सलमान खान
१७ मंसिर, भैरहवा । सुनौलीका भन्सार एजेन्टहरुले नेपालतर्फ आउने मालबाहक गाडी सहजरुपमा छोड्न माग गर्दै कामकाज बन्द गरेका छन् । भन्सार एजेन्टहरुले दैनिक ४/५ सय गाडी नेपाल पठाउनुपर्ने माग राख्दै काम ठप्प गरेका हुन् ।
उनीहरुले मालवाहक गाडीहरुको कागजी प्रक्रिया मिलाएपछि मात्र नेपालमा मालवाहक गाडी भित्रिने गर्दछ । भन्सार एजेन्टले आन्दोलन सुरु गरेपछि रुपन्देहीको बेलहिया नाकाबाट बिहीबार मालवाहक गाडी नेपाल भित्रिएको छैन ।
मालवाहक गाडीलाई भन्सार पास गर्न भारतीय सुनौली भन्सार र प्रहरीले आपुर्तिकर्तासँग मोटो रकम घुस लिने क्रम तीब्र भएपछि रोकथामका लागि काम बन्द गरेको सुनौली ट्रान्सपोर्ट एण्ड क्लियरिङ एजेन्ट एसोसियसनका अध्यक्ष आरके गुप्ताले अनलाइनखबरलाई बताए ।
‘लाइनमा भएका गाडीहरु क्रमस लाइनले नै जानुपर्ने हो तर यहाँ भन्सार कर्मचारी र प्रहरीले मोटो रकम लिएर लाइनमा नै नभएको गाडीलाई पछाडिबाट अगाडी ल्याएर पास गर्ने गरेका छन्,’ अध्यक्ष गुप्ताले भने-‘नेपालमा अहिले औसतमा दैनिक एक सय मात्र गाडी गइरहेको छ । हाम्रो मागअनुसार दैनिक ४/५ सय गाडी नेपाल जाने हो भने घुस लिने प्रवृत्ति घटेर सबै सहज हुनेछ ।’
नेपालमा दैनिक ४/५ सय गाडी पठाउन सुनौली भन्सार कार्यालय सकरात्मक देखिएपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुनै प्रतिक्रिया नदिएको उनले बताए ।
भन्सार कर्मचारी र प्रहरीले मिलोमतोमा मोटो रकम लिएर लाइनमा पछाडि रहेका र लाइन मै नरहेका गाडीहरुलाई पनि अगाडि ल्याएर नेपाल पठाउने गरेका छन् ।
रक्सौल नाकामा महिनौंदेखि अड्किएका गाडीहरुलाई रि-रुट अनुमित दिएर सुनौली ल्याएर अलपत्र पारिएको छ ।
रि-रुट अनुमती लिएर आएका गाडीहरुसँग ३० हजारदेखि ५० हजार भारतीय रुपैयाँ घुस लिने गरिएको गुप्ताले बताए । त्यसै कारण अन्य गाडीहरु नाकामा नै रोकिएका छन् ।
प्रतिक्रिया 4