+
+
Shares

पैँयू फुल्न थालेपछि यसरी मनाइन्छ उधौली

किराती समुदायको बसोबास रहेको पूर्वी पहाडमा बारीमा पैँयू फुल्न थालेपछि किरात धर्मावलम्बी लिम्बूहरु उँधो अर्थात तराईतिर झर्ने चलन थियो । मंसिरे पूणिर्माको यही समयलाई उनीहरुले उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १० गते ११:३६

local sakela dancer

हिमाल खरेल, झापा

किराती समुदायको बसोबास रहेको पूर्वी पहाडमा बारीमा पैँयू फुल्न थालेपछि किरात धर्मावलम्बी लिम्बूहरु उँधो अर्थात तराईतिर झर्ने चलन थियो । मंसिरे पूर्णिमाको यही समयलाई उनीहरुले उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएका छन् ।

अहिले पूर्वका लिम्बू जातिको यो महान् चाडको उल्लास चलिरहेको छ । पूर्वी नेपालमा धुमधामसाथ मनाइने यो पर्व दुई सातासम्म विविध कार्यक्रम गरी मनाइन्छ ।

प्रकृति पूजक आदिवासी लिम्बु जातिले कृषिमा आधारित जीवनशैली अपनाई आएको र ऋतु परिवर्तनसँगसँगै खेतबारीमा लगाएको अन्नबाली बटुल्ने समयलाई चासोक तङनाम भन्ने गर्दछन् ।

यसलाई न्वागी उत्सव पनि भन्ने गरिएको लिम्बू संस्कृतिबारे जानकारहरु बताउँछन् । लिम्बु संस्कृति अनुसार साम्वा र सिंहफेदाङबाले न्वागी पूजा अर्चना गरेपछि चासोक तङनाम सुरु भएको मानिन्छ ।

rai-girls

नेपाली भाषामा ‘चासोक’ को शाब्दिक अर्थ न्वागी र ‘तङनाम’ को अर्थ चार्डपर्व हुन्छ । चासोक तङनामलाई लिम्बुजातिको पौराणिक मुन्धुममा आधारित मुख्य चाड मानिन्छ ।

पूर्वी नेपालका विभिन्न ठाउँमा चासोक तङनामको रमझममा लिम्बू युवायुवतीको पनि बाक्लो जमघट सुरु हुन्छ । किरात मुन्धुमअनुसार वर्षलाई दुई भागमा बाँडेर पर्व मनाइने गरिएको छ ।

वैशाखे पूर्णिमादेखि मंसिर पूणिर्मासम्म उभौली पर्व र मंसिरे पूर्णिमादेखि वैशाख पूर्णिमासम्म उधौली पर्व भनिन्छ । उभौली पर्वमा तराईतिर गर्मी बढेर माछा, चराचुरुङ्गीसमेतले उँभो लेकतिर बासस्थान सार्ने भएकाले पनि उभौली भनिएको व्यवहारिक भनाइ लिम्बू जातिमा रहँदै आएको छ ।

Limbhu-Girls

त्यस्तै उधौलीका समय लेक वा पहाडतिरको वातावरण चिसो हुने हुँदा त्यहाँका चराचुरुङ्गी मधेसतिर झर्ने गर्छन् । मौसमअनुसार पर्व मनाउने जाति लिम्बू समुदायले प्रकृतिको पूजा गरेर आफ्नो दिनचर्या सम्पन्न गर्ने गर्छन् ।

युवा पुस्तामा आफ्नो मौलिक चाड पर्व र सांस्कृतिक मूल्य मान्यताबारे आकर्षण गराउन साताव्यापी रुपमा यो चाड मनाइन्छ ।

प्रकृतिपूजक लिम्बू जातिको पौराणिक मुन्धुममा आधारित चासोक तङनामको अवसरमा सांस्कृतिक माहोल फेरि एकपटक तातेको छ । चासोक तङनाम भनेको सर्वशक्तिमान मानिएको तागेरा निङवा फुमाङ (प्रकृति)ले दिएको अन्नबाली आफूले सेवन गर्नुभन्दा पहिले प्रकृतिलाई नै अर्पण गर्दै आभार व्यक्त गरेपछि खाने उत्सव हो ।

Sakela-Dance

दुई दशकअघिसम्म चासोक तङनाम लिम्बू जातिले येवा फेदाङवाको पर्याप्तता अनुसार निजीरुपमा मनाउने गर्थे । तर, आधुनिकतासँगै यो चाडलाई समूहमा मनाउने थालिएपछि महत्व झन् बढ्दै गएको छ ।

धार्मिक ग्रन्थ मुन्धुमका अनुसार कृषि युग सुरु हुनुअघि लिम्बूजातिका पूर्खा सावायेत्हाङले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे । काँचो कन्दमूल सेवनका कारण उनीहरु कुपोषण र अन्य रोगको शिकार भए । यस्तो जटिल परिस्थितिबाट मुक्ति पाउन उनीहरुले तागेरा निङवा फुमाङको पूजा आरधाना गर्दै रागव्याधिबाट मुक्ति पाउन अनेक उपायको खोजी गरे ।

निरन्तर खोजी गर्ने क्रममा उनीहरुले प्रकृतिको कृपाबाट पेना माङदक (कोदो), ताक्मा (घैया धान), पारामा (कोदोसँगै फल्ने विरुवा), तुम्री (जुनेलो), साङघामा, लिङघामा र लङवामा लगायत अन्नका बीउबिजन प्राप्त भएको थियो । यो पर्व कृषिकर्मसँग सम्बन्धित छ । बाली भित्र्याउने बेलामा मनाइने यो पर्वले लिम्बू जातिमा विशेष महत्व राख्दछ ।

Sakela, Udhauli

पर्वको अवसरमा लिम्बू युवा सांस्कृतिक पोशाकमा सजिएर साइनो नलाग्नेहरुबीच धाननाच नाच्न व्यस्त हुन्छन् । धान नाच समूहमा नाचिने नाच हो । नाचमा च्याब्रुङको अनिवार्य आवश्यता पर्दछ । जहाँ लिम्बू जातिको बसोबास छ, त्यस क्षेत्रमा साता दिनसम्म नै लिम्बू भेषभुषामा सजिएका के युवा के बृद्ध, अझ भर्खरका केटाकेटी पनि ठूलाजस्तै धान नाच्न हौसिएका हुन्छन् ।

धाननाचसँगै के लाङ (च्याबु्रङ नाच), पकलुम लेप्मा (छेलो हान्ने), थाक थाक्मा (तान बुन्ने), लि आप्मा (गुलेली हान्ने ) प्रतियोगिता पनि उधौलीको अवसरमा गरिन्छ ।

sakela-sili

आफ्नो भाषा, रीतिरिवाज, संस्कार-संस्कृति र धर्मकर्मलाई निरन्तरता दिने क्रममा उधौली पर्वको महत्व र चर्चा झन् बढ्दै गइरहेको छ । पूर्वमा धाननाचको महत्व प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ ।

धरान, धनकुटा, तेह्रथुम, इलाम, फिदिम, ताप्लेजुङ, बिर्तामोड, पाडाजुँगी, शान्तिनगर, मेचीनगर, बाहुनडाँगी, भद्रपुर आदि स्थानमा किरात-लिम्बू सङ्घ-संस्थाको अगुवाइमा उधौली पर्व सम्पन्न हुने गरेका छन् ।

हाक्पारे साम्लो, ख्याली (लिम्बू समुदायले गाउने दोहारी जस्तै एक प्रकारको गीत) गाउँदै एक अर्कामा मायापिरतीका कुरा शब्दमार्फत् व्यक्त गर्ने चलन छ । युवायुवतीबीच एकअर्कामा मन परापर भएमा बिहेसमेत गर्ने सांस्कृतिक प्रचलन छ ।

sakela-naach

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?