- समिक्षा बैठकमा सहभागीहरु । तस्वीर : रासस
१३ मंसिर, इटहरी । गृहमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा सुनसरीको पकलीमा आइतबार पूर्वीतराईका पाँच जिल्लाको सुरक्षास्थितिबारे समीक्षा बैठक बसेको छ । बैठकपछि गृहमन्त्रीले अब पूर्वपश्चिम राजमार्गमा दिउँसै गाडी चल्ने बताएका छन् ।
पूर्वी तराईको सुरक्षा बैठकमा गृहमन्त्री बस्नेत, गृहसचिव नारायण मलेगोका साथै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तका साथै राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेत सहभागी थिए ।
सशस्त्र प्रहरीको बराह बाहिनी पकलीमा आयोजित बैठकमा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेन्द्र प्रसाद नेपाल, पूर्वी पृतनाका पृतनापति उपरथी हरिबहादुर बस्नेत, नेपाल प्रहरीका पूर्वाञ्चल डीआइजी माधव राज जोशी र सशस्त्र प्रहरी पकली बाहिनीका डीआइजी निराकरविक्रम शाह पनि बैठकमा उपस्थित थिए ।
बैठकमा पूर्वी तराईका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका प्रमुख जिल्ला अधिकारीहरुले आ-आफ्नो जिल्लाको सुरक्षा स्थितिबारे रिपोटिङ गरेका थिए ।
भारतसँग झुकिँदैन, अब राजमार्गमा दिउँसै गाडी गुड्छन्’
सुरक्षा समीक्षा बैठकमा सुनसरी आएका गृहमन्त्री बस्नेतले स्थानीय पत्रकारहरुसँग संक्षिप्त कुराकानी गरेका छन् । मन्त्री बस्नेतले भारतसँग नझुक्ने स्पष्ट पार्दै अब राजमार्गमा दिउँसै गाडी चल्ने गरी सुरक्षाको प्रवन्ध गरिने बताए ।
पूर्वी तराईको बैठक सकेर गृहमन्त्री र सुरक्षा अधिकारीहरुको टोली महोत्तरीको बर्दीबास पुगेको छ । त्यहाँ मध्य तराईको सुरक्षास्थितिबारे समीक्षा हुने कार्यक्रम छ ।
प्रतिक्रिया 4