+
+

पेरिस आक्रमण : घर फर्कँदा ठूल्ठूला विष्फोटहरु सुन्यौं

पेरिस । फ्रान्सको राजधानी भएर पनि पेरिसमा यतिबेला सडकहरु सुनसान छन् । मानिसहरुले सामाजिक सञ्जालमा पेरिसको आकासमा आज भँगेराहरुको आवाज सुनियो भनेर लेखेका छन् भने कतिले पेरिस स्तब्ध हुँदे ब्यूँझियो भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २८ गते १९:५१

अनुराधा पौडेल

 फ्रान्सको राजधानी भएर पनि पेरिसमा यतिबेला सडकहरु सुनसान छन् । मानिसहरुले सामाजिक सञ्जालमा पेरिसको आकासमा आज भँगेराहरुको आवाज सुनियो भनेर लेखेका छन् भने कतिले पेरिस स्तब्ध हुँदै ब्यूँझियो भनेका छन् ।

Paris2

अधिकांश नागरिकहरु टेलिभिजन अगाडि बसेर पछिल्ला विकसीत घटनाक्रमहरु हेरिरहेका छन् भने फ्रान्सका दुर्इ ठूला ब्यवसायिक टेलिभिजनहरु टि एफ वन र फ्रन्स दु ले आफ्ना ब्यवासायिक कार्यक्रमहरु बन्द गरेका छन् र स्पेसल कार्यक्रम भन्दै समाचार र बिज्ञहरु राखेर छलफल प्रत्यक्ष प्रसारण कार्यक्रमहरु दिइरहेका छन् ।

हरेक पटकका टेलिभिजन रिपोर्टहरुमा नयाँ नयाँ दृश्यहरु थपिएका छन् । सबैभन्दा डरलाग्दो दृश्य पेरिसको बाटाकालान् भन्ने कन्सर्ट हलको छ । जहाँ मानिसहरुको भागाभाग र चिच्याहट सुनिन्छ । १५ शय मानिसहरु संगीतको रमाइलो धुनमा रम्दै गरेको बेला त्यहाँ आकस्मिक रुपमा निरन्तर गोली चल्छ ।

कन्सर्ट हलको ढोकामै केहि मानिसहरु ढालिन्छन् । एक महिला झ्यालबाट हाम्फाल्नका लागि झुन्डीएकी छिन् र कोही मानिसहरु घाइते या मृतलाई स्याउला ताने झैँ तानिरहेका छन् । अनि अरु मानिसहरु गुहार माग्दै भागिरहेका छन् । यहि गल्लीमा अप्रेशन हुँदै गर्द रुन्चे मुख लाएका राष्ट्रपतिको एक समूह घटनास्थल पुगेको दृश्य पनि बारबार देखाइएको छ ।

त्यो बाहेक फ्रान्सेली स्टेडियममा मानिसहरु स्टेडियमको बिचमा जम्मा भइरहेको र राष्ट्रपतिले फ्रान्स र जर्मनीको मैत्री पूर्णखेलको मध्यान्तरबाट स्टेडियम छाडेर हिँडेको देखाइरहेका छन् ।

बाटाकालान् रहेको गल्लीमा अहिले प्रहरी र अनुसन्धानकर्मीको भिड छ र अन्त सुनसान छ । प्रहरीले कुनै पनि नागरिकलाई घरबाट बाहिर ननिसक्न अनुरोध गरेको छ । अस्पतालहरुमा घाइतेको भिड छ ।

यस अघिका राष्ट्रपति निकोलास सार्कोजीले संकटको यो घडीमा सबैलाई एक हुन नागरिकहरुसँग अनुरोध गरेका छन् र उनले देश आतंकवादबिरुद्दको युद्दमा होमिएको बताएका छन् ।

Anuradha-paudel
अनुराधा पौडेल

पेरिस घटनामा कुने पनि नेपाली परेको जानकारी अहिले सम्म आएको छैन । मैले भर्खर नेपाली राजदूत अम्बिका लुँइटेललाई फोन गरेकी थिएँ । उनले भनिन्, ‘यतिबेलासम्म कुनै पनि नराम्रो खबर सुनेकी छैन । थुप्रै नेपालीको सम्पर्कमा छु । धेरैले फोन गरेर आफू र आफ्नो परिवार सुरक्षित रहेको खबर गर्नुभएको छ ।’

यसैगरी नेपाली एकता समाजका पूर्व अध्यक्ष तप्प भन्डारीसँग पनि जानकारी लिएकी थिएँ । उनले भने- ‘अहिले सम्म कसैलाई केहि भएको जानकारी मिलेको छैन । तर, हिजोँ स्टेडियममा खेल हेर्न भने केहि नेपालीहरु गएका थिए । उनीहरुले पनि आफूहरु सकुशल फर्केको जानकारी गराएका छन् ।’

तमु समाज पेरीसका सहयोगी लप्सन गुरुङलाई पनि मैले सम्पर्क गरेकी थिएँ । उनले भने-हाम्रो जवान नेपाली समूह सकूसल छ । कतैपनि हताहतीको खबर सुनेको छैन ।’

नेपालीहरुको बाक्लो बस्ती रहेको र अक्सर रेष्टुरेन्ट लाइनमा काम गर्नेहरुको बसोबास रहेको क्षेत्र ला कुर्नभमा बस्ने हरि सापकोटालाई पनि सम्पर्क गरेँ । उनले पनि त्यो क्षेत्रमा बसोबास गर्नेहरु सबै सकुशल रहेको जानकारी दिएका छन् ।

मुख्य दुर्घटनास्थल नजिकै हिजोँ साँझ काम गरिरहरेका तर, फ्रान्सको अर्को दुर्घटना स्थल अर्थात फ्रान्सेली स्टेडियम नजिक बस्ने एक नेपाली जवान महेश कँडेलसँग मैले कुरा गरेकी थिएँ । उनले भने-उता (कन्सर्ट भइरहेको ठाउँ) तर्फ हा हु हुन थाल्यो । पुलिसहरु सडकमा देखिन थालेपछि साहुले रेष्टुरेन्ट बन्द गरौँ भने । हामी १० बजे हिँड्दा मेट्रो रोकिइसकेको थिएन । स्टेडियम आइपुग्दा मानिसहरुको भिड थियो र मानिसहरु भित्रै रोकिएका थिए । तर, हामीहरु आरामले घर आइपुग्यौँ ।’

यसैगरी स्टेडियमको ठिक पछाडि बस्ने साबित्री केसीको परिवारलाई फोन गरेकी थिएँ । उनले भनिन-स्टेडियम नजिक बिस्फोट हुँदा हामीहरु नजिकै सडकमा थियौँ । म कामबाट फर्केकी थिएँ र श्रीमान तथा बच्चा मलार्इ लिन रेल स्टेशन आउनुभएको थियो । बच्चाले मुख्य सडकबाट जाउँ भन्दैथियो । तर, खेल भएको कारण मुख्य सडकबाट नहिँडेर भित्री सडकबाट घर फर्कँदा दुर्इ ठूला ठूला बिष्फोटहरु सुन्यौँ ।  ती विष्फोट जस्ता थिएनन्, पटका पट्काएको जस्तो लाग्यो ।

हामी त स्टेडियमभित्र भइरहेको खेल जितेको खुसीयालीमा कसैले पड्का पड्काएको होला भन्यौं । घर आइपुगेर टिभी हेर्दा पो थाहा भयो, त्यो विस्फोट थियो । त्यसपछि यहाँ पुलिस र आकस्मिक सेवाका गाडीहरुको चर्का साइरनहरु सुनिन थाल्यो ।

उता पेरिसको कन्सर्ट हल नजिकै घर भएकी सुमित्रा प्रधानले जुन घटना भयो, त्यो घटना देखेर आफू डरले कामिरहेको र रातभर निन्द्रा नपरेको सुनाइन् ।

जे जति नेपालीहरु सँग मैले कुरा गरेँ, उनीहरु सबैले पेरिसमा घटेको घटना सपना र आश्चयर्जनक जस्तो लागिरहेको बताएका छन् ।

अहिले सम्म १२८ जनाको मृत्यु भएको छ र २०० भन्दा बढी घाइते भएका छन् । अहिले सम्म जम्मा ८ जना आतंककारीहरु मारिएको खबर आएको छ ।

दायस भन्ने इस्लामिक ग्रुपले पेरिस आक्रमणको जिम्मा लिएको छ । एक आतंककारीले गोली हान्दै गर्दा राष्ट्रपति तिमीले सिरियामा जहाज मार्फत आक्रमण गरेका छौं, हामी यहाँ गर्छौँ र यो तिम्रै कारणले भएको हो भनेको कुरा पनि निकै चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?