Comments Add Comment

स्पिनिङ पिचमा किन चल्न सकेन सन्दीपको जादु ?

२२ चैत, काठमाडौं । सनराइजर्स हैदरावाद विरुद्धको हिजोको म्याचमा दिल्ली क्यापिटलले नेपाली स्पिनर सन्दीप लामिछानेबाट ठूलो आशा गरेको थियो ।

अघिल्लो म्याचमा नाटकीय रुपमा पराजय व्यहोरेको दिल्लीलाई यस आईपीएलमा दोस्रो जित दिलाउन उनको भूमिका महत्वपूर्ण हुने दिल्लीका फ्यानहरुले पनि विश्वास गरेका थिए । तर, सन्दीप यसपाली चुकेका छन् ।

टि–२० म्याचमा चार ओभरमा ३२ रन दिएर एक विकेट लिनु आफैंमा खराब प्रदर्शन होइन । तर, स्पिनिङ पीचमा सन्दीपबाट जे अपेक्षा गरिएको थियो त्यसमा उनी खरो उत्रिन सकेनन् । म्याचको परिस्थितिले योभन्दा कसिलो र धारिलो बलिङको माग गथ्र्यो ।

दिल्लीको फिराज शाह कोटला रंगशालाको पीचले परम्परागतरुपमै स्पिन बलरलाई सहयोग गर्छ । त्यसैले दुवै टिमले आफ्नो बलिङ आक्रमणमा दुई स्पिनर समावेश गरेका थिए । सन राइजर्ससँग अफगानिस्तानका विश्वप्रख्यात स्पिनर रसिद खान र मोहम्मद नाबी थिए भने दिल्लीसँग सन्दीप र अक्षर पटेलका साथै राहुल टेबटिया पनि थिए । म्याचलाई रसिद भर्सेस सन्दीपको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको थियो ।

टस जितेर हैदराबादले फिल्डिङ रोज्यो । कठिन पीचमा दिल्लीका ब्याट्सम्यानहरुले सुरुदेखि नै खुलेर खेल्न सकेनन् । उनीहरुले हरेक रनका लागि संघर्ष गर्नुप¥यो । जेनतेन दिल्लीले १ सय ३० रनको लक्ष्य खडा गर्न सफल भयो । दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ४१ बलमा ४३ रन बनाए भने नवौं नम्बरमा आएका अक्षर पटेलले १३ बलमा २३ रनको योगदान गर्दै टिमको स्कोर उकास्न मद्दत गरे ।

१ सय ३० रनको लक्ष्य झिनो भए पनि पीचको अवस्था र दिल्लीको बलिङ आक्रमण हेर्दा त्यो चुनौतिपूर्ण हुन सक्ने मानिएको थियो । दिल्लीले विकेटको आशामा पहिलो ओभरमा नै सन्दीपलाई बलिङ गर्न पठायो । उत्कृष्ट फर्ममा रहेका हैदराबादका ओपनरहरु दिल्लीका लागि सबैभन्दा ठूलो चुनौती थिए । सन्दीपले अघिल्लो चार बलमा एक रन मात्रै खर्चिए तर पाचौं बलमा जोनी बेरिस्टोले स्वीप गर्दै चौका प्रहार गरे । यसले सन्दीपको लय बिग्रियो ।

आफ्नो दोस्रो ओभरमा सन्दीप महंगो सावित भए । ओभरको पहिलो बलमा सन्दीपको टाउकोमाथिबाट बेरिस्टोले छक्का प्रहार गरे भने दोस्रो बलमा फेरि स्लग गरेर चौका हाने । ओभरको पाचौं बलमा डेभिड वार्नरविरुद्ध सन्दीपले एलबिडब्लुको कडा अपिल गरे, तर अम्पायरले दिएनन् । विकेट किपर रिसभ पन्त पनि कन्भिन्स्ड थिएनन्, तर सन्दीपले कप्तान ऐयरलाई रिभ्यूका लागि मनाए । रिभ्यूमा बल आउटसाइड लेगमा पिच भएको देखियो र वार्नर जोगिए ।

अर्कोतर्फ दिल्लीका भारतीय स्पिनर अक्षर पटेलले निकै कसिलो बलिङ गरेका थिए । दोस्रो ओभरमा उनले एक रन मात्र खर्चेका थिए भने एउटा क्याच ड्रप भएको थियो ।

दोस्रो ओभरमा असफल भएका सन्दीप नवौं ओभरमा पुन बलिङमा आए । यतिबेला हैदराबादलाई जितका लागि ७२ बलमा ६२ रन मात्र चाहिएको थियो । सन्दीपले यो ओभरमा पाँच रन मात्र दिए तर विकेट लिन सकेनन् । त्यसपछि सन्दीप १६ औं ओभरमा आफ्नो अन्तिम ओभर फ्याक्न आउँदा हैदराबाद जितको नजिक पुगिसकेको थिए । आफ्नो अन्तिम बलमा सन्दीपले एक विकेट लिए, जुन उनका लागि सान्त्वनाको रुपमा रह्यो । त्यतिबेला हैदराबादलाई २४ बलमा १९ रन मात्रै चाहिएको थियो । अघिल्लो म्याचमा लगभग यही स्थितिबाट दिल्लीले जित गुमाएको थियो । तर, हैदराबादले त्यो गल्ति गरेन । युसुफ पठान र मोहम्मद नाबीले हैदराबादलाई जितसम्म पु¥याए ।

हिजोको म्याचमा दुवै टिमका गरी पाँच स्पिनरले बलिङ गरेकोमा सन्दीप सबैभन्दा महंगा बनेका थिए । हैदराबादका स्पिनर नाबी र रसिदले ४–४ ओभरमा क्रमशः २१ र १८ रन मात्रै खर्चिए । नाबीले दुई र रसिदले एक विकेट लिए । यसैगरी दिल्लीका अक्षर पटेलले ४ ओभरमा १८ र राहुल टेबटियाले २ ओभरमा १० रन मात्रै खर्चिए । दुवैले एक–एक विकेट लिएका थिए ।

हिजोको प्रदर्शनपछि सन्दीपले अर्को म्याचमा मौका नपाउने हुन् कि भन्ने संशय पैदा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment