+
+

बंगुर बिक्री नहुँदा किसानलाई लाखौँ घाटा

१७ माघ, रौतहट । तराई मधेस बन्दले यहाँका व्यावसायिक बंगुरपालक किसान मारमा परेका छन् । लामो समयदेखिको मधेस आन्दोलनका कारण यातायातका साधन चल्न नसक्दा बंगुरपालकले मासुका लागि उत्पादित बंगुर बिक्री गर्न पाएका छैनन् । बंगुरका पाठा किन्ने ग्राहक नपाएको र्फम सञ्चालकको गुनासो छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १७ गते १३:५०

pigगौतम श्रेष्ठ
१७ माघ, रौतहट । तराई मधेस बन्दले यहाँका व्यावसायिक बंगुरपालक किसान मारमा परेका छन् । लामो समयदेखिको मधेस आन्दोलनका कारण यातायातका साधन चल्न नसक्दा बंगुरपालकले मासुका लागि उत्पादित बंगुर बिक्री गर्न पाएका छैनन् । बंगुरका पाठा किन्ने ग्राहक नपाएको फर्म सञ्चालकको गुनासो छ ।

‘आन्दोलन अघिसम्म गौर, मलंगवा, कलैया तथा वीरगन्जलगायत बजारबाट बंगुर किन्न व्यापारी आउँथे । तर, यो मधेस आन्दोलन सुरु भएपछि आएका छैनन् । पहिले पाठा नजन्मँदै माग हुन्थ्यो, अग्रिम पैसा दिएर पाठा बुक गर्थे,’ बंगुर र्फम सञ्चालक सुमन कार्की भन्छन्, ‘मासुका लागि तयार भइसकेका बंगुरलाई महँगो दाना खुवाएर राख्नुपरेको छ ।’

सुमनले चन्द्रनिगाहपुरमा व्यावसायिक रूपमा बंगुरपालन गर्दै आएका छन् । उनको फर्ममा एक सयभन्दा बढी बंगुर छन् । ‘मासुका लागि तयार भएका १० वटा बंगुर र ६० वटा पाठा बिक्री नहुँदा महँगो दाना खुवाएर पाल्नुपरेको छ,’ कार्कीले भने ।

दुई सय किलोभन्दा बढीका बंगुर बिक्री नभएर खोरमै बस्दा दाना खर्च झनै बढेको कार्की बताउँछन् । उनले ल्यान्डरेस, हेमसायर, योरसायर, डिउरोक आदि उन्नत जातका बंगुर पालेका छन् ।

कार्कीका अनुसार अहिले एउटा बंगुरको पाठालाई चार हजार पाँच सयसम्म पर्छ भने प्रतिकिलो मासुको मूल्य दुई सय ६० रुपैयाँसम्म छ । पाठा र मासुका लागि तयार भएका गरी कार्कीको र्फममा झन्डै चार लाख रुपैयाँ बराबरका बंगुर छन् ।

यस्तै, अर्का बंगुरपालक किसान हर्कबहादुर तामाङको फर्ममा ९० वटा बंगुर छन् । दुई महिनाअघि नै मासुका लागि तयार भएका १० वटा भएका बंगुर उनले बिक्री गर्न पाएका छैनन् । त्यस्तै, बिक्रीका लागि तयार १५ भन्दा बढी पाठालाई उनले महँगो दाना खुवाउन बाध्य छन् ।

‘बैंकबाट ऋण गरेर बंगुर फर्म खोलियो । तीन-चार महिनायता ब्याज तिर्न पनि सकिएको छैन,’ तामाङ भन्छन्, ‘कामदारलाई तलब दिन सकिएको छैन ।’

त्यस्तै, चन्द्रपुर लाइभस्टक प्रालिका सञ्चालक बासु अधिकारी पनि मासुका लागि तयार दुई सय किलोभन्दा बढीका बंगुरलाई महँगो दाना खुवाएर पालिरहेका छन् ।

‘पहिले ३४ रुपैयाँ किलोमा पाइने बंगुरको दानालाई बन्दका कारण अहिले ६० रुपैयाँ हाल्नुपरेको छ,’ अधिकारी भन्छन् ।

सदरमुकामलगायत अन्य बजार महिनौँ बन्द हुँदा मासुको व्यापार घटेको छ ।

अर्कोतिर, स्थानीय जातका बंगुरको पाठा गाउँ-गाउँमा घुमाएर उन्नत जातको भन्दै झुक्याएर बेचिने पनि बंगुर र्फम सञ्चालकको भनाइ छ ।

रौतहट चन्द्रपुर नगरपालिका आसपासमा व्यावसायिक बंगुरपालक धेरै छन् । बंगुर बिक्री नहुँदा लाखौँको लगानी डुब्ने चिन्तामा कतिपयले बंगुरपालन छाड्ने मनस्थिति बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?