Comments Add Comment

राज्य हराएको सूचना

राजु पौडेल

डा. गोविन्द केसीको छैठौंपटकको अनसनमा ऐक्यवद्धता प्रकट गर्दै ‘राज्य हराएको सूचना’ भन्ने शीर्षकको कविता मिडियामार्फत् सार्वजनिक गर्दैगर्दा धेरै कुरा लुकाएको आत्मानुभूति भएको थियो । मुलुक नयाँ संविधानको प्रशव वेदनामा हुदाँ एक सीपयुक्त चिकित्सकको जीवन आमरण अनसनको कष्टकर शैयामा छटपटाइरहेको थियो । राज्यको एक सामान्य नागरिकको हैसियतले कविताका ती हरफ कसैप्रति पूर्वाग्रही थिएनन् ।

Raju-Poudelनयाँ सरकारले शिंहदरबार प्रवेश पाएको तीन महिना पनि नबित्दै यस्तो आलेख तयार गर्ने बाध्यता सायद नेपाली नागरिक हुनुको नाताले मेरो नियति दोहिरिएको हुन सक्दछ । म दुःखी त छु यद्यपि, प्रण गर्छुं आज पनि म कसैप्रति पुर्वाग्राही हुनेछैन ।

राज्य के-हो ?

फ्रान्सेली राजा लुइस चौधौंले ‘म नै राज्य हुँ’ भन्ने अभिव्यक्ति सार्वजनिक गरेको शताब्दीऔं बितिसकेको छ । शैक्षिक यात्रामा उनका इतिहास पढेर कक्षा उन्नति गरेका हामी अझै यो विचारको शक्तिलाई व्यवहारमा उतार्न असफलसिद्व हुँदै आएका छौं ।

जति पनि राज्य सफल भएका छन्, ती सबै राज्यका नागरिकमा यो भावना उच्चतम छ । सफल हुन नसकेका हामी अझै यो पुरानो अभिव्यक्तिलाई पल्टाई-पल्टाई स्मरण गर्दैछौँ । ”राज्य मनुष्यको त्यो संस्था हो, जसको कुनै निश्चित भू-भाग हुन्छ र जसमा बहुसंख्यकको ईच्छाअनुसार कार्य गरिन्छ ।” हल्याण्डको यो अभिव्यक्तिसँग नेपालको पछिल्लो अवस्था पटक्कै मेल खाँदैन ।

दिवंगत विद्वान डा. हर्क गुरुङले पटक पटक लेख्नुभएको छ, ‘नागरिकले आफ्नै राज्य नचिन्नु नै नेपालको अभिशाप हो । ‘ प्रथमतः राज्य भनेकै सरकार मात्र हो भन्ने भ्रमबाट मुक्त हुन यी आदर्श वचनले हामीलाई सिकाएका छन् ।

सरकार त्यही हो, जुन बहुसंख्यक नागरिकको आवधिक ईच्छाअनुरुप छानिएका प्रतिनिधिले प्रचलित कानुनद्वारा समाजमा सुव्यवस्था कायम गरिराख्न बल प्रयोगको विधि अपनाउन आधिकारयुक्त हुन्छ । सरकारको शक्ति क्षीण बन्दै जादाँ राज्यको भू-भागभित्र वा बाहिर बस्ने इमान्दार नागरिकको स्वतन्त्रता र राज्यको अस्तित्वमा एकसाथ खतरा उत्पन्न हुन्छ । तसर्थ, राज्य सामुहिक हित रक्षाका निम्ति निश्चित भू-भागमा रहने जिम्मेवार नागरिकको समूह कल्पना गरिएको मानवीय समुदाय हो ।

मधेसमा सय दिने आन्दोलन

मधेसमा जारी आन्दोलनले झन्डै सय दिनको श्रृंखला पार गर्न थालेको छ । इतिहासमै पहिलोपटक देशको मूल कानुन संबिधान मधेसको पक्षमा लचिलो हुने पूर्वसन्ध्यामा शुरु भएको आन्दोलन अझै मथ्थर भएको छैन । सम्भवतः नेपालको इतिहासमा यति लामो आत्मघाती आन्दोलन भएको थिएन ।

कतिपय यस्ता विषय हुन्छन्, जुन प्रत्याभूति भएका अधिकारको व्यवहारिक प्रयोगबाट मात्र ठीक/बेठीक र उपयुक्त/अनुपयुक्त छुट्टयाउन सकिन्छ । देखेको कुरा सबै पाइँदैन, लेखेको कुरा सबै चाहिँदैन पनि । नलेखिएका कतिपय स-साना कुरा खोज्नुपर्ने पनि हुन सक्छ । तर, त्यसका लागि पनि परीक्षण आवश्यक हुन्छ । त्यहाँका नागरिकलाई यस्ता आधारभुत कुराको ज्ञान दिने राज्य कमजोर भयौं हामी । शिक्षाको स्तर त्यहीँ क्षेत्रमा कमजोर छ, अधिकांश घरधुरी रेमिट्यान्समा आश्रति छन् । यस्तोखालको सामाजिक आर्थिक संरचनाले वास्तविक कुरा सजिलै बुझाउन पनि दिँदैन । हुँदाहुँदा जीवन रक्षक औषधी र विद्यालय जस्ता आधारभूत संस्थासमेत खोल्ने समय आन्दोलनकारीको तजबिजमा हुनुपर्छ भन्ने भयो । राज्यको नागरिक हुनुको नाताले योभन्दा बढी हराउने साहस सायदै कसैले जुटाउन सक्ला । मान्छेले काम गरीखाने सडकमा टेन्ट टाँगेर कराउँदैमा हराएको राज्य फिर्ता ल्याउन सकिँदैन ।

राष्ट्र बैंकका पनि आन्दोलन !

देशको अर्थव्यवस्था विगत ३० वर्षयता सबभन्दा अप्ठयारोमा छ । यसको पृष्ठभूमिका विषयमा आम पाठक विज्ञ हुनहुन्छ ।
नेपाल राष्ट्र बैंक वित्तीय सुव्यवस्था र अनुशासन कायम गर्नुपर्ने नियामक निकाय हो । यो देशमा दैनिक सरदर १ सय २५ रुपैयाँमा जीवन निर्वाह गर्ने मान्छेको संख्या ५५ प्रतिशत छ । झन्डै साठी प्रतिशत घरधुरी रेमिट्यान्समा आश्रति छन् । यो निकायको मुख्य जिम्मेवारी त्यस्तो निम्छरो डाटालाई घटाउने हो । बैंक तथा वित्तीय संस्थालाई पुँजी बढाउने वा गाभ्ने-गाभिने चर्को तनाव छ । त्यहाँ कार्यरत कर्मचारीलाई अहिले अजिवको तनावले छोपेको छ । त्यो तनावसँग ती ५५ प्रतिशत नागरिकको तनाव तुलना गरौँ त ?

आकर्षक शैक्षिक ल्याकत भएका मान्छेले काम गर्ने ठाउँमा अप्ठ्यारोमा राज्य हराउँछ ! परिवार र राज्यको सम्पूर्ण आवश्यकता विवेकपूर्ण तथा किफायती ढंगले पूर्ति गर्नुपर्ने अर्थशास्त्रको सामान्य नियम हो । त्यत्रा विद्वान अर्थशास्त्रीहरू जमघट हुने त्यो ठाउँ कठै अब राज्य खोज्न कहाँ जाने ?

किन र कहाँ हराएका छौं हामी ?

सृष्टिको श्रेष्ठ प्राणी मान्छेले सिक्ने हो, सिकाइ माग्ने होइन । त्यसैले सिकाइ अनन्त हुन्छ भनिएको हो । व्यक्ति केन्ऽित अभ्यास नै हाम्रो मुख्य कमजोरी हो । निर्णयमा देशको हित हेर्ने हामीलाई बानी परेकै छैन ।

एउटा देशसँगको आयातमा मात्र निर्भर एक भूपरिवेष्ठित राष्ट्रका नागरिक हामी कदम-कदम जोखिममा छौँ । जोखिमको घन्टी हाम्रो घाँटीमा सन् १८१६ देखि नै बाँधिएको छ । ०२७/०४५ साल यसैका अभिव्यक्ति हुन् । पछिल्लो अभिव्यक्तिको टुँगो छैन तसर्थ, राज्य हराएको सूचना टाँग्नु परेको छ ।

देशको जमीनमा उत्पादन हुने वस्तु कच्चापदार्थको रुपमा निर्यात गर्छौं र त्यही वस्तु तयारी उत्पादनका रुपमा उतैबाट आयात गर्छौं । चिसोले वातावरण ठण्डा हुँदै जाँदा देशको राजनीतिक बजार अहिले आत्मनिर्भरताको बहसले तातेको छ । यो परम्परागत अभ्यासले हामीलाई क्षमता विद्यमान भएको वस्तुमा पनि आत्मनिर्भर हुन दिँदै दिँदैन । जति बेचिन्छ, तयारी उत्पादन बेच्दा बस्तुको मूल्य बढी पर्छ र त्यो उत्पादनको श्रम हाम्रो घरयासी हुन्छ भन्ने व्यवसायिक चेतना धेरै पहिलेदेखि नै नेपालमा हराएको हो, जुन आज पर्यन्त हराइरहेको छ । राज्य हराएको सूचना पढेर पहिला यसलाई फिर्ता लिऔं, जुन तत्काल सम्भव छ ।

इन्धनको क्षणिक आत्मनिर्भरताका लागि ग्यालीन-ग्यालीन घरमा भण्डारण क्षमता बढाउँदा जोखिमको पूर्वानुमान गर्ने व्यक्ति र निकाय कमै छन अहिले । स्वविवेकले शासित हुनुपर्ने नागरिक भन्छ, यस्तो बेलामा केको जोखिम ? आफ्नो कर्तव्यपरायणता प्रस्तुत गर्नुपर्ने निकाय भन्छ, यस्तो बेलामा केको निरीक्षण ? केको अनुगमन ? तयारी जवाफ हो यो । सबैको स्वर मिलेको छ यहाँ । भवितव्य परेर आगजनी भयो भने ? अग्नि नियन्त्रक वारुणयन्त्रको लागि सम्भवतः इन्धन अभाव हुनेछ । यस्तो अपि्रय अवस्थाको कल्पना नगरौं तर, विपद घन्टी बजाएर आउँदैन ।

कैयन यात्रुवाहक बसको पछिल्ला दुर्घटनामा मानवीय क्षतीको मुख्य कारण यही नै हो । अहिले सम्भवतः ग्यालीनामा ईन्धन भण्डारण गर्ने सायदै नेपालका कमै घरधुरी होलान् । यो मूलतः सचेत नागरिकको कर्तव्यभित्र पर्दैन । तर, क्षमता भए पनि, नभए पनि यससँग जोडिएका सुविधा मानवीय न्यूनतम आवश्यकताभित्र पर्दै गए । नागरिक राज्यको एक जिम्मेवार अंग अब हराएको राज्य खोज्न कहाँ जाने ?

इन्धन बेच्ने अधिकृत बिक्रेताका तोकिएका ठाउँमा भोटे ताल्चा नखोलेको महिनौं भयो । तर, अफसोच, घरघरमा भण्डारण क्षमता बढेको छ । परल मूल्यभन्दा तीन/चार सय गुणा बढी मुल्यमा खरिद गरिएको उक्त इन्धनमा खपत भएको पैसा कहाँ गएको छ ? यो खोज्ने सरकारले हो, जुन राज्यका हरेक गतिविधिलाई नियन्त्रण गर्ने अख्तियारी प्राप्त निकाय हो ।

मूलतः यस्तो धन फ्रिजयोग्य धन हो जसको समाज बिरोधी क्रियाकलापमा योगदान बढ्दा राज्यको सुब्यवस्था खल्बलिन्छ । अहिले हामीले भोगेको नियति यसैको ज्वलन्त उदाहरण हो । तसर्थ, राज्यसँगसँगै सरकार पनि हराउँदा सिधासाधा नागरिक अभिभावकविहीन बन्न पुगे ।

निष्कर्ष

कहीँ कतै लेख्नुपर्दैन, राज्य खोज्ने जिम्मा हामी सबैको हो । सरकार वा व्यवस्थापनले यसलाई सहजीकरण मात्र गरिदिने हो । भियतनामविरूद्ध अमेरिकाले लगाएको नाकाबन्दीको पृष्ठभूमिबाट नै त्यहाँ गृहयुद्व शुरु भएको हो । सच्चाइहरुको सामना गर्ने इच्छाको अभावमा रोक्न सक्ने प्रर्याप्त कारण हुँदाहुदै पनि विश्वले दोश्रो विश्वयुद्व व्यहोरेको हो । यी नरसंहारका इतिहासले विश्वलाई ठूलो पाठ सिकाएका छन् । राज्यभित्रै आफ्नो स्वराज्य खोज्ने अहंकारबाट हामी सबै मुक्त हुनुपर्छ । राज्य तपाई हामीभित्रै हराएको छ, बिलाएको, पग्लेको छैन । जस्ताको त्यस्तै फिर्ता ल्याउन पहिला आफुले आफ्नो हैसियत र क्षमतालाई बुझ्नुपर्ने हुन्छ, जुन सर्वथा कठीन कार्य हो । यस्तो अप्ठयारो गृहकार्य अहिले नेपाल देश र नेपाली नागरिकलाई आइलागेको छ ।
टिव्टरमाः @rajupaudel44

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment