Comments Add Comment

आईना बार्का : नेपाली समाजकी ‘ऐना’

वसन्त रानाभाट

केही समय पहिले म आफूले काम गरेर घर फर्कँदा राती १२ बजिसकेको हुन्थ्यो । अरु दिन त भन्न सक्तिन तर शुक्रबार र शनिबारका देखिने दृश्यहरु साह्रै गजवका लाग्थे । प्रायः कलेज भर्खर सुरु गरेका युवा-युवतीहरु बाटामा यति रमाइलो गरेका देखिन्थे कि सायद दुनियाँमा खुशी र मनोरन्जन छ त केवल तिनीहरुलाई मात्र ।

युरोपका प्रायः देशहरुमा युवा युवतीहरु यस्तै प्रचलन देख्दै आएको छु । साँझ भयो, यसो आफ्नो समूह बनेर हिँडडुल, खान पिउनमा नै जोड । बार रेष्टुरेन्टमा गएर धेरै खर्च गरेर मात्र होइन कतै पार्क वा सडक छेउँछाउँ हातमा बियर, चुरोट, रमाइला गफगाफ यस्तै यस्तै । स्कुल, कलेज युनिभर्सिटी व्यस्तै बन्छन् । फेरि काम छ भने इमान्दारीपूर्वक निभाउँछन् । समयमा नै जान्छन् र समयमा नै फर्कन्छन् । तर आफ्नो छुट्टीको समयलाई भने बडो गजवले उपयोग गर्छन् ।

चाहे हप्ता भरी कमाएको दुई दिनमा नै सबै खर्च भएर जाओस्, त्यसको कुनै पर्वाह छैन तर खुशी चाहियो बस् । रमाइलो गर्नु पर्‍यो, साथीभाइसँग बसेर खाएर आनन्द लिनुपर्‍यो ।

Aaina-Barka,-Spain
आईना बार्का

यिनै कुराहरुबाट सुरुवात गर्दैगर्दा, त्यही उमेर समुह की एक स्पेनिस चेली आईना बार्काको बारेमा थप आज केही लेख्न मन लागेको छ । उनको बारेमा यसअघि पनि अनलाइनखबरमा ‘स्पेनकी आईना भन्छिन्-नेपाली बालबालिकाहरुको खुशी नै मेरो सबै थोक हो‘ शीर्षकमा समाचार प्रकाशित भइसेकको छ ।

आईना बार्का अहिले २४ बर्षकी भइन् । नेपाल पुगेर सुस्त मनस्थिति वा मानसिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुका लागि हेटौडा-७ मा दुईकोठे स्कुल खोलेकी छन् । ‘हेटौडाली परिवार’ नामक गैरसरकारी संस्था चलाउँदै १८ जना बालबालिकाहरुलाई ‘आशा’ नामको एक स्कुलमा राखेर पढाउँदै आएकी छन् । योबारे यसअघिको समाचारमा विस्तृतमा उल्लेख छ ।

माथि सुरुवातमा उल्लेख गरे झैँ, हिँड्ने, डुल्ने, खाने, पिउने, रमाइलो गर्ने त्यही उमेर समूह कि र युरोपको परिवेशमा हुर्केकी आईना, आफ्नो कलिलो उमेरमा नै धेरै परोपकारी काम गरेको थाहा पाएपछि निकै अचम्मित बनेको छु । हाम्रा देशका ति फरक प्रकृतिका बालबालिकाहरुका भविष्यको लागि चिन्ता ब्यक्त गर्दै उनीहरुको भविष्यका लागि रातदिन मेहेनत गरेको सुन्दा अचम्म लागेको हो ।

उनकै उमेर समुहका सहेलीहरु यसरी रमाइलोसँग जिन्दगी जिएको देख्दा र आईनाका संघर्षका पलहरु सुन्दा आज केहि कोर्न मन लागेको हो । युरोपकी एउटी युवती आफ्नो सुख सयल सबै छोडेर मेरो देशका बालबालिकाहरुको भविष्यबारे सोचिरहँदा विदेश पलायन भएका म र हामी जस्ता युवाहरुसँग सायद देशले प्रश्न गरिरहेको होला । मनलाई साक्षी राखेर उत्तर लेखुँ भने, म आफूलाई यतिबेला अलि लज्जित महसुस भने गरेको छु । तर बाध्यता, अवस्थाहरु भने आफ्नै ठाउँमा छन् ।

अनलाईनखबरमा आईनाको बारेमा समाचार प्रकाशित भएपछि पनि मैले उनीलाई बार्सिलोनामा तीनपटक भेटिसकेको छु । छोटो समयमा यति धेरैपटक भेटघाट गर्नुको कारण एउटै छ उनले डिसेम्बर ११ तारिख शुक्रबार बार्सिलोनामा आयोजना गर्न लागेको कार्यक्रमलाई कसरी सफल पार्ने भन्नेबारे तयारी गर्न ।

नेपाली समुदायको उपस्थिति कसरी गराउन सकिन्छ ? खासमा आईना को हुन् ? कस्ती रहेछिन् ? राम्रोसँग बुझ्ने र जान्ने अवसर पनि भेटवार्ताले गराइदियो । प्रत्येक भेटमा मसँगै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीको पनि सहभागीता छ ।

भेटको सुरुवातमा उनले भनिन्, ‘मेरो त आजभोलि दिनको ५० भन्दा बढी त फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउन थालेको छ । तपाइँको समाचार पछि धेरैजनाले सम्पर्क पनि गर्नु भएको छ । आशा छ हाम्रो कार्यक्रममा पनि धेरैजना आउनु होला । सायद ४० जति मेरा स्पेनिस साथीभाइ, आफन्तहरु त पक्कै आउनुहुन्छ, नेपालीहरु दाजुभाइ दिदीबहिनीहरु पनि आइदिनु भयो भने अझ राम्रो हुनेथियो ।’

स्कुलका बालबालिकाहरुको कुरा चलीरहँदा भूकम्प र नाकावन्दीको कुरा उठीहाल्यो । आइनाले नेपालमा भूकम्प जाँदा झेल्नु परेको मानसिक तनावलाई हामीबीच जोडिन् । उनको विश्वास र मन देख्दा उनी आईना हैनन्, नेपाली समाज कि ऐना हुन् भन्ने मेरो ठम्याइ छ ।

आफूसँग भएको रकम सकिएपछि २० अप्रिल २०१५ मा आईना स्पेन फर्केकी रहिछन् । अर्थात् नेपालमा विनाशकारी भूकम्प जानुभन्दा ४ दिन अघिसम्म उनी नेपालमा नै थिइन् । स्पेन आएको चार दिनपछि यानिकी २४ अपि्रल बैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो ।

त्यसपछि उनको होस् हवास नै उड्यो । उनको शब्दलाई यहाँ उतार्दा भन्छिन्, ‘म त्यसपछि राम्रोसँग सुत्न सकिन, स्कुल र बालबालिकाहरुको बारेमा धेरै सोचें । टिभीमा देश नै भत्केको देख्दा मन थाम्न सकिनँ । सम्पर्क गर्ने कोशिस गर्दा फोन पनि लागेन ।’

आईनाको हरतवरबाट कोशिस नेपाल फर्कनु नै रहेछ । त्यसैले सबैभन्दा पहिले परिवारमा कुरा राखिन् । तर सबैले उनलाई ‘पागल’ भन्न लागे । अहिले नेपालमा के भइरहेको छ त्यो पनि राम्रोसँग थाहा छैन । पूर्ण क्षतिको विवरण आएको छैन । टेलिभिजनमा भत्केको, पुरिएको देखाइरहेको छ । त्यस्तो बेलामा एक जवान छोरी नेपाल जान्छु भन्दा परिवारमा खैलाबैला हुनु स्वाभाविक पनि थियो ।

बसन्त रानाभाट
बसन्त रानाभाट

मैले आईनालाई सोधें, ‘भूकम्पका बेलामा नेपालीहरु पनि सोच बिचार गरेर अवस्था हेरेर घर पुगेका थिए तर तपाईं परिवारले नजा भन्दाभन्दै पनि किन जाने निर्णय लिएको ?’

आईनाले भनिन्, ‘हेटौडामा खोलिएको स्कुल, त्यहाँका बालबालिका र कर्मचारीहरु सबै मेरा परिवारका सदस्यहरु नै हुन् । मेरो पूर्ण परिबार नेपालमा नै छ । परिवारलाई दुःख पर्दा म समयमा पुग्ने कि नपुग्ने ? यदी म नेपाल भएकाबेला स्पेनमा पनि त्यस्तै भूकम्प गएर ठूलो विपत्ति पर्‍यो भने म तत्काल स्पेन आउने कि नआउने ?’ आईनाले उल्टै मलाई प्रतिप्रश्न गरिन् ।

बैशाख १२ को भूकम्प पछिको ४ दिनपछि आईनाले टिकटको चाँजोपाँचो मिलाउँदै नेपाल फर्केरै छाडिन् । जानुभन्दा अगाडि स्पेनिस साथीभाई कोहि खुशी थिएनन् । त्यसैले कसैसँग कुरा गरिनन् । एक जना नेपाली साथीसँग भेट गरिन् । उनले पनि अवस्था हेरेर निर्णय लेउ भने । सायद आईना नेपाल जाँदै गर्दा उता घुम्न गएका विदेशी पर्यटकहरु भूकम्पबाट आफू बाँचेको महसुस गर्दै आफ्नो घर फर्किएका थिए होला । तर उनी भत्केको नेपाल देख्दै दुःखको सामना तिनै बालबालिकाहरु सँगै बसेर गर्न चाहिन् ।

तर उनी त्योबेलामा आफ्नो बाबाको अनुहारमा एउटा फरक किसिमको डर र रिस देखेकी थिइन् उनले । आईना भन्छिन्, ‘पहिले यस्तो कहिले पनि देखेकी थिइनँ, म जाने नै भएपछि, बाबाको अनुहार अर्कै भएको थियो, कता-कता डराए जस्तै मसँग साह्रै रिसाए जस्तै जन्मेदेखि नै त्योभन्दा पहिले यस्तो अबस्थाको सामना कहिल्यै गरेकी थिइनँ ।’

हाम्रो गफगाफ अब नाकाबन्दी तिर मोडियो । मलाई उनले सोधिन्, नेपाल नगएको कति भयो ?’ भन्न अलि सकस लाग्यो । तर दशै तिहार मनाउन जाने कुरा सुनाएँ । ‘त्यसोभए, हेटौडा स्कुल हेर्न पक्का आउनु होला है,’ आईनाले निम्तो गरिन् ।

बालबालिकाहरुलाई टेम्पोबाट ३५ मिनेट यात्रा गर्दै स्कुलमा ल्याउनुपर्ने रहेछ । ‘टेम्पो चल्ने पेट्रोल पाइँदैन, नाकाबन्दीको समस्या समाधान भएन भने त धेरै गाह्रो छ,’ उनले सुस्केरा हालिन् ।

टेम्पोको पनि छुट्टै ब्यथा छ । क्षमता १२ जनाको तर यात्रा गर्दा २१ जनाले गर्नुपर्ने । ल्याउने र लाने गरी मासिक रुपमा २० हजार रुपैयाँ भाडा बुझाउनुपर्ने रहेछ । यदि दुई टि्रप गर्दै ओसार्‍यो भने फेरि डबल खर्च हुनेभयो । त्यसैले एकैचोटीमा २१ जनाले यात्रा गर्ने रहेछन् । बच्चाहरुलाई टेम्पो भित्र हुलेर आफू झुण्डिएर यात्रा गर्ने गरेको उनले बताइन् । उनले आर्थिक अभाव झेल्दै नेपाली बालबालिकाको शिक्षादिक्षामा समय खर्चिरहेको सुनाइन् । व्यक्तिगत ईच्छा मारेर उनी मेहनत गर्दै स्कुल नै धानिरहेकी छन् ।

Aaina-Barka,-Spain

बिदेशीसँग धेरै पैसा हुन्छ, जे चाह्यो त्यही पूरा गर्न सक्छन् भन्ने हाम्रो आम धारणा छ । तर आईनाका कुरा सुन्दै जाँदा यी सब गलत सावित हुन्छन् । कुराकानीका क्रममा सामान्य परिवारमा जन्मिएकी आईनाले गरेका संघर्ष र नेपालप्रति उनको मायाले कुराकानीको वातावरण भाबुक बनायो ।

नेपालमा हेटौडाली परिवार नामक गैरसरकारी संस्था दर्ता गराएर आशा नामको स्कूल चलाएकी छन् । यो काममा स्पेनिस साथीभाइ आफन्तहरुको सहयोग छ । उनीलाई मासिकरुपमा सहयोग गर्ने करिब १ सय जति सहयोगी रहेछन् ।

दाताको सहयोग

हरेक महिनामा पाँच, दश, पन्ध्र, बीस यूरो गर्दै आफ्नो ईच्छाले सहयोग गरेका रहेछन् । एउटा फारम उपलब्ध रहेछ, आफ्नो बैंकको विवरण भरेपछि महिनैपिच्छे आफूले चाहेको रकम सहयोग गर्न सकिन्छ । तर सहयोग गर्ने दाताहरु परिवर्तन भइरहन्छन् । कसैले बीचैमा नै छाड्ने गरेका पनि छन् ।

आईनाका अनुसार यस्तै सहयोगबाट मासिकरुपमा १ लाख रुपैयाँ जति जम्मा हुन्छ । यही पैसाले हरेक महिना नेपालमा स्कुलको खर्च चलेको छ । उनका अनुसार मासिक रुपमा ७० हजार रुपैयाँ जति स्कुल चलाउन रकम आबश्यक छ ।

यसअघि पनि उनले बिभिन्न कार्यक्रमहरु गरेर रकम संकलन गर्दै आएकी हुन् । हरेक पटक एकै प्रकारका कार्यक्रमहरु गरिरहँदा पनि रकम संकलन हुने सम्भाबना कम हुन्छ । तर पनि कहिल्यै हार मानिनन्, सधैँ सकारात्मक सोचका साथ अगाडि बढी नै रहिन् । कार्यक्रमहरु र साथीभाइहरुको सहयोगबाट नै स्कुल स्थापना गर्न सकेकि हुन् ।

त्यसैले अहिले स्कुलमा १८ जना सुस्तमनस्थिती भएका असाधारण बालबालिकाहरुले शिक्षा पाइरहेका छन् । फिजियोथेरापिष्ट र शिक्षिकाहरु सहित पाँचजना कर्मचारीहरु समेत स्कुलमा रहेका छन् ।

तर स्कुलमा अन्य धेरै बालबालिकाहरु आउन चाहन्छन् । तर स्कुलको क्षमता छैन । त्यसैले आईनाले अहिले झन् ठूलो कदम उठाएकी छन्, अब स्कुलको क्षमता बढाउन अन्य कोठा निर्माण गर्ने । अबलगत्तै नेपाल पुगेर काम थाल्ने आँट गर्दै आईना भन्छिन्, ‘मलाई कसैले रोक्न सक्दैन, न भूकम्पले न त नाकाबन्दीले नै, काम जसरी नि पूरा गर्नु छ । सपना धेरै बाँकी छ, आशा स्कुलमा पढ्न आउन धेरै बालबालिकाहरु इच्छुक छन् ।’

Aaina-Barka,-Spain

आईनाका यति धेरै संघर्षका कथाहरु सुनीरहँदा उनीलाई प्रवासमा रहेका हामी नेपालीहरुलाई खुलेर सहयोग गर्न जरुरी छ । बिशेष गरी दश हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिएको स्पेनको नेपाली समुदायले उनीलाई निरन्तर सहयोग गर्नुपर्छ । उनको स्कुलको सपना १ महिना, १ बर्ष वा केहि बर्षहरुको लागि मात्र होइन ।

हाम्रो दायित्व के ?

आज १ सय जना स्पेनिसले मासिक केहि युरो सहयोग गरेर हरेक महिना स्कुलको खर्च जुटेको छ । तर अब प्रवासमा रहेका हामी सबै नेपालीहरुले पनि उनले गरेको काममा किन साथ नदिने ? हामी देशको स्थिति बिगि्रयो भन्दै हामी प्रवासमा गल्लीमा चिया गफ गर्छौ तर यो घडीमा पनि आˆनो जीवन र भविष्यको कुनै पर्वाह नगरी, हाम्रो गाउँ छिर्ने यी चेलीलाई किन सहयोग नगर्ने ?

आज हामी बेल्जियम, स्पेन, डेनमार्क, पोर्चुगल, जर्मनी जस्ता देशहरुमा यतैको भाषा राम्रो बनाउन सके स्तरीय काम पाइएला भन्दै आफ्नो भविष्य सोचिरहेका बेला यी २४ वर्षीया चेलीले नेपाली गुरु राखेर हेटौडामा कखरा सिक्दै आएकी छन् ।

उनी स्पेनकी आईना हुन् तर नेपाली समाज कि भने ऐना बनेकी छन् । उनको सपनालाई नेपालको कुनै पनि अबस्थाले रोकेको छैन । न भूकम्पले रोकेको छ न त नाकाबन्दीले । त्यसैले सपना पूरा गर्न फेरि नेपाल फर्कँदै छन् । तर अलिकति बोझ हामीले पनि लिने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment