१२ मंसिर, काठमाडौं । मधेस आन्दोलनलाई सम्बोधन गर्न माग गर्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । नागरिक सञ्जालको ब्यानरमा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी भएका थिए ।
प्रदर्शनमा सहभागीहरुले ‘सरकार कहाँ छ ?’ भन्दै नारा लगाएका थिए । उनीहरुले सरकार र आन्दोलनरत समूहले हत्या हिंसा बन्द गर्नु पर्ने, सार्वजनिक सम्पत्तिको दुरुपयोग र कालोबजारीलाई प्रोत्साहन गर्ने क्रियाकलाप बन्द गर्न माग गरेका छन् ।
माइतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनपछि भएको सभाका वक्ताहरुले जनताले पाएको कष्टका विषयमा सरकार र संसद् मौन वसेको भन्दै आपत्ति जनाए ।
उनीहरुले मधेसवादी दलको आन्दोलन र आन्दोलनलाई कारण देखाएर भारतले गरेको नाकाबन्दीले ग्याँस, पेट्रोल, खाद्यान्न लगायतको अभाव हुँदा आमजनताले भोकभोकै मर्नुपर्ने अवस्था आएपनि सरकार र संसद्ले समस्याको समाधान खोज्न गम्भिरता नदेखाएको आरोप लगाए ।
साथै अभावको नाममा मौलाएको कालोबजारी नियन्त्रण गर्न तथा भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण सम्बन्धी विधेयक तत्काल पारित गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।