Comments Add Comment

तातोपानी कुण्डलाई अपाङ्गमैत्री बनाइयो

७ कात्तिक, म्याग्दी । प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–१३ स्थित सिङ्गा तातोपानी कुण्डलाई अपाङ्गमैत्री बनाइएको छ ।

अपाङ्गता भएका, अशक्त र ज्येष्ठ नागरिकलाई सहज रुपमा स्नान गर्ने व्यवस्था मिलाउन कुण्डको संरचनालाई अपाङ्गमैत्री बनाइएको हो । ह्विलचियरमार्फत पुग्न सकिने बनाइएको कुण्डभित्र पनि कुर्चीमा बसेर स्नान गर्न मिल्ने व्यवस्था गर्न लागिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका उपाध्यक्ष योगेन्द्र केसीले बताए ।

उनका अनुसार कुण्डको मर्मत र क्षमता विस्तारका क्रममा तातोपानी बजारदेखि कुण्डको तलाउसम्म पुग्ने बाटोलाई ह्विलचियर गुड्न सक्ने बनाइएको हो । यसअघि ढाडको समस्या भएका, अपाङ्गता भएका र अशक्तलाई पिठ्यूँ, डोको र स्टेचरमा राखेर कुण्डमा लैजाने गरिएको थियो ।

गत वैशाखको भूकम्पका कारण मुहानतर्फको पर्खाल चर्किंदा पानी चुहिएपछि कुण्डको मर्मतसँगै क्षमता विस्तार र संरचनालाई सुधार गरिएको हो । स्नानका लागि आउने बिरामीको चाप बढेकाले कुण्डको क्षमता बढाएर संरचनालाई महिला र अपाङ्गमैत्री बनाइएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए ।

यस स्थानमा प्राकृतिक रुपमा गन्धक र बिरेनुनसहित ५७ डिग्री तातोपानी निस्कने मुहान रहेको छ । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस रोगका बिरामी उक्त तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचारका लागि आउने गरेका छन् ।

देशका विभिन्न जिल्लाबाट कुण्डमा स्नान र उपचारका लागि वार्षिक १५ हजार जनाको अनुपातमा बिरामी आउने गरेको व्यवस्थापन समितिका सचिव मीनबहादुर बानियाँले बताउनुभयो । एक हप्ता स्नानका लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment