+
+
Shares

बधाइ आएपछि बल्ल राज्यमन्त्री बनेको आशंका !

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १० गते १४:२०

१० पुस, काठमाडाैं । तपाई बाटोमा हिँडिरहनुभएको छ र कसैले एक्कासी फोन गरेर ‘बधाइ छ है’ भन्यो भने तपाईको प्रश्न हुनेछ, ‘केको वधाइ हौ ?’ विहीबार बेलुका एमाले सांसद दिनेश यादवलाई यस्तै आपत आइलाग्यो ।

Rajya Mantriप्रधानमन्त्री कार्यालय स्रोतले यादवलगायतका केही नेताहरु राज्यमन्त्रीमा नियुक्त भएको जानकारी दिएपछि सञ्चारकर्मीले यादवलाई टेलिफोन गरेर राज्यमन्त्री बनेको विषयलाई पुष्टि गर्ने प्रयास गरे ।

तर, पत्रकार र शुभचिन्तकले फोन गरेर बधाइ दिएपछि यादवले आश्चर्य व्यक्त गर्दै ‘केको बधाइ’ भन्ने प्रश्न तेस्याए ।

सांसद यादवलाई ‘तपाई राज्यमन्त्री बन्नुभयो’ भनेर सञ्चारकर्मीले सूचना दिएपछि उनले आफू राज्यमन्त्री बनेको अशंका गरे । उनले संशय मिश्रित प्रतिप्रश्न गरे, ‘मेरो नाम पनि राज्यमन्त्रीमा आएको हो र ? क-कसको नाम आयो ? तपाईहरुलाई त पक्कै थाहा छ होला, जानकारी पाउँ न !’

शुक्रवार केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा राज्यमन्त्री नियुक्त भएको भनिएका यादवजस्तै अरु एमाले सांसदहरुलाई आफू राज्यमन्त्री बन्दैछु भन्ने जानकारी थिएन । शुभचिन्तकले बधाइ दिएपछि मात्रै उनीहरुले आफू मन्त्री बनेको हो कि होइन भन्ने विषयमा सोधीखोजी सुरु गरे ।

शुभचिन्तकले बधाइ दिन थालेपछि केही नेताले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरे । तर, प्रधानमन्त्रीका धेरैजसो सल्लाहकार र सचिवालयका मान्छेहरु सम्पर्कमै आउँदैनन्/ आएनन् । सम्पर्कमा आएकाहरुले पनि केही थाहा नभएको बताएपछि राज्यमन्त्रीको बधाइ खाइसकेकाहरु थप अन्योलमा परे ।

प्रधानमन्त्रीको सचिवालयले जस्तै पार्टीका शीर्ष नेताहरुले समेत ‘थाहा छैन’ भनेपछि उनीहरु आधिकारिक सूचना पर्खेर बसे ।

एमालेका तर्फबाट ‘राज्यमन्त्री’ भनेर मञ्जु चौधरी, दीपनारायण साह, नरदेवी पुन, बलवहादुर महत, दिनेशचन्द्र यादव र दामोदर भण्डारीको नाम आए पनि उनीहरुलाई सपथग्रहणका लागि शुक्रबार बिहानसम्म खबर आएन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ६ जना एमाले सांसदहरु राज्यमन्त्रीमा विहीबारै नियुक्त भइसकेका छन् । र, नवनियुक्त राज्यमन्त्रीहरुको सपथ ग्रहण शनिबार हुनेछ । उनीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो पनि शनिवारै लगाइनेछ ।

तर, प्रधानमन्त्रीको सचिवालयले आधिकारिक सूचना प्रवाह नगर्दा अन्यौल भएको एमाले नेताहरुले बताए ।
राज्यमन्त्री नियुक्त भएको भन्ने सुने पनि आफूले कुन मन्त्रालय पाउने भन्ने जानकारी नभएको महोत्तरीबाट निर्वाचित सांसद साहले अनलाइनखबरलाई बताए ।

यसअघि क-कसलाई राज्यमन्त्री बनाउने भन्ने बारेमा प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरुसँग परामर्श गरेका थिए ।

राज्यमन्त्री नियुक्त भएका मध्ये सबैजना पार्टीभित्रको गुटमा केपी ओली समूहका हुन् । माधव नेपाल निकट स्रोतका अनुसार साना दलका नेतालाई मन्त्री बनाउने बारे छलफल भए पनि पार्टीबाट राज्यमन्त्री थप्नेबारे कुनै सहमति भएको थिएन ।

पार्टीका बिभिन्न जिल्ला अधिवेशनमा माधव नेपाल पक्षले जितिरहेका बेला राज्यमन्त्री ६ जना थप्दा एकजना पनि नेपाल पक्षका नपर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेपाल पक्षले यसबारे कुनै प्रतिक्रिया नदिने जनाएको छ । तर, एक पदाधिकारीले भने- केपी ओलीले पार्टी र सरकार कसरी चलाउनुहुँदोरहेछ भन्ने कुरा पार्टी पंक्तिले बुझ्ने मौका पाएको छ, त्योभन्दा यसमा कुनै प्रतिक्रिया जनाउनु आवश्यक छैन ।

राज्यमन्त्री बनाइएकाहरु को हुन् ?

मञ्जु चौधरी

मञ्जु चौधरी एमालेको उदयपुर जिल्ला कमिटी उपाध्यक्ष भइसकेकी महिला नेतृ हुन् । उनी ०७० सालका निर्वाचनमा उदयपूर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । उनलाई थारु र महिला समुदायको प्रतिनिधित्व गराउदै राज्यमन्त्री बनाइएको हो ।

दीपनारायण साह

महोत्तरी क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचित सांसद दीपनारायण साह पनि मधेशी कोटाबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् । सदभावना पार्टीबाट राजनीति गरेका साह एमालेमा प्रवेश गरेर सांसद भएका हुन् । उनी एमालेको जिल्लास्तरीय नेता हुन् ।

नरदेवी पुन

नरदेवी पुन एमालेको वैकल्पिक केन्द्रीय सदस्य र समानुपातिकबाट निर्वाचित सांसद हुन् । एमालेको म्याग्दी जिल्ला प्रमुख हुँदै सानै उमेरदेखि राजनीतिमा लागेकी पुन ४ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै राज्यमन्त्री बनाइएकी हुन् । एमालेबाट यसअघि ४ नम्बर प्रदेशको प्रतिनिधित्व भएको थिएन ।

बलवहादुर महत

जुम्लाका बलवहादुर महत पनि समानुपातिक सांसद हुन् । लामो समयसम्म एमाले जुम्लाको नेतृत्व गरेका महत २०५४ सालमा गाविस अध्यक्ष निर्वाचित भएका थिए । ६ नम्बर प्रदेशबाट पनि कणर्ालीको प्रतिनिधित्व गराउन उनलाई राज्यमन्त्री बनाइएको हो ।

दिनेशचन्द्र यादव

बाँके क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित दिनेशचन्द्र यादव पनि एमालेका पुराना मधेसी नेता हुन् । ०४८ सालदेखि लगातार सांसदमा पराजित हुँदा पनि हरेश नखाएका यादव ०७० सालमा भने निर्वाचित भए । उनलाई पश्चिम तराईको प्रतिनिधित्व गराउन राज्यमन्त्री बनाइएको हो ।

दामोदर भण्डारी

दामोदर भण्डारी सुदूरपश्चिमका प्रभावशाली युवा नेता हुन् । बैतडी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रहेका भण्डारी एमालेको नवौं महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्य पराजित भएका थिए । उनी पनि लामो समय एमालेको जिल्ला नेतृत्व गरेका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?