Comments Add Comment

विज्ञहरु भन्छन्- संस्थागत सुशासनका लागि बैंकका अध्यक्ष र सीइओको कार्यकाल अनिवार्य

NRB-Photo
पुष्प दुलाल

१२ माघ, काठमाडौं । बैंकका अध्यक्ष तथा संचालकसमेत रहेका सभासदहरुले बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल तोक्नु हुँदैन भनेर तीब्र लविङ गरिरहेका बेला बैंकिङ क्षेत्रका विज्ञहरुले अध्यक्ष र प्रमुख कार्यकारी अकिृतको कार्यकाल तोक्ने प्रस्ताब अत्यन्त्यै ठीक भएको बताएका छन् ।

एकै व्यक्ति लामो समय बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा रहँदा त्यो संस्थाको संस्थागत सुशासनको अवस्था अत्यन्त्यै कमजोर हुने विज्ञहरुको निष्कर्श छ । संस्थागत सुशासनका लागि कार्यकाल तोक्नै पर्ने विज्ञहरुले बताए हुन् ।

‘एकै व्यक्ति लामो समय नेतृत्वमा रहँदा त्यो संस्थाको संस्थागत सुशासनको अवस्था कमजोर हुने भएकाले बैंकमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत २ कार्यकाल मात्रै बस्न पाउने पाउने प्रतावित व्यवस्था अत्यन्त्यै ठीक छ,’ नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय समशेर राणाले मंलबारको संसदीय उपसमितिको बैठकमा भने ।

एक कार्यकालको समयावधि चार वर्षको हुने र कुनैपनि व्यक्तिले आठ वर्षसम्म संस्थाको नेतृत्व गर्न पाउनु उल्लेख्य समय भएको संस्थापक गभर्नर राणाले बताए ।

उपसमितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक २०७२ मा सुझाब लिनका लागि विज्ञहरुलाई बोलाएको थियो । उपसमितिको बैठकमा सहभागि भएको अधिकांस विज्ञहरुले कार्यकाल तोक्नु पर्ने सुझाब दिए ।

अर्थमन्त्री विष्णु पौडेलले गत पुस दोस्रो साता व्यवस्थापिका संसदमा एकैव्यक्ति एकै बैंक तथा वित्तीय संस्थामा दुई कार्यकाल भन्दा बढी अध्यक्ष र सीइओ बस्न नपाउने प्रस्ताब गर्दै विधेयक दर्ता गराएका थिए ।

अर्थमन्त्रीको उक्त प्रस्ताबको बैंकर, व्यवसायी र बैंकका अध्यक्ष तथा सञ्चालक समेत रहेका सांसदहरुले तीब्र आलोचना गर्दै आएका छन् ।

केही सांसदहरुले विधेयकमा प्रस्ताब गरिएको दुई कार्यकाल राख्ने प्रस्ता खारेज गर्नुपर्ने माग गर्दै संसोधन प्रस्ताब समेत दर्ता गराएका छन् । संसदको फुल हाउसले गत पुस २२ गते बाफियाको बिधेयकमाथि आवश्यक छलफल गरी प्रतिवेदन पेस गर्न अर्थ समितिलाई जिम्मा दिएको छ ।

अर्थ समितिले पहिलो चरणको छलफल गरेर कांग्रेस सांसद दिपक कुइाकेलको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिमा सिभल बैंकका अध्यक्षसमेत रहेका सांसद इच्छाराज तामाङ पनि सदस्य छन् । उनी अध्यक्ष र सीइओको कार्यकाल तोक्न नहुनेभन्दै तीब्र लबिङ गरिरहेका छन् । उपसमितिले सबै सरोकारवालासँग विधेयकमाथि गहन छलफल गरिरहेको छ ।

बैंकर र निजी क्षेत्रसँग आइतबार छलफल गरेको छलफल गरेको उपसमितिले मंगलबार भने बैंकिङ क्षेत्रका विज्ञहरुसँग छलफल गरेको हो ।

कार्यकाल तोक्नै पर्छ : रामेश्वर खनाल

उपसमितिको छलफलमा पूर्वअर्थसचिव रामेश्वर खनालले एकै व्यक्ति लामो समयसम्म संस्थाको  नेतृत्वमा रहँदा संस्थागत सुशासन कमजोर भएको उदाहारण नै प्रस्तु गरे । ‘अकेरिकामा २००८ को अक्टोबर ५ गते बेलुका अत्यन्त्यै राम्रो भनिएको बैंक ६ गते बिहान एकाएक डुब्यो, जसले विश्वभरको बैंकिङ क्षेत्रमा समस्या उत्पन्न गर्‍यो,’ खनालले भने- ‘त्यो बैंकमा पनि एकै व्यक्ति लामो समयसम्म नेतृत्वतहमा बसेकै कारणले डुबेको हो ।’

बैंकिङ क्षेत्र अन्य क्षेत्रभन्दा निकै संवेदनशील र जनविश्वास भएमात्र चल्न सक्ने क्षेत्र भएकाले जनताको विश्वास जोगाइराख्न भएपनि संस्थागत अपरिहार्य भएको उनले बताए ।

अन्य व्यवसाय डुब्दा त्यसमा लगानी गर्ने व्यक्तिलाई मात्रै असर गर्ने तर बैंक डुब्दा निक्षेपकर्तालाई पनि असर गर्ने भएकाले अन्य व्यवसायकोजस्तो टि्रट बैंकिङ व्यवसायलाई गर्न नहुने खनालको धारणा छ ।

‘बैंकहरु सर्वसाधारणको निक्षेप लिएर सञ्चालित हुन्छन्, त्यसैले यो क्षेत्रमा हदैसम्मको संस्थागत सुशासन हुनु पर्छ,’ उनले भने- ‘त्यसकारण अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत २ कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था ठीक छ ।’

एकै व्यक्ति लामो समयसम्म बसे बिकृति : पृथ्वीराज लिगल

त्यस्तै, पूर्व गभर्नर पृथ्वीराज लिगलले राष्ट्र बैंकको नियमन अझ प्रधावकारी बनाउन सके वित्तीय अपराध नियन्त्रण गर्न सकिने धारणा राखे । वित्तीय क्षेत्रमा सुशासन कायम गर्नका लागि एकै व्यक्तिलाई लामो समयसम्म बैंक तथा वित्तीय संस्थाहरुको नेतृत्व गर्न दिनु नहुने लिगलले बताए ।

‘एकै व्यक्ति एउटा संस्थामा २ कार्यकालभन्दा बढी बस्यो भने अनेकौ विकृतिहरु देखा पर्छन्’ उनले भने- ‘त्यसैले कार्यकाल तोक्ने प्रस्ताब ठीक छ ।’

उनले सुशासन कायम राख्नका लागि एकै व्यक्तिलाई एकभन्दा बढी संस्थामा उल्लेख्यमात्रामा लगानी गर्न रोक लगाउनुपर्ने व्यवस्था गर्नसमेत माग गरे । त्यसैगरी, नयाँ बैंकले इजाजत लिएर कति समयसम्ममा सञ्चालनमा आइसक्नुपर्ने र सञ्चालनमा आउँदासम्म कति रकम मात्रै खर्च गर्न पाउने भनेर पनि राष्ट्र बैंकले तोकिदिनुपर्ने बताए ।

काम गर्ने मान्छेलाई २ कार्यकाल नै पर्याप्त : रविन्द्र पाण्डे

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. रविन्द्रप्रसाद पाण्डेले अध्यक्ष र सीइओको २ कार्यकाल तोक्ने व्यवस्था ठीक भएको बताए । ‘काम गर्न सक्ने मान्छेका लागि गरेर देखाउन २ कार्यकाल नै पर्याप्त छ,’ उनले भने ।

उनले निश्चित समयपछि बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गर्न पाउने व्यवस्था नगर्न सुझाए । केही सांसदहरुले निश्चित समयपछि संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्नुपर्ने संसोधन प्रस्ताब दर्ता गराएका थिए ।

‘संस्थापक सेयर साधारण सेयरमा परिवर्तन भयो भने बैंकलाई कसले र कसरी नियन्त्रण गर्ने ?’ पाण्डेले प्रश्न गरे ।

सञ्चालकको अनुभव पनि तोक्नु पर्छ: प्रमोद कार्की

त्यस्तै, कृषि विकास बैंकका अध्यक्ष प्रमोदकुमार कार्कीले वित्तीय अपराध नियन्त्रण गर्नका लागि राष्ट्र बैंकलाई अझै शक्तिशाली बनाउनुपर्ने बताए ।

‘सञ्चालक र व्यवस्थापको योग्यता मात्रै होइन, अनुभव पनि तोकिनु पर्छ,’ कार्कीले भने- ‘कार्यकाल तोक्ने प्रस्ताब ठीक छ ।’ उनले कर्मचारीलाई सेयर दिनु आवश्यक नरहेको बताए ।

‘विधेयकमा कर्मचारीलाई सेयर दिने भन्ने कुरा हटाइएको रहेछ, मलाई त ठीकै लाग्यो,’ उनले भने- ‘संस्थाको अवस्था राम्रो भयो भने कर्मचारीले बोनस पाइहाल्छन् नि, किन सेयर नै चाहियो ?’

काम गर्नेलाई ८ वर्ष नै काफी : लिलाप्रकाश सिटौला

त्यसैगरी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले पूर्वअर्थसचिव रामेश्वर खनालको कुराप्रति आफू सतप्रतिशत सहमत भएको बताए ।  बैंक तथा वित्तीय संस्थाहरु निक्षेपकर्ताको भएकाले राष्ट्र बैंकले निक्षेपकर्ताको हित हेरेर ऐन/कानून बनाउनु पर्ने उनले सुझाए ।

‘काम गर्ने अध्यक्ष र सीइओ छ भने उसले ८ वर्षमा आफ्नो क्षमता देखाउन सक्छ,’ सिटौलाले भने- ‘त्यसैले कार्यकाल तोक्ने व्यवस्था ठीक छ ।’

उनले कर्मचारी र सीइओबीच तल तथा सेवा/सुविधामा ठूलो अन्तर भएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरे । ‘सयौं कर्मारीले मरीमरी काम गर्ने तर नाफाको हिस्सेदारीचाहीँ सीइओले मात्रै पाउने ?’ उनले प्रश्न गरे ।

कार्यकाल तोक्नु हुँदैन: बिरेन्द्र महतो

माछापुच्छ्रे बैंकका अध्यक्षसमेत रहेका सांसद डा. बिरेन्द्र महतोले भने अध्यक्ष र सीइओको कार्यकाल तोक्न नहुने बताए । ‘कुनैपनि बैंकका अध्यक्ष, सञ्चालक तथा सीइओले नराम्रो काम गरे त्यस्ता व्यक्तिलाई राष्ट्र बैंकले नै हटाउन सक्ने व्यवस्था छ,’ महतोले प्रश्न गरे- ‘यति हुँदाहुँदै किन २ कार्यकालको व्यवस्था चाहियो ?’
उनले बैंकको सञ्चालक बीमा कम्पनीको सञ्चालक बस्न नपाउने प्रस्तावित व्यवस्थाप्रति असन्तुष्टि जनाए । ‘बैंक र बीमा फरक-फरक व्यवसाय हुन् बैंकको सञ्चालक किन बीमा कम्पनीको सञ्चालक बस्न नपाउने ?’ उनले प्रश्न गरे । मुलुक आर्थिक उदारीकरणको नीति अबलम्बन गरेको अवस्थामा गर्दै केन्दि्रय बैंक नियन्त्रणमूखी हुन नहुने उनको भनाई थियो ।

कार्यकाल तोक्नु खतरापूर्ण : रामकृष्ण तिमल्सिना

विज्ञ डा. रामकृष्ण तिमल्सिनाले अध्यक्ष र सीइओको कार्यकाल तोक्न नहुने धारणा राखे । ‘सीइओको कार्यकाल तोक्दा उसले कार्यकाल सकिन लागेपछि अन्य संस्थामा जागिर खोज्न थाल्छ,’ उनले भने- ‘यस्तो अवस्थामा संस्थामाथि खतरा उत्पन्न हुनसक्ने भएकाले उसको कार्यदक्षता मुल्यांकन गरेर कार्यकाल थप गर्न सक्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ ।’

सम्बन्धित समाचारहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment