+
+

राजेन्द्र महतोको ‘भिडियो’ माथि गृहमन्त्रीको आशंका !

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १५ गते १६:०१

Shakti Basnet (6)

१५ पुस, काठमाडौं । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय मानवअधिकार आयोगमा सोमबार बयान दिँदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नेपाली प्रहरीको कुटाइबाट घाइते नभएको दाबी गरे । मन्त्री बस्नेतले यस्तो दाबी गरिरहँदा ‘महतोलाई सडकमा लडाएर प्रहरीले लाठी हानेको’ भिडियो इन्टरनेटमा छ्याप्छ्याप्ती भइसकेको थियो ।

भनेपछि, गृहमन्त्रीले झूठो दाबी गरे कि ? या इन्टरनेटमा फैलिएको भिडियो नै झूठो हो ? घटनाक्रमको विश्लेषण गर्दा गृहमन्त्रीको भनाइ र प्रचारित भिडियो दुबै सत्य हुन सक्ने आधार देखिएका छन् ।

यसरी भयो घटना

नाकाबन्दी कडा बनाउने भन्दै महतो शनिबार वीरगञ्जबाट बिराटनगर पुगेका थिए । जोगबनीबाट केही कार्यकर्ता लिएर नारावाजी गर्दै नेपालतिर आएका उनी रानी भन्सार नाकाको मुखैमा कार्यकर्तासहित धर्ना बसे ।

यसअघि मोर्चाले धर्ना दिँदै आएको ठाउँभन्दा १०० मिटर वरै बसेपछि प्रहरीले उनीहरुलाई हटाउन सामान्य बल प्रयोग गर्‍यो । त्यसपछि दुबै पक्षबीच झडप भयो ।

झडपका क्रममा महतोसहितका दुई-तीन जनालाई केही प्रहरीले घेरेको र एक प्रहरीले लाठी हानेको दृश्य इन्टरनेटमा फैलिएको भिडियो फुटेजमा देखिन्छ ।

भिडियोमा देखिएका व्यक्तिको पोशाकका आधारमा उनी महतो नै हुन् भन्ने अनुमान गर्न सकिए पनि अनुहार चिनिँदैन । उक्त भिडियो फुटेज रानी भन्सारको सीसीटीभीले कैद गरेको बताइन्छ ।

गृहमन्त्री शक्ति बस्नेतले भने उक्त भिडियोको आधिकारिकतामाथि प्रहरीले अध्ययन गरिरहेको अनलाइनखबरलाई बताए ।

‘मैले पनि भिडियो हेरेको छु, तर त्यसमा राजेन्द्र महतोको प्रष्ट अनुहार देखिएको छैन,’ मन्त्री बस्नेतले अनलाइनखबरसित भने, ‘विगतमा पनि धेरै किसिमका नक्कली र भ्रामक भिडियोहरु इन्टरनेटमा भाइरल बनेका उदाहरण छन्, त्यसैले यसको सत्यतामाथि हामी अनुसन्धान गर्दैछौं ।’

भिडियोमा महतोको टाउको वा शरीरमा प्रहरीको लाठी लागेको प्रष्ट देखिएको छैन ।

सो झडपका क्रममा महतोलाई कार्यकर्ताले जोगाएर भारतको जोगवनीतर्फ लगेका थिए । महतोसहित कार्यकर्ताहरु जोगवनीमा पुगेपछि नेपालतर्फ ढुंगा हान्ने क्रम सुरु भयो । तर, विगतको शैली विपरीत यसपटक भारतीय एसएसबीले नै प्रदर्शनकारीलाई त्यहाँ टिक्न दिएन । एसएसबीले लाठीचार्ज गरेपछि उनीहरु भागाभाग भए ।

भारतको जोगवनीतर्फ लागेको करिब आधा घन्टापछि महतोसहित नौ जना घाइतेलाई एम्बुलेन्समा राखेर नेपालतर्फ ल्याइएको गृहमन्त्री बस्नेतको दाबी छ ।

शंकाको आधार

यदि महतो नेपाल प्रहरीकै लाठीबाट घाइते भएका थिए भने किन अस्पताल नगएर भारतको जोगवनीतर्फ गए ? हिँड्दै जोगवनी गएका उनलाई आधा घन्टापछि एम्बुलेन्समा हालेर नेपालतर्फ ल्याइनुले उनले टाउकोमा भारतीय प्रहरीको लाठी लागेको हुन सक्ने सरकारी अधिकारीहरुको आशंका छ ।

रक्सौल नाकामा राजेन्द्र महतो एसएसबीका लागि चिर परिचित भए पनि जोगवनीमा सायद उनी नौला थिए ।

घटनापछि सदभावना पार्टीका महासचिव मनिष सुमनले जारी गरेको विज्ञप्तिमा नेपाल प्रहरीले ताकीताकी लाठी र बुट प्रहार गर्दा महतोको टाउकोमा चोट लागेको उल्लेख गरेका थिए ।

बिराटनगरको गोल्डेन अस्पतालको आइसीयूमा राखिएका महतोलाई जाँचका क्रममा ठूलो चोट भने कतै पनि देखिएन । अस्पतालमा महतोलाई भेटेका अनलाइनखबरकर्मी ध्रुव भट्टराईले डाक्टरलाई उधृत गर्दै जनाएअनुसार टाउकोमा सामान्य डामबाहेक शरीरमा चोटपटक थिएन । सिटीस्क्यानले उनको टाउको पनि सद्दे देखाएको थियो । बरु सुगर र प्रेसरले महतोलाई सताएको चिकित्सकहरुले बताएका थिए ।

तर, के महतो कुनै गम्भीर चोटपटकबिनै टाउकोमा पट्टी बाँधेर सुगर र प्रेसरको उपचार गराइरहेका छन् त ? आखिर भिडियो फुटेजमा भने सेतो कपडामा खूनसमेत आएको देखाइएको थियो ।

गृहमन्त्री शक्ति बस्नेतले मानवअधिकार आयोगमा बयान दिने क्रममा महतोलाई प्रदर्शनकारीले हानेको ढुंगा टाउकोमा लागेको हुन सक्ने बताएका थिए । उनलाई भारतीय प्रहरीले लाठी चार्ज गरेका हुन् या नेपालका प्रहरीले भन्ने स्पष्ट थाहा नभएको गृहमन्त्रीको भनाइ थियो ।

किन डिस्चार्ज भएनन् ?

शरीरमा कुनै गम्भीर चोट नभएका महतोको अवस्था सामान्य छ । तर, उनी गत पाँच दिनदेखि अस्पतालमै छन् । बिराटनगरको गोल्डेन अस्पतालले भने उनलाई तीन दिन अगाडि नै डिस्चार्ज गरिदिएको थियो ।

Rajendra Mahato

स्रोतका अनुसार अस्पतालले डिस्चार्ज गर्दा महतो असन्तुष्ट बनेका थिए । ‘मलाई अझै रिंगटा लागिरहेको छ, यति चाँडै डिस्चार्ज गरिदिने ?’ भन्दै उनले अस्पतालका चिकित्सकलाई महतोले असन्तुष्टि पोखेका थिए ।

डिस्चार्ज भएर बिराटनगरमा बस्न नमिल्ने अवस्था आएपछि महतोले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विपी दासको सहयोग मागेको स्रोत बताउँछ ।

स्वास्थ्यमन्त्री हुँदादेखि दाससित महतोको राम्रो सम्बन्ध थियो । दासले तत्कालै बिराटनगरबाट उनलाई धरानमा झिकाए र भर्ना गरे । त्यसपछि महतो अहिले ढुक्क बनेका छन् । अहिले उनलाई क्याबिनमा सारिएको छ । अझै केही दिन अस्पताल बसाइ लम्ब्याउने महतो र दासको समझदारी छ ।

मंगलबार धरानका केही पत्रकार महतोको अवस्था बुझ्न जाँदा उनले अलास-तलास परेको अभिनय गर्दै बोलीसमेत सानो बनाएको एक पत्रकारले बताए । पत्रकारहरुसित उनी खासै बोल्न मानेनन् । यद्यपि अरुबेला भने उनी आफूलाई भेट्न आउने कार्यकर्ता र अस्पतालका कर्मचारी-नर्सहरुसित सामान्य अवस्थामै गफ गरेर बबस्ने गरेको स्रोतको भनाइ छ ।

अस्पतालबाट डिस्चार्ज हुन महतो अनिच्छुक बन्नुमा सम्भावित कारण यस्ता हुन सक्छन् ।

१. आराम गर्नु । महिनौंदेखिको धर्ना बसाइबाट थाकेका महतोलाई अस्पतालमा थकाइ मार्ने अवसर जुरेको छ ।

२.सुगर र प्रेसरको उपचार गराउनू । उपचार खर्च सरकारले व्यहोर्ने उनको विश्वास छ । आन्दोलनमा प्रहरी दमनका कारण आफ्नो प्रेसर र सुगर बिगि्रएको उनले बताउने गरेका छन् । बिराटनगरका चिकित्सकले पनि सुगर र प्रेसर समान्य अवस्थामा आउन अझै केही दिन लाग्ने बताएका थिए ।

३.महतोको अर्को उद्देश्य हो, आफू अस्पतालमा बसेर आन्दोलन चर्काउनू । प्रहरीको पिटाइले गम्भीर घाइते भएको सन्देश फैलाएर महतो एकातर्फ आन्दोलनकारीलाई उत्तेजित पार्न चाहन्छन् भने अर्कोतर्फ प्रहरीले आन्दोलनकारीमाथि चरम दमन गरेको भनेर बाहिर सन्देश प्रवाह गर्न चाहन्छन् ।

यो पनि पढ्नुस्

नाकामा धर्ना बसेका राजेन्द्र महतो घाइते, मोर्चाका कार्यकर्ता लखेटिए (भिडियोसहित) 

राजेन्द्र महतोको रिपोर्ट : टाउको सामान्य, ब्लड प्रेसरमा सुधार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?