Comments Add Comment

एघार करोडमा रानीपोखरी ठेक्कामा दिने तयारी

Rani Pokhari recontruction (9)

४ माघ, काठमाडौं । तपाईलाई थाहा छ, साढे ३ सय वर्ष पुरानो रानीपोखरीको गहिराइ कति होला ? राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् पुनर्निर्माण महाअभियानको उदघाटन गराउने सरकारलाई नै थाहा छैन रानीपोखरीको गहिराइ !

तर, अब सरकारले ११ करोड खर्च गरेर ठेकेदारमार्फत् रानीपोखरीको पुनर्निर्माण गर्दैछ । यस क्रममा पोखरीको पानी निकालेर खाली गराइने छ, जसले गर्दा यसको गहिराइ सर्वसाधारणले नाङ्गो आँखाले हेर्न पाउनेछन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले रानीपोखरीको गहिराइबारे महानगरपालिकालाई जानकारी नभएको बताए । ‘रानीपोखरी कति गहिरो छ भनेर आजसम्म कसैलाई पनि थाहा छैन,’ तामाङले भने- ‘आठ फिटसम्म गहिरो छ भन्ने चाहिँ सुन्नमा आएको छ ।’

शनिबारमात्रै राष्ट्रपति विद्यादेबी भण्डारीले रानीपोखरीबाट पुनर्निर्माणको महाअभियान सुरु गरेकी थिइन् । गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले रानीपोखरीको बीचमा रहेको बालगोपालको मन्दिरमा क्षति पुगेको थियो । जुन मन्दिर वर्षमा एकदिन भाइटीकामा मात्रै खुल्छ ।

११ करोडमा ठेक्का दिने तयारी

Ranipokhari2

महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण र सुन्दरताका लागि ११ करोड रुपैयाँ खर्च लाग्ने योजना बनाएको तामाङले सुनाए । ‘सबै योजना बनिसकेको छ, ११ करोड रुपैयाँको हाराहारीमा खर्च लाग्ने देखिएको छ’ उनले भने ।

स्थानीय विकास मन्त्रीसमेत रहेका कमल थापाबाट स्वीकृत गराएर बोलपत्र आहृवान गर्ने उनको भनाइ छ । ‘आउँदो शुक्रबारसम्म पुननिर्माणका लागि बोलपत्र आहृवानको सूचना निकालिने छ,’ तामाङले भने । बोलपत्रमा ए ग्रेडका ठेकेदार सहभागी बन्न पाउने छन् । सबैभन्दा कम बोलकबोल गर्ने ठेकेदारलाई पुनर्निमाणको ठेक्का दिइने तामाङले बताए । ‘प्राविधिकरुपमा पनि सबल देखिने गरी कम बोलकबोल गर्नेलाई छनोट गरिने छ,’ उनले भने ।

३ सय वर्षदेखि सफा गरिएको छैन

महानगरका प्रमुख तामाङका अनुसार ३ सय वर्षदेखि रानीपोखरीको सरसफाइ गरिएको छैन । ‘प्रताप मल्ले सन् १६६५ मा बनाएको रानीपोखरीको हालसम्म सफाइ भएको छैन,’ उनले भने- ‘पुनर्निर्माणका क्रममा पूर्णरुपमा सरसफाई पनि गरिने छ ।’

अब महानगरले आगामी केही हप्तामै रानीपोखरीको सफाइ गर्न लागेको छ । रानीपोखरीमा भएको सबै पानी निकालेर सफाइ गरी नयाँ पानी हाल्ने महानगरपालिकाका प्रमुख तामाङले बताए ।

‘रानीपोखरीमा जति पानी हाले पनि टिक्दैन, पक्कै पनि चुहिएकाले पानी नटिकेको हो,’ उनले भने । त्यसैले सबै पानी झिकी कहाँ चुहिँदोरहेछ भनेर महानगरले हेर्न खोजेको उनले बताए ।

यो पनि पढ्नुहोस्

यसरी फेरिँदैछ प्रताप मल्लकालीन रानीपोखरीको मुहार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment