Comments Add Comment

कीर्तिपुरमा भेटियो लिच्छवीकालीन मूर्ति

Photo Credit : विनोद बस्नेत । कीर्तिपुरमा भेटिएको लिच्छवीकालीन मूर्ति

२२ चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका-६, चारघरेमा लिच्छवीकालीन मूर्ति फेला परेको छ । मूर्ति भेटिएपछि त्यहाँ उत्खनन थालिएको छ ।

भूकम्पले भत्किएको जालपादेवी मन्दिर उत्खननका क्रममा नागकन्या र लक्ष्मीको मूर्ति भेटिएको हो । खन्ने क्रममा मूर्तिको सानो टुक्रा भने चोइटिएको छ । त्यस्तै, मन्दिरको भग्नावशेषबाट कुँदिएका ढुंगा र सिक्कासमेत भेटिएका छन् ।

भेटिएका मूर्ति लिच्छवीकालीन भएको पुष्टि भएको पुरातत्व विभागले गरेको छ । मन्दिर पुनर्निर्माण समितिको आग्रहपछि पुरातत्व विभागबाट भाष्कर ज्ञवालीको नेतृत्वमा आएको एक टोलीले मूर्ति तथा सिक्का लिच्छवीकालीन भएको पुष्टि गरेको वृहत चारघरे धार्मिक समितिका सचिव विनोद बस्नेतले जानकारी दिए ।

‘पुराना मूर्ति र सिक्का उत्खनन स्थलमा भेटिएपछि हामीले जनप्रतिनिधि र प्रहरीको सल्लाहअनुसार पुरातत्व विभागलाई खबर गरेका थियौं’, कीर्तिपुर क्षेत्रमा भूकम्पले भत्किएका मन्दिर पुनर्निर्माणका लागि गठित वृहत चारघरे धार्मिक समितिका सचिव बस्नेतले भने, ‘विभागबाट भाष्कर ज्ञवालीको नेतृत्वमा आउनु भएको टोलीले अध्ययनपछि उक्त मूर्ति लिच्छवीकालीन भएको पुष्टि गर्नु भएको छ ।’

भेटिएका पुरातात्विक मूर्ति तथा सिक्का विभागले मन्दिर निर्माण समितिलाई कै जिम्मामा छाडेको छ ।

मन्दिरमा पुरातात्विक महत्त्वका वस्तु भेटिएपछि थप उत्खनन थालिएको छ । मन्दिर पुनर्निर्माण समितिले थप पुरातात्विक वस्तु हुन सक्ने अड्कल गर्दै आफ्नै अग्रसरतामा उत्खनन थालेको छ । उत्खननका क्रममा हरेक दिन नयाँ पुरातात्विक वस्तु भेटिएको सचिव बस्नेत बताउँछन् ।

भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण गर्दै स्थानीय । तस्वीर : विनोद बस्नेत

त्यहाँ थप पुरातात्विक वस्तु हुनसक्ने भए पनि सरकारी निकायले उत्खननमा उत्सुकता देखाएका छैनन् । पुरातत्व विभागले मन्दिर पुननिर्माण समिति र जनप्रतिनिधिको आग्रहपछि भेटिएका मूर्ति तथा सिक्काको पुरातात्विक परीक्षण गरे पनि थप उत्खननमा चासो देखाएको छैन । ‘पुरातात्विक बस्तु भेटिने क्रम जारी रहेकाले विज्ञहरुबाटै उत्खनन् कार्य गर्न पुरातत्व विभागको ध्यानाकर्षण गराउछौं,’ बस्नेतले भने ।

मन्दिर पुनर्निर्माण समितिका सचिव बस्नेत सरकारी निकायले सरोकार नराखेपछि थप पुरातात्विक वस्तु हुनसक्ने अनुमानका आधारमा स्वतःस्फूर्त उत्खनन् थालेको बताउँछन् । ‘अहिले हामी आफैंले उत्खनन गरिरहेका छौं’, बस्नेतले भने, ‘सरकारी निकाय आफैं संलग्न भएर उत्खननमा लागे केही नयाँ भेटिन्थ्यो कि ।’

२०७२ वैशाख १२ को भूकम्पले कीर्तिपुर क्षेत्रका जालन्धर पीठ, पिशाचेश्वर महादेव, जालपादेवी मन्दिरलगायतमा क्षति पुगेको छ । भूकम्पको ४ वर्षपछि त्यहाँका स्थानीयले समिति गठन गरेर चरणबद्ध पुनर्निर्माणको काम थालेका छन् ।

बस्नेतका अनुसार पुनर्निर्माण भइरहेको र लिच्छविकालीन मूर्ति भेटिएको स्थानमा नयाँ मन्दिर निर्माण गरिदिने वचन पुरातत्व विभागका अधिकारीहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment