Comments Add Comment

पेरिसडाँडामा वीरमानको वयानः पार्टीभित्रै कमैया भइयो !

२३ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरी पाँच वर्षसम्म अर्काको घरमा कमैया बसेका व्यक्ति हुन् ।

उनले बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा केन्द्रीय समितिको बैठकमा उभिएर भने- ‘कमैया हुँदा मालिकले थोत्रा लुगा दिन्थे, अहिले पार्टीमा पनि यस्तै भयो ।’

Mao-Office

‘हामी थारुहरु तीन ठाउँबाट उत्पीडित छौं,’ कम्युनिष्ट पार्टीको बैठकमा वीरमानले दुखेसो पोखे- ‘हामी सत्ताबाट, पहाडेबाट र मधेसीहरुबाट उत्पीडित थियौं, अहिले पार्टीबाट पनि उत्पीडित भयौं ।’

पाँच वर्षसम्म मालिकले ‘ला, लगा’ भन्दै थोत्रे लुगाहरु दिने गरेको चौधरीले सम्झिए । उनले बैठकमा भने- ‘कमैया हुँदा मालिकले थोत्रा लुगा दिन्थ्यो, अहिले पार्टीले पनि त्यस्तै गर्‍यो, भएको मन्त्री पद अरुलाई दिने, हामीलाई चाँहि राज्यमन्त्रीको लोभ देखाउने ?’

कैलालीको थारुलाई मन्त्री बनाऔं: लेखराज

एकीकृत नेकपा माओवादीका केन्द्रीय नेता लेखराज भट्टले एमाओवादीका तर्फबाट सरकारमा सहभागी एकजना मन्त्रीलाई हटाएर कैलालीको थारुलाई मन्त्री बनाउन माग गरेका छन् ।

अघिल्लो सातादेखि पार्टी मुख्यालयमा जारी एमाओवादी केन्द्रीय समितिको बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रममा भट्टले यस्तो माग राखेका हुन् । बुधबार दिउँसो बैठकमा बोल्दै नेता भट्टले भने- ‘एकजना मन्त्रीलाई फिर्ता कोलाउनुपर्‍यो र कैलालीको थारुलाई मन्त्री बनाउनुपर्‍यो ।’

बैठकमा बोल्दै नेता भट्टले सबै मानिसहरु निजत्वतर्फ गइरहेकाले सामुहिक श्रम र उत्पादन बढाउने कुरा सम्भव नहुने बताए । उनले जातीय पहिचानको पनि आलोचना गरे ।

नेताको मासिक खर्च सार्वजनिक गर: विष्ट

बैठकमा बोल्दै अर्का नेता लोकेन्द्र विष्ट मगरले केन्द्रीय पदाधिकारीको मासिक खर्च कसरी चलिरहेको छ भन्ने कुरा पारदर्शी हुनुपर्ने भन्दै मासिकरुपमा खर्च विवरण सार्वजनिक गरिनुपर्ने माग गरे ।

केही समय पहिले पार्टीमा राजीनामा बुझाएर जिल्लामा कालो धान रोप्न गएका विष्टले बैठकको सुरुका दिन स्पष्टीकरण दिँदै पार्टीमा फर्किएको बताएका थिए । बुधबारको बैठकमा बिष्टले प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गरे ।

पार्टी रुपान्तरण हैन सारान्तरण गर्नुपर्ने विष्टले बैठकमा बताए ।  ‘नेतृत्व हस्तान्तरण गर्ने भन्नुहुन्छ, के नेतृत्व भनेको प्रालि हो र हस्तान्तरण गर्ने ?’ विष्टले बैठकमा भने- कञ्चटमा पेस्तोल राखेर नेतृत्वलाई धम्क्याउन पाइँदैन । अन्तरसंघर्ष हुँदा काट्न खोज्ने र मिल्दा विलीन भएँ भन्ने तरिका ठीक होइन ।’

तथ्यका आधारमा नेपाली समाजको वर्ग विश्लेषण गरिनुपर्ने विष्टले बताए । साथै प्रचण्डले ल्याएको आचार संहिता आवश्यक नरहेको भन्दै विष्टले पार्टी विधान पालना गरेर अघि बढ्नुपर्ने बताए । मोहन वैद्य लगायतका समूहसँगको एकताबारे विष्टले व्यंग्य गर्दै भने-‘झोंक मानेर पोइल गएँ, शोक मानेर फर्की आएँ भनेजस्तो एकता नगरियोस्, सिङ जुरोसहित गरिने पार्टी एकताको काम छैन ।’

माओवादीभित्रको पुरानो टीमले अब काम नदिने विष्टले बताए । ‘जनयुद्धको क्रिमलाई फाल्नुपर्छ,’ विष्टले बैठकमा भने-‘क्रिम धेरै बाक्लो भयो, त्यसलाई फालेर तल छोपिएको दूध निकाल्नुपर्छ ।’

प्रचण्डको प्रतिवेदनमा अन्तरराष्ट्रिय परिस्थितिबारे विश्लेषण नगरिएको र राष्ट्रिय परिस्थितिका बारेमा पनि विश्लेषण नभएको भन्दै विष्टले आलोचना गरे ।

प्रचण्डपथ चाहियो: झक्कू

बुधबारको बैठकका अर्का वक्ता झक्कु सुवेदीले भने प्रचण्डपथ नमानेका कारण आफूले चुनाव हारेको बताउँदै प्रश्न गरे-‘प्रचण्डपथ प्रचण्डपथ किन काटियो ?’

अहिले पार्टीमा विचारको कुनै समस्या नभएको भन्दै सुवेदीले त्यसलाई लागू गर्ने विधिमा मात्रै समस्या रहेको दाबी गरे । उनले बैठकमा भने- ‘प्रचण्डपथ नहटाऔं, यसमा बहस गरौं ।’

प्रचण्डपथ नहट्दासम्म पार्टीले चुनाव जितेको र प्रचण्डपथ हटाएपछि हारेको पूर्वसभासद सुवेदीले तर्क गरे । यसअघिको बैठकमा मजदुर नेता शालिकराम जमरकट्टेलले पनि सुवेदीले जस्तै प्रचण्डपथ नहटाउन माग गरेका थिए ।

बोर्डिङ नपढाउने भन्दा कुटाइ खाइएला: गहतराज

नेताका छोराछोरीलाई निजी विद्यालयमा नपढाउने भन्ने प्रचण्डको प्रतिवेदनमा उल्लेखित प्रशंगको केन्द्रीय सदस्य महेश्वर गहतराजले आलोचना गरे ।

‘बोर्डिङमा छोराछोरीलाई पढाउन रोक्ने भन्दै घरमा पुग्दा आफ्नै छोरोछोरीले गोदलान् भन्ने डर भयो,’ गहतराजले बैठकमा भने,’ हामीलाई राम्रो शिक्षा पनि नदिने भनेर छोरोछोरीले प्रश्न गरे भने के हामीले जवाफ दिने ?’

बैठकमा बोल्दै गहतराजले पार्टीभित्र बाहुनवाद, विष्टवाद र अभिजातवाद बढेको तर्क गरे ।

बुधबारको बैठकमा केशव ढुंगाना, पेशल खतिवडा, टंक आङबुहाङ लगायतका नेताले बोलेका थिए ।  प्रचण्डको दस्तावेजमा एक सातादेखि केन्द्रीय सदस्यहरुले टिप्पणी गरिहेका छन् । यो क्रम अझै दुई दिनसम्म चल्ने एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment