता १८ वर्षसम्म कमलरी बसिन् । उनको १६ वर्ष नपुग्दै विहे भयो । अहिले छोरी बिनुले काठमाडौंबाट एसईई दिइरहेकी छन् । छोराछोरी हुर्काइसकेपछि शान्ताले पढ्न थालेकी हुन् । छोरा उच्च शिक्षा अध्ययनरत छन् ।
तस्वीरहरुः शरद रेग्मी/दाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment