Comments Add Comment

‘सुनकली’लाई पाँच हजार डलरसहित दुई अन्तर्राष्ट्रिय अवार्ड

sunkali
नेपाली डकुमेन्ट्री ‘सुनकली’लाई युएइको आवुदाबी र स्पेनको विल्वाओमा छुट्टाटुट्टै दुइ वटा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।
यही आइतबार अपरान्ह स्पेनको विल्वाओ शहरमा आयोजित मेन्डी फिल्म फेस्टिबलमा ‘सुनकली’ लाई ‘नेचर एण्ड कल्चर’ विधामा उत्कृष्ट फिल्मको ट्रफी दिइएको हो । पुरस्कार वितरण समारोहमा सुनकलीका निर्देशकको एक मिनेट लामो शुभकामना भिडियो सन्देश प्रर्दशनी गरिएको थियो ।

११–२० डिसेम्बरसम्म चलेको मेन्डी फिल्म फेस्टिबलमा ‘सुनकली’को दुइटा शो स्क्रिनिङ गरिएको थियो । फेस्टिबलको अन्तिममा सुनकलीसहित विभिन्न विधामा उत्कृष्ट भएका सात वटा फिल्मको पुनः प्रर्दशनीसमेत गरिएको थियो ।

यसैबीच, खेल पत्रकारहरुको विश्वव्यापी छाता संगठन (एआईपीएस)ले वर्षभरिका खेलसँग सम्बन्धित विभिन्न विधामा उत्पादन गरिएका उत्कृष्ट समाचार तथा डकुमेन्ट्रीलाई पुरस्कृत गर्नेक्रममा नेपालको ‘सुनकली’ डकुमेन्ट्रीलाई पाँच हजार अमेरिकी डलर राशीको पुरस्कार हात परेको छ ।
गत बुधबार युएईको राजधानी आबुधाबीमा सम्पन्न विशेष पुरस्कार वितरण समारोहमा सुनकलीलाई डकुमेन्ट्री विधामा तेस्रो पुरस्कार दिइएको हो । उक्त प्रतिष्पर्धामा २० वर्षदेखि डोपिङमा रिसर्च गरी बनाइएको जर्मनीको डकुमेन्ट्री ‘डोपिङः टप सेक्रेट’ लाई १० हजार अमेरिकी डलरसहित ट्रफी प्रदान गरिएको थियो । त्यसैगरी, सोही विधामा दोस्रो भएको इटलीको ‘हेयसल’ डकुमेन्ट्रीलाई पाँच हजार अमेरिकी डलरसहित प्रमाणपत्र दिइएको थियो ।

आबुदाबी मिडिया हबले प्रायोजन गरेको उक्त पुरस्कार समारोहमा झण्डै ६ सय बढी डकुमेन्ट्रीले प्रतिष्पर्धा गरेका थिए, जसमा आयोजकले टप १० को पहिलो लिष्ट सार्वजनिक गरिएको थियो । त्यसपछि आयोजकले ‘फाइनलिष्ट टप थ्री’ का निर्देशकहरुलाई आबुदाबी बोलाएको थियो ।
‘पुरस्कार वितरणको शैली र तामझाम हेर्दा ओस्कार अवार्ड समारोहझैं लाग्थ्यो, वास्तवमा खेलसँग सम्बन्धित पुरस्कार समारोह यो संसारकै ठूलो मानिने रहेछ,’ आबुधाबी पुगेका सुनकलीका निर्देशक भोजराज भाटले अनुभव सुनाए, ‘नेपाली डकुमेन्ट्रीले विश्वव्यापी प्रतिष्पर्धा गरी तेस्रो स्थानको पुरस्कार पाउँदा निकै गर्व लागेको छ ।’

यसअघि सुनकलीले इटलीको मिलानमा नोभेम्बरमा सम्पन्न खेलसँग सम्बन्धित ३३ औं मिलानो इन्टरनेश्नल फिक्स्ट फिल्म फेस्टिबलमा ‘सुनकली’ले संसारभरका डकुमेन्ट्रीलाई उछिन्दै मुुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको थियो । स्पेन र आबुदाबीमा पाएको दुइटा अवार्ड गरी अहिलेसम्म सुनकलीले १२ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको छ ।

५० मिनेट लामो सुनकली डकुमेन्ट्रीमा पत्रकार भोजराज भाटले १३ वर्षीया सुनकली बुढा र उनकी सहेलीहरुको फुटबल कथालाई उतारेका छन् । निर्देशकका भाटका अनुसार, ‘सुनकली’ मा फुटबललाई केवल माध्यम बनाइएको छ, मुगुको सामाजिक परिवेश, स्थानीय संस्कृति र जनजीवनलाई डकुमेन्ट्रीमा सचित्र प्रस्तुत गरिएको छ ।

गत वर्ष काठमाडौं इन्टरनेश्नल माउण्टेन फिल्म फेस्टिबल ‘किम्फ’ को १२ औं संस्करणको पहिलो ओपनिङका रुपमा ‘सुनकली’ को ‘वल्र्ड प्रिमियर’ भएको थियो । त्यसपछि सुनकलीको झण्डै तीन दर्जन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागिता जनाइसकेको छ । र, अझै एक दर्जनजति अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा प्रर्दशनी हुनेक्रममा छ ।

सम्भवतः नेपाली डकुमेन्ट्रीको इतिहासमा सबैभन्दा बढी अवार्ड पाउने डकुमेन्ट्री सुनकलीको नाम दरिएको छ । ‘सुनकली’मा प्रकाश केसी, जीवन श्रेष्ठ, मनोज महर्जन र निर्देशक भाट स्वयम्ले छायाँकन गरेका थिए । यसको सम्पादन भरत रेग्मीले गरेका हुन् । र, यसको ब्याकग्राउण्ड म्युजिक चर्चित कुटुम्ब व्याण्डले भरेको हो ।

माउण्टेन विधाका फिल्महरु प्रर्दशनी गर्ने संसारकै टप ३ मा गनिने बेलायतको केण्डल माउण्टेन फिल्म फेस्टिबलमा पनि सुनकलीको सात पटक स्क्रिनिङ गरिएको थियो । गत नोभेम्बरमा सम्पन्न अल्जजिरा इन्टरनेश्नल डकुमेन्ट्री फिल्म फेस्टिबलमा सुनकलीलाई ओपनिङ समारोहमा प्रर्दशनी गराइएको थियो ।

निर्देशक भाटका अनुसार, सुनकली बनेको एक वर्षे अवधिमा विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा ब्राण्ड प्रचारप्रसारको लागि प्रर्दशनी गरिएको थियो । ‘हामीले पाएको एक दर्जन पुरस्कार तथा ट्रफीले नेपाली डकुमेन्ट्री पनि अन्तर्राष्ट्रियस्तरको बन्दोरहेछ भन्ने प्रमाणित गरेको छ,’ निर्देशक भाट भन्छन्, ‘अझै पनि डकुमेन्ट्रीको दर्शक एकदमै कम छन्, त्यसैले यसलाई च्यारिटी शोमार्फत् धेरै दर्शकसमक्ष पु¥याउने अबको योजना हो, जसबाट उठेको रकम मुगुका चेलीहरुको वृतिविकासमा खर्चिने लक्ष्य राखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment