Comments Add Comment

चतराका दुई जोगीवीच जुँगाको लडाइँ ! सरकारले दियो ५० लाख

‘महाराज’लाई राष्ट्रपतिको साथ, ‘बालसन्त’लाई प्रधानमन्त्रीको

२२ चैत, बिराटनगर । प्राचीन धार्मिकक्षेत्र सुनसरीको चतराधाममा शनिबारदेखि अर्धमहाकुम्भ मेला आयोजना गरिने भएको छ । ‘कृष्णदासजी महाराज’ ले राष्ट्रपतिलाई बोलाएर ‘तारमब्रह्म महायज्ञ’ आयोजना गरेको दुई महिना नबित्दै जगतगुरु बालसन्तको अगुवाइमा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा ‘पिण्डेश्वर अर्धमहाकुम्भ मेला’को आयोजना गर्न लागिएको हो ।

आपसमा राम्रोसँग बोलचाल नभएका कृष्णदासजी र बालसन्तवीचको शक्ति–संघर्षलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले साथ दिएका छन् । बालसन्तले प्रदेश सरकारलाई नै कुम्भ मेलाको संयोजक बनाएर प्रदेश मन्त्रिपरिषदबाट ५० लाख रुपैयाँ निकासा गराउनसमेत सफलता पाएका छन् ।

धर्मनिरपेक्ष नेपालको कम्युनिष्ट सरकार आफैं कुम्भमेलाको संयोजक बनेको छ । शनिबारदेखि सुरु भएर आगामी बैशाख २४ गतेसम्म एक महिनासम्म चल्ने कुम्भमेला व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारले आफैं लिएको छ । कुम्भ मेलाका लागि प्रदेश सरकारले चतरामा सम्पर्क कार्यालय नै स्थापना गरेको छ । कुम्भ मेलाका लागि प्रदेश क्याबिनेटले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले ५० लाख निकासा गर्नुका साथै आन्तरिक मामिला (गृह) तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ ।

आपसमा राम्रोसँग बोलचाल नभएका कृष्णदासजी र बालसन्तवीचको शक्ति–संघर्षलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले साथ दिएका छन् ।

एक महिने अर्धमहाकुम्भ मेलाका लागि धरानको पिण्डेश्वर बाबाधामबाट निकालिने कलश यात्राको सुभारम्भ मुख्यमन्त्री शेरधन राईले गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार महाकुम्भ मेलाको उद्घाटन गर्नेछन् ।

सुनसरीको चतरामै दुई महिनाअघि मात्रै श्रीराम तारक ब्रम्ह महायज्ञ आयोजना गरिएको थियो । करिब ७०५ वर्षपछि आयोजना भएको दाबी गरिएको महायज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

कृष्णदासजीको अगुवाइमा गत माघ २६ गते देखि माघ ७ गतेसम्म चलेको महायज्ञमा नेपाल र भारतबाट १० लाख हाराहारी भक्तजन सहभागी भएको आयोजकको दाबी छ ।

त्यसक्रममा ‘कृष्णदासजी महाराज’ मुख्य अभियन्ता रहने गरी प्रदेश सरकारबाट हरित अभियान पनि शुभारम्भ भएको थियो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि भन्दै चतरामा रहेको रामानन्दाचार्य सेवा पीठको योजना अनुसार प्रदेश सरकारले सुरु गरेको अभियानअन्तर्गत वृक्षारोपण, पशुपालनसहित कृषि सुधारका कार्यक्रमहरु सञ्चालन हुने बताइएको थियो ।

तारक ब्रम्ह महायज्ञको दुई महिनापछि बालसन्तको अगुवाइमा अर्को धार्मिक मेलाको आयोजना गरिएको हो । कुम्भ मेला प्रत्येक १२ बर्षमा अयोजना हुन्छ । अर्ध कुम्भ मेला भने ६ बर्षमा आयोजना हुन्छ ।

बालसन्तकै अगुवाइमा चतरा धाममा दुईपटकसम्म कुम्भ मेला आयोजना गरिसकिएको छ । अघिल्ला दुईपटक नै संघीय सरकारले कुम्भ मेलाको संयोजन गरेको थियो । प्रदेश सरकार गठन भएपछि संयोजनको जिम्मेवारी प्रदेशले लिएको हो ।

तारक ब्रम्ह यज्ञ आयोजना गर्दा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिम्मेवारीसहित सहयाेग गरेका थिए । बालसन्तकाे कार्यक्रममा मन्त्री हिक्मत कार्की सहयोग गर्न लागेका छन् ।

यो कुम्भ मेलाले नेपालीबीचको आत्मीयता, नेपालीहरुबीचमा धार्मिक सद्भाव राख्ने प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउँदै आएका छन् । दोस्रो कुम्भ मेलाले चतराको महत्व अझ बढेर जाने उनको दाबी छ ।

प्रवचन विश्व बन्धुत्वको, तर बोलचाल बन्द !

बराहक्षेत्रमा रहेका दुई धार्मिक अगुवा कृष्णदासजी महाराज र बालसन्त दुबै चतराका छिमेकीहरु हुन् । तर, विश्व भातृत्व र बन्धुत्वको कुरा गर्ने यी दुई साधुहरुवीचमै आपसमा बोलचाल नभएको विषय श्रीराम तारक ब्रम्ह महायज्ञमा पनि प्रष्टरुपमा देखिएको थियो ।

देशकै सर्वाेञ्च पदमा व्यक्ति राष्ट्रपतिको उपस्थितिमा ‘पृथ्वीमा दोस्रोपटक’ महायज्ञ आयोजना हुँदा त्यहाँ बालसन्त सहभागी भएनन् । अब शनिबार हुने अर्धकुम्भमेलामा कृष्णदासजी महाराज सहभागी हुन्छन्, हुँदैनन्, हेर्न बाँकी छ ।

आपसमा बोलचाल नभएको तथा सरकारी स्रोत साधनलाई आफ्नो पक्षमा पार्न सफल हुँदै आएता पनि यी दुबै धार्मिक अगुवाहरुले ओझेलमा रहेको चतरालाई चिनाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको स्थानीय बताउँछन् । भौगोलिक विकटताका कारण ओझेलमा परेको चतराको भौतिक विकासमा पनि बालसन्त र कृष्णदासजीकै अगुवाइमा भइरहेको स्थानीय बताउँछन् । तर, पछिल्लो समय दुई अभियन्तावीचको सम्बन्ध चिसिएको स्थानीयको भनाइ छ । उनीहरुले सुनसरीमा सरकारी जग्गा अतिक्रमण गरेको आरोप पनि कतिपय लगाउने गरेका छन् ।

जे होस्, चतराधामका यी दुबै साधुहरु कति शक्तिशाली छन् भने एकजनाले राष्ट्रपतिलाई हेलिकोप्टर चढाएर चतारा झिकाउन सफल भएका थिए । अर्का साधुले त झनै प्रदेश सरकारलाई नै आयोजक बनाएर कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै चतरामा झिकाउन सफलता पाएका छन् । र, धार्मिक मेलामा प्रदेश सरकारको ढुकुटीबाट ५० लाख रुपैयाँ छुट्याउन सफल भएका छन् । । अघिल्लो मेलामा सरकारी खर्च कति भयो भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment