Comments Add Comment

सभामुखलाई कहिलेकाँही मन्त्रीले पनि टेर्दैनन् : रानाभाट

Taranath Ranavat१ कात्तिक, काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई औपचारिकरुपमा कानून पढेको छैन भन्दैमा हीनतावोध नराख्न सुझाव दिएका छन् ।

‘कानूनमन्त्रीले औपचारिक रुपमा कानून पढेकै हुनुपर्छ भन्ने छैन, सभामुखको हकमा पनि कानून नपढेको व्यक्तिले पनि चलाउन सक्छ’ पूर्वसभामुख रानाभाटले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘तर, कानून नपढेको व्यक्तिले सभामुखको जिम्मेवारी निभाउँदा अलि बढी मिहेनत गर्नुपर्छ ।’

नयाँ सभामुख ओनसरीलाई तपाईका सुझाव के छन् भन्ने अनलाइनखबरको प्रश्नमा रानाभाटले भने- ‘सबैभन्दा पहिले उहाँलाई मेरो शुभकामना छ, पहिलो महिला सभामुख बन्नु देशकै गर्वको कुरा हो । तर, उहाँले मेरो पार्टी, मेरो जात र मेरो समुदाय नभनी पदको गरिमालाई राष्ट्रिय, अन्तरराष्ट्रियरुपमा बचाउनुपर्छ ।’

सभामुखका अप्ठ्यारा

दुईपटक कानूनमन्त्री भइसकेर सभामुखको जिम्मेवारी निभाएका र कानूनका विद्यार्थीसमेत रहेका पूर्वसभामुख रानाभाटको अनुभवमा सभामुख पद सजिलो जिम्मेवारी होइन ।

onsari Ghartiअझै अहिले त संविधान कार्यान्वयनको चरणमा दुईसय भन्दा बढी कानूनहरु बनाउनुपर्ने बेला भएकाले सभामुखको जिम्मेवारी झनै जटिल छ ।

नयाँ सभामुख घर्तीलाई सुझाव दिँदै रानाभाटले भने- ‘कानूनका अक्षरहरु हेर्दा त्यसले पार्न सक्ने प्रभावका विषयमा पनि विश्लेषण गर्न सक्नुपर्छ । त्यसैले ओनसरीजीले योग्यतम् मान्छेहरुको सहयोग लिएर काम गर्नोस्, कर्मचारीहरु पनि मुख सुँघेर काम गर्छन्, उनीहरुले खेल्न नपाउन् ।’

आफू सभामुख बनेका बेला विपक्षी दलबाट सहयोग पाएको तर, आफ्नै दलका साथीहरुले असहयोग गरेको रानाभाटले स्मरण गरे । सत्तापक्ष र सरकारले सभामुखलाई आफ्नो प्रभावमा राख्न खोज्ने तर सभामुखले यो संस्थालाई स्वायत्त बनाइराख्नुपर्ने उनले बताए ।

उनले भने- ‘पञ्चायतकालमा जस्तै सभामुख पदलाई निरीह बनाउनदिनु हुँदैन, यसलाई स्वायत्त बनाइराख्नुपर्छ, जुन परम्परा मैले जोगाएको थिएँ ।’

सभामुखलाई कहिलेकाहीँ मन्त्रीले नटेर्ने गरेको उपसभामुख रानाभाटको अनुभव छ । ‘सभामुखले बोलाउँदा कहिलेकाँही मन्त्रीहरुले नै टेर्दैनन्, कहिले संसदको रेकर्डमा राख्न नमिल्ने कुराहरु बोलिदिन्छन्,’ उनले भने- त्यस्तो बेलामा सभामुखले के गर्ने हो, तत्काल कदम चाल्नुपर्छ र संसदको मर्यादालाई जोगाउन भूमिका खेल्नुपर्छ ।’

नयाँ सभामुखलाई आफूले सपथग्रहण कार्यक्रममा व्यक्तिगतरुपमा शुभकामना दिनुका साथै पूर्वसांसद क्लवले पनि औपचारिक रुपमा शुभकामना दिने रानाभाटले अनलाइनखबरलाई बताए ।

‘हामीसँग सहयोग मागेको खण्डमा जहिले पनि उहाँलाई सहयोग गर्न तयार छौं,’ रानाभाटले भने ।

विद्यार्थीलाई प्रवेश, पूर्वपदाधिकारीलाई आदर

संसदमा आफूले विद्यार्थीहरुलाई समेत प्रवेश दिने गरेकोमा अहिले त्यो प्रचलन हटेको रानाभाटले बताए ।

CA Meeting

संसदीय अभ्यासबारे विद्यार्थीहरुलाई पनि जानकारी दिन सकियो भने त्यसले समाजमा लोकतन्त्र संस्थागत हुने उनले बताए ।

त्यसैगरी पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका पूर्वपदाधिकारीहरुलाई संसद बैठकमा प्रवेश गर्न दिँदा उनीहरुलाई बस्ने स्थानको सही व्यवस्थापन गर्नुपर्ने रानाभाटको सुझाव छ । त्यसलाई विश्व समुदायले पनि हेर्ने उनी बताउँछन् ।

व्यवस्थापिका संसदलाई बन्द सभाको रुपमा नभई जनताका लागि खुल्ला र सहज बनाइनुपर्ने रानाभाटको थप सुझाव छ । ‘मैले प्रावि स्कुलका केटाकेटीका लागि पनि खुल्ला गरेको थिएँ, यसो गरियो भनेमात्रै भावी पुस्ताले पनि सिक्न सक्छ, विद्यार्थीलाई जिन्दावाद र मूर्दावादको नारामा मात्रै सीमित राखेर कसरी सिक्ने ?’ रानाभाटले अनलाइनखबरसँग भने, ‘त्यही भएर मैले स्पिकर ग्यालरीको प्रवन्ध गरेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment