Comments Add Comment

हत्यारालाई उन्मुक्ति दिन प्रहरी र डाक्टर मिलेको आरोप

Lalitupr-Sarita-hatya२६ असोज, काठमाडौ । यही असोज १७ गते ललितपुरको ठूलादुर्लुङ गाविस ८ मा मृत भेटिएकी सरिता तिमिल्सिनाको हत्या भएको उनको माइती पक्षले दाबी गरेको छ । हत्यालाई आत्महत्या बनाउने षडयन्त्र भइरहेको तिमिल्सिनाको माइती पक्षको दाबी छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पीडित पक्षले पत्रकार सम्मेलन गरेर ५ दशमलब ४ ईन्च उचाइकी तिमल्सिना ५ दशमलब २ ईन्च अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको, शरिरभरी यातनाका चिन्हहरु भएको र मृतकको घाटिमा दुई वटा डाम रहेको अवस्थाले आत्महत्या नभइ हत्या गरेर झुण्डाइएको प्रमाणित हुने तर्क गरे ।

शवलाई हेरेर तत्कालै स्थानीय प्रहरीले हत्या भएको भन्दै मृतकका ससुरा कृष्णप्रसाद घिमिरे र श्रीमान उपेन्द्र घिमिरेलाई हतकडी लगाएर चापागाउँ प्रहरी पुर्‍याएका थिए । शवलाई पनि पोष्टमार्टमकालागि पाटन अस्पताल पुर्‍याइएको थियो । तर, प्रहरीले आफू अनुकुलका चिकित्सक त्यहाँ नभएका कारण टिचिङ अस्पतालमा पुर्‍याएर पोष्टमार्टम गराइ आत्महत्याको रिपोर्ट तयार पारेको मृतकका दाजु विश्वराम तिमल्सिनाले आरोप लगाए ।

उनले टिचिङ अस्पतालका डा. हरिहर वस्तीले आत्महत्या भएको भन्दै शरिर भरी आगोले डामेर दिएको यातनालाई समेत घामको ‘एलर्जी’ भनेर रिपोर्ट दिएको र प्रहरीले पनि आफूहरुको किटानी जाहेरी लिन नमानेको गुनासो गरे ।

मृतकका पीता भिमप्रसाद तिमल्सिनाले घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही गर्न र आफूहरुलाई न्याय दिलाउन माग गरे । गत चैतमा उपेन्द्र घिमिरेसँग प्रेम विवाह गरेकी सरीताको ५ महिनाको गर्भसमेत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment