
२२ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेको छ ।
सैनिकहरुले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेको समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत पनि गरिएको थियो ।
समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडचढी कला देखाइएको थियो ।
त्यस्तै लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस कन्ट्री, पोनी ले डाउन ड्रिल, हंगेरियन पोस्ट र कम्बाइन्ड फायर जम्प पनि प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ । समारोहमा डग शो अन्तर्गत विभिन्न रोमाञ्चक कला पनि प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीमा म्युजिकल राइडमा सहसेनानी राजेश श्रेष्ठ, पहिलो, सहसेनानी अजयजंग सुवेदी दोस्रो भए । शो जम्पमा सिपाही ओमप्रकाश यादव पहिलो र जमदार जगदिश घिसिङ दोस्रो भएका थिए ।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार हस्तान्तरण गरिन् । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु, प्रधानसेनापति, सरकारका सचिवहरु, राजदूत, पूर्वप्रधानसेनापति, विदेशी दूतावासका सैनिक सहचारीलगायत सहभागी भएका थिए ।
टुँडिखेलभित्र सैनिकहरुले घोडामार्फत विभिन्न देखाइरहेको कला सर्वसाधारणले भने टुँडिखेलबाहिरबाट हेरिरहेका थिए । सर्वसाधारणले टुँडिखेलको बार बाहिर भीड लागेर घोडचढी कला हेरिरहेको थियो ।
कोही आकाशेपुल र कोही रुखमा चढेर पनि हेरिरहेका थिए । सर्वसाधारणलाई टुँडिखेल प्रवेशको सहज व्यवस्था नभएका कारण बार बाहिर भीड लागेर हेर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया 4