News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियाको वायुमास ओभलमा शुक्रबार हुने एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई उपाधिसँगै एसिया कप टिकटका लागि भिड्दै छन्।
- मौसम पूर्वानुमानअनुसार खेलको दिन बिहानदेखि हल्का वर्षा र दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाले फाइनल प्रभावित हुन सक्छ।
- एसीसीको नियममा फाइनलका लागि रिजर्भ डे नरहेकाले खेल रोकिए वा पूरा नभए समूह चरणको प्रदर्शनका आधारमा यूएई विजेता घोषणा गरिनेछ।
- यूएई समूह 'बी' मा चारै खेल जितेर अपराजित रहँदै फाइनल पुगेको हो भने नेपाल समूह 'ए' मा चार जित र एक हारसहित फाइनल पुगेको हो।
२६ भदौ, काठमाडौं । मलेसियाको वायुमास ओभलमा शुक्रबार हुने एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई उपाधिसँगै एसिया कप टिकटका लागि भिड्दै छन् । तर दुवै टोलीको सबैभन्दा ठूलो चुनौती प्रतिद्वन्द्वी होइन, वर्षा बन्न सक्ने देखिएको छ ।
नेपाल र यूएईबीचको खेल स्थानीय समयअनुसार विहान ९:३० बजेदेखि सुरु हुनेछ । सुरुवाती समयमा मौसम ठीकठाक देखिएपनि ११ बजेदेखि वर्षाको सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमानअनुसार खेल हुने दिन बिहानदेखि हल्का वर्षा र दिनभर मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । तापक्रम २५ देखि ३४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ भने दिउँसो वर्षाको जोखिम उच्च रहने देखिएको छ ।
एसीसीको प्रतियोगिता नियमावलीअनुसार फाइनलका लागि कुनै रिजर्भ डे राखिएको छैन । त्यसैले वर्षाका कारण खेल सुरु हुन नसके वा नतिजा निकाल्ने गरी पूरा हुन नसके समूह चरणको प्रदर्शनका आधारमा यूएईलाई विजेता घोषणा गरिनेछ ।
यूएईले समूह ‘बी’ मा चारैवटा खेल जितेर अपराजित रूपमा शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्दै फाइनल पुगेको हो । जबकि नेपाल समूह ‘ए’ मा चार जित र एक हारको नतिजा निकालेको थियो ।
नेपालले यसअघि पहिलो संस्करणको प्रिमियर कपमा यूएईलाई नै हराएर उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । यसपटक पनि लक्ष्य त्यही इतिहास दोहोर्याउने भए पनि त्यसका लागि मौसमले साथ दिनु उत्तिकै आवश्यक देखिएको छ ।
एसीसी प्रिमियर कपको एकदिवसीय फर्म्याटको पछिल्लो संस्करण नेपालमै भएको थियो । त्यसबेला भने रिजर्भ डेको प्रावधान थियो । वर्षाका कारण बारम्बार अवरुद्ध भएको खेल भोलिपल्ट त्यही बिन्दुबाट सुरु हुने गरी स्थगित भएको थियो ।
मलेसियामा सेप्टेम्बर महिनामा दिउँसो र साँझतिर वर्षा सामान्य हुने भएकाले खेलको प्रत्येक ओभर महत्त्वपूर्ण बन्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया 4