१ कात्तिक, काठमाडौं । नेयमारले दुई पेनाल्टीसहित चार गोल गरेपछि रायो भालेकानोलाई पराजित गर्दै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँग अंक बराबरी गरेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता भने रायो भालेकानोले लिएको थियो । १५ औं मिनेटमा जाभी गुएराले गोल गरे । तर, २२ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत बराबरी गोल गरे ।
३२ औं मिनेटमा बार्सिलोनाले दोस्रो पेनाल्टी पायो, जसमा नेयमारले नै गोल गरे । पहिलो हाफमा २-१ को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्यो ।
६९ औं मिनेटमा गोल गर्दै नेयमारले हृयाटि्रक पुरा गरे । लगतै उनले चौथो गोल गरे । खेलको ७७ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई ५-१ को अग्रता दिलाए ।
८६ औं मिनेटमा रायो भोलेकानोका सान्चेज रुइजले गोल गरेपनि हार टार्न सकेनन् ।
जितपछि बार्सिलोनाको ८ खेलबाट १८ अंक भएको छ । लिग लिडर रियल मड्रिडको पनि समान अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोना दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4