Comments Add Comment

बालुवाटारमा यसरी भयो सुशील र केपीको भनाभन

susil-kp oli

राजकुमार श्रेष्ठ

१४ असोज, काठमाडौं । संसद अधिवेशनको पूर्वसन्ध्यामा प्रमुख तीन दलको बैठकमा नयाँ सरकार गठनको एजेण्डाले प्रवेश पाएको छ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान संशोधन नगरी राजीनामा नदिने संकेत गरेपछि केपी ओलीले आपत्ति जनाएका छन् ।

मधेसी मोर्चाको पूर्वसर्तबारे छलफल गर्न विहीबार बालुवाटारमा बोलाइएको तीन दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारको एजेण्डालाई प्रवेश गराएका थिए ।

स्रोतका अनुसार ओलीले भोलिबाट संसद सुरु हुँदैछ, नयाँ सरकारबारे छलफल नगरी कसरी जाने भन्दै एजेण्डा प्रवेश गराएका थिए । ओलीले वर्तमान प्रधानमन्त्रीले राजीनामा दिने र एमालेले सरकारको नेतृत्व गर्ने विगतमा सहमति भएको बैठकमा स्मरण गराए ।

एमाले अध्यक्ष ओलीले नयाँ सरकारको विषयलाई जोडले राखेपछि कानूनमन्त्री एवं कांग्रेस नेता नरहरि आचार्यले जवाफ दिएका थिए । उनले संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री अघि बढ्ने भन्दै नयाँ सरकारबारे राजनीतिक छलफल गर्दै गर्दा टुंगो लाग्छ भन्ने जवाफ दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्री कोइरालाले भने मेरो चिन्ता नगर्नुस्, म छोड्छु भनेका छन् । तर, उनले मधेसी मोर्चासँग सहमतिका लागि संसदको पहिलो बैठकमा नै समानुपातिक समावेशी र निर्वाचन क्षेत्रबाट संविधान संशोधन गर्नुपर्ने सर्त अघि सारेका छन् ।

प्रमुख तीनदलले सामाजिक न्यायको हकमा समानुपातिक समावेशी सुनिश्चित गर्ने र हाल कायम जिल्लाको भूगोलमा एक निर्वाचन क्षेत्र नहट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्ने व्यवस्था थप्न संविधान संशोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाएका छन् ।

तर, प्रधानमन्त्री कोइरालाले संसदको पहिलो बैठकबाटै संविधान संशोधन गर्ने प्रस्ताव राखेपछि ओली आक्रोसित भएको बालुवाटार बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

ओलीले प्रधानमन्त्री कोइरालालाई संविधान कार्यान्वयन गर्ने बेलामा केको संशोधन भन्दै थर्काएको स्रोतले बतायो ।
जवाफमा प्रधानमन्त्री कोइरालाले पनि त्यसो हो भने म पनि सोच्छु भनेका छन् । स्रोतले भन्यो-‘कोइराला संविधान संशोधन गरेर मात्रै राजीनामा गर्न चाहन्छन् ।’

यसअघि प्रधानमन्त्री कोइरालाले संसदको पहिलो बैठकलाई सम्बोधन गर्दार् नै राजीनामा दिने चर्चा चलेको थियो । तर, कांग्रेसकै नेताहरुले मधेसी मोर्चासँग वार्ता भइरहेको र सरकार गठनबारे दलहरुबीच सहमति भइनसकेको भन्दै तत्काल राजीनामा नदिन सुझाव दिएका कारण अहिलेसम्म प्रधानमन्त्रीको राजीनामा आएको छैन ।

एक नेताले भने-‘कांग्रेसका साथीहरुले सुरुमा भोलि राजीनामा दिने भन्ने थियो । तर, वार्ता चलिरहेको र दलहरुबीच सहमति भइनसकेकाले २१/२२ गतेसम्म राजीनामा दिने भन्ने कुरा आएको छ ।’

ओली सशंकित

उता आफूलाई तत्काल प्रधानमन्त्री नबनाउने खेल सुरु भएको सूचना पाएपछि एमाले अध्यक्ष केपी ओली सशंकित भएको बताइन्छ । र, ओली आफू प्रधानमन्त्री नभई तत्काल संविधान संशोधन गर्न नदिने अडानमा छ ।

संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ पुर्‍याउन एमालेको समर्थन आवश्यक पर्छ । एमाले र कांग्रेसमा तिक्तता देखिए पनि विपक्षी दलका नेता एमाओवादी अध्यक्ष प्रचण्ड भने तीनदलीय एकता कायम राख्ने पक्षमा छन् । प्रचण्डले ओलीलाई सघाउने आश्वासन दिने नेताहरु बताउँछन् ।

ओलीलाई प्रधानमन्त्री बनाउन एमाले महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, अग्नि खरेलका नेताहरुले लबिङ गरिरहेका छन् । कांग्रेस महामन्त्री कृष्ण सिटौलासहितको टीम र एमाओवादीका केही नेताहरुले पनि यो अभियानलाई साथ दिएको स्रोत बताउँछ ।

मधेसी मोर्चासँग जोडिएको विषय

नयाँ सरकार गठन मधेसी मोर्चासँगको सहमतिसँग पनि जोडिएकाले सजिलै मिल्छ भन्न सकिन्न । मधेसी मोर्चाका मागहरु सम्बोधन गर्न दलहरुलाई दबाव दिइरहेको छिमेकी मुलुक भारत पनि यसलाई नयाँ सरकार गठनसम्म लगेर जोड्ने प्रयासमा छ ।

जानकारहरुका अनुसार सरकार गठनको दिन नजिकिँदै गर्दा भारतीय दूतहरु निकै सक्रिय बनेका छन् । भारतीयहरुले केपी ओलीबाहेक तीन दलका धेरै नेताहरुलाई प्रधानमन्त्रीको आश्वासन बाँडेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment