२३ असोज, काठमाडौं । एमाओवादी सांसद प्रभु साहले एमाले नेतृत्वमा सरकार बनाउने पार्टीको निर्णयमा आफ्नो असहमति रहेको बताएका छन् । तर, प्रधानमन्त्री निर्वाचनमा भने पार्टीको निर्णय अनुसार भोट हाल्ने बताएका छन् ।
एमाओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्न सभासदहरुलाई निर्देशन दिएको छ ।
शनिबार एमाओवादी संसदीय दलको बैठकमा भाग लिएका सांसद साहले सोमबारको प्रधानमन्त्री निर्वाचनमा आफूले पार्टीको निर्णय अनुसार मतदान गर्ने बताए ।
एमालेले मधेसी र थारुको मागलाई अस्वीकार गरेको भन्दै सभासद साहले सहमतीय सरकार गठनका लागि पहल गर्नुको साटो उसकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गलत भएको बताए ।
संसदीय दलको बैठकपछि साहले अनलाइनखबरसँग भने- बहुमतीय प्रक्रियामा जाने निर्णयप्रति मेरो असहमति छ, तर पार्टीले निर्णय मान्छु ।’
साहले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा पार्टीको निर्णय अस्वीकार गर्दै बहिस्कार गरेका थिए ।