+
+

बंगबन्धु कपमा चम्किएका ५ नेपाली स्टार

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ८ गते २०:३२

८ माघ, काठमाडौं । नेपालले शुक्रबार इतिहास रच्दै २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जित्यो । बहराइनलाई ३-० ले हराउँदै बङ्गबन्धु गोल्डकपको उपाधि जित्दा सबै खेलाडीहरुले आफ्नो भूमिकामाथि न्याय गरेका छन् ।

यो ऐतिहासिक सफलताको श्रेय टीमका हरेक सदस्यलाई जान्छ । फुटबल आफैंमा ‘टीम गेम’ भएकाले सबै सदस्य विजेता हुन् र जितका भागीदार पनि ।

यद्यपि, उनीहरुमध्ये पनि कोही अलि धेरै चम्किए त कोही अलि कम । प्रतियोगीतामा धेरै चम्केका पाँच नेपाली खेलाडीहरु यी हुन्:

१. नवयुग श्रेष्ठ

Nabayug Shrestha

नवयुग श्रेष्ठले लामो समयपछि नेपाली टोलीमा मौका पाए । नेपाली फुटबलमा लामो समयदेखि अनिल गुरुङ, जुमानु राई र सन्तोष साहुखल छाएका थिए । तर, साफ गेमको तयारीका क्रममा जुमानु टीममा परेनन् भने सन्तोष फुटबल छोडेर जापानतिर लागे ।

अनिलले साफ च्याम्पियनसिप त खेले तर, प्रशिक्षक बालगोपाल महर्जनले योपटक साफ गेम्सलाई हेरेर टीम बनाउँदा अनिल पनि अटाएनन् ।

सिनियर स्ट्राइकरको अनुपस्थितिमा नवयुगले स्थान पाए र ऐन मौकामा आफूलाई प्रमाणित पनि गरेर देखाए । आर्मी टिमबाट व्यवसायिक फुटबल खेल्ने उनले सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाट्रिक गरे, जुन आफैंमा रेकर्ड हो । र, उनका तीनवटै गोल दर्शनीय थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा हृयाट्रिक गर्ने नवयूग पाँचौ नेपाली फुटबलर बनेका छन् । फाइनलमा पनि गोल गर्दै उनले सावित गरे कि मालदिभ्सविरुद्धको ह्याट्रिक कागताली मात्रै थिएन । उनी प्रतियोगीताकै उत्कृष्ट फुटबलर र टप स्कोरर पनि बनेका छन् ।

२. बिमल घर्ती मगर

गोल ग
फाइल फोटो

काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि विमल एकाएक हिरो भएका थिए । त्यहि एउटा गोलले उनी फुटबल समर्थकदेखि विदेशी क्लबको नजरमा परे ।

यो बीचमा उनले विदेशी क्लबमा ट्रेनिङ लिने र अभ्यास गर्ने मौका पनि पाए । जसले उनलाई झन् निर्खार्दै गर्यो । उनकै नेतृत्वमा नेपालले यू-१९ साफ च्याम्पियनसिप समेत जितेको थियो ।

बङ्गबन्धु गोल्डकपमा समूह चरणमा नेपालले श्रीलंकालाई १-० ले हरायो । जसमा एक मात्र निर्णायक गोल उनकै बुटबाट निस्किएको थियो । फाइनलमा बहराइनविरुद्ध पनि बिमलले नै पाँचौं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाए । खेलको अन्तिममा नवयुग श्रेष्ठले गरेको हेड गोलमा समेत विमलले नै उत्कृष्ट पास मिलाइलिएका थिए ।

नेपाली फुटबलमा अन्तर्राष्ट्रिय गोलको खडेरी तोड्ने श्रेय पनि यिनै विमललाई जान्छ । साफ च्याम्पियनसिपमा उनले शक्तिशाली भारतविरुद्ध पहिलो गोल निकालेर लामो समयदेखिको खडेरी तोडेका हुन् ।

यद्यपि, सो म्याचमा नेपाल पराजित भएको थियो । १९ वर्षका कलिला विमलले सम्भवतः नेपाली फुटबललाई धेरै थोक दिन बाँकी नै छ ।

३. अन्जन विष्ट

anjan-bista

अन्जन नेपाली टीमले हात पारेको यो सफलताको ‘प्ले मेकर’ हुन् । आफैं गोल गर्न नसके पनि हरेक खेलमा उनको प्रदर्शन लोभलाग्दो रहृयो ।

फाइनलमा नेपालले गरेको दोस्रो गोलमा त उनले मेस्सीको झल्को देखाए । विपक्षी खेलाडी भन्दा निकै टाढा रहेका उनले दौडिएर बल खोसेनन् मात्र, डि-बक्सभित्र एकपछि अर्का खेलाडीलाई छक्याउँदै विशाल राईलाई निकाले । अनमार्क रहेका विशालले जसलाई सहजै त्यसलाई गोलमा परिणत गरिदिए ।

यसअघि बहराइनविरुद्ध बिमलले गरेको गोलमा पनि उनको योगदान छ । कप्तान विराज महर्जनले दिएको पासमा अन्जनले हेड गर्दा गोलकिपरले रोके र रिबाउन्डमा विमलले गोल हाने ।

यू-१९ टोलीबाट पनि अन्जनले नेपालका लागि तारिफयोग्य प्रदर्शन गरेका थिए । यू-१९ मा उनको र विमलको जोडी निकै चम्केको थियो ।

४. विकेश कुथू

Bikesh-Kuthu

बङ्गबन्धु कपमा नेपालले एक खेल पनि नहारिकन च्याम्पियन बन्यो । सेमिफाइनलमा ४ र फाइनलमा ३ सहित नेपालले ८ गोल गर्यो । नेपालको पोष्टमा एक मात्र गोल माल्दिभ्सले गरेको थियो ।

यो प्रदर्शनमा नेपाली गोलरक्षक कुथूको प्रदर्शन उत्कृष्ट रहृयो । मध्यपूर युथ क्लबबाट चर्चामा आएका उनले पछिल्लो समय आर्मीबाट खेल्ने क्रममा राष्ट्रिय लिगमा पनि शानदार प्रदर्शन गरेका थिए ।

यो पटक किरण चेम्जोङको स्थानमा कुथू टीममा परे र उनले आफू नेपालको नम्बर १ गोलकिपर भएको सावित गरिदिए । उनले सेमिफाइनल र फाइनलमा समेत केहि उष्कृष्ट बचाउ गरेका थिए ।

५. र बालगोपाल महर्जन

Blagopal-Maharjan

नेपाली फुटबलले रचेको इतिहासका रचनाकार हुन् बालगोपाल महर्जन । राष्ट्रिय खेलाडी हुँदै प्रशिक्षक बनेका उनले लगातार दुई ठूला उपाधि दिलाए । केहि महिना पहिले यू-१९ साफको उपाधि दिलाएका उनले शुक्रबार ढाकामा अर्को इतिहास रच्दै बङगबन्धु कपको उपाधि जिताए ।

यो उपाधि मात्र थिएन, २३ वर्षपछि नेपाली फुटबलमा फर्किएको खुसी थियो । अझ रोचक त के छ भने नेपालले २३ वर्ष पहिले साफ गेम्समा स्वर्ण जित्दा उनी नेपाली टोलीका सदस्य थिए ।

त्यसबेला बालगोपालसँगै नेपाली टीममा गोलरक्षकको भूमिका रहेका उपेन्द्रमान सिंह अहिले पनि बालगोपालसँगै यो जितको हकदार रहे । उनी अहिले नेपाली टोलीको गोलकिपिङ कोच हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?