+

आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि

२०८२ वैशाख  २० गते १७:०२ २०८२ वैशाख २० गते १७:०२
आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि

२० वैशाख, काठमाडौं । आरभसम्राट हाडा र स्वस्तिका विष्टले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने । सिटिजन्स बैंक टेनिसमा दुवै नयाँ च्याम्पियन हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा आरभले निसान श्रेष्ठलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे ।

आरभको समग्रमा तेस्रो सिनियर सिंगल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए । निहालजंगबहादुर थापा र राजवीर प्रधान तेस्रो भए ।

आठौं र दसौं संस्करणका उपाधि विजेता प्रदीप खड्का भने क्वाटरफाइनलमै रोकिए । प्रदीपलाई राजवीरले क्वाटरफाइनलमा हराएका थिए ।

महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले नवौं र दसौं संस्करणकी उपाधि विजेता अभिलाषा विष्टलाई सीधा सेटमा ६–१ र ६–३ ले हराइन् । ४ वर्षे टेनिस करियरमा स्वस्तिकाको यो नै पहिलो सिनियर सिंगल्स उपाधि हो ।

आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेस्रो स्थानमा चित्त बुझाए । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार पाए ।

प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बने ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडी पहिलो भए ।

बैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ६३ खेलाडी सहभागी थिए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको थियो ।

सिटिजन्स बैंक टेनिस प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय