Comments Add Comment

यसरी भयो रुपन्देहीमा सरकारी गाडीको दुरुपयोग

DEO-Rupandehi-2

  • रुपन्देहीका जिल्ला शिक्षा अधिकारीका श्रीमती र छोरी सुनौली बजारबाट किनमेल गरी फर्किँदै

सलमान खान

२१ माघ, भैरहवा । रुपन्देहीमा जिल्ला शिक्षा कार्यालय र भूसंरक्षण कार्यालयका गाडी दुरुपयोग भएको छ ।

रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले कार्यालयको बा १ झ ९५११ नम्बरको गाडीमा श्रीमती र छोरीलाई राखेर सीमावर्ती भारतीय बजार घुमाएका छन् ।

यस्तै डण्डाखोला नजिक साइट हेर्न भन्दै बा १ झ ९३२५ नम्बरको सरकारी गाडी चढेर निस्किएका भूसंरक्षण कार्यालयका कर्मचारीहरु भारतीय सुनौली बजार पुगेर दैनिक उपभोग्य सामान किनमेल गरेका छन् ।

जिल्ला शिक्षा अधिकारी थापाले कार्यालय समयमा सरकारी गाडीमा श्रीमती र छोरीलाई दाल, चिनी, चियापत्ती, साबुनलगायतका सामान खरिद गर्न सीमापारीको भारतीय बजार सुनौलीमा लगेका थिए ।

DEO-Rupandehi-1
जिल्ला शिक्षा कार्यालय रुपन्देहीका गाडी चालक तिलकबहादुर बुढाथोकी

गाडी चालक तिलकबहादुर बुढाथोकीले हाकिमको निर्देशनमा आफूले परिवारका सदस्यलाई सुनौली बजारमा किनमेल गर्न ल्याएको बताए । ‘हाकिम सा’बले सुनौली बजार पुगेर आउन त भन्नुभयो, हाकिमले भनेको मान्नैपर्‍यो,’ बुढाथोकीले अनलाइनखबरसँग भने ।

तर, जिल्ला शिक्षा अधिकारी थापाले आफूले गाडी दुरुपयोग नगरेको दाबी गरे । काम परेकाले बेलहिया प्राविमा पठाएको तर श्रीमती र छोरीलाई कार्यालयको गाडीमा राखेर सुनौली बजारमा किनमेल गर्न नपठाएको प्रष्ट पारे ।

सुरुमा चालक बुढाथोकीले पनि बेलहियाको विद्यालयको कार्यक्रमका लागि आफूहरु आएको बताएका थिए । तर, अनलाइनखबरको सोधपुछ पनि उनले बजारमा किनमेल गर्न सरकारी गाडी लिएर आएको स्वीकार गरेका थिए ।

गाडी पनि बेलहियाको प्राविमा नभई सीमा पारी जानेहरुले पार्किङ गर्ने स्थलमा थियो । सरकारी गाडी दुरुपयोग भएको तस्बिर अनलाइनखबरकर्मीले क्यामरा कैद गर्न थालेको सुइँको पाएपछि जिल्ला शिक्षा अधिकारीले आफ्नी छोरी र श्रीमतीलाई केहीबेर हिँडाएर गाडी पार्किङ गरिएको स्थानभन्दा केही परबाट चढ्न लगाएका थिए ।

भूसंरक्षणको गाडी पनि दुरुपयोग

Sarkari-gadi-Durupayog
भूसंरक्षण कार्यालय रुपन्देहीका कर्मचारीहरु सुनौली बजारबाट किनमेल गरी फर्किँदै

यस्तै भूसंरक्षण कार्यालय रुपन्देहीका गाडी पनि दुरुपयोग भएको पाइएको छ । कार्यालयका कर्मचारीहरु कार्यालयको काम छाडेर सरकारी गाडीमा चिनी चियापत्तीलगायत खाद्यबस्तु खरिद गर्न भारतीय सुनौली बजार पुग्ने गर्दछन् । भारतीय बजार तुलनात्मक रुपमा सस्तो हुने भएकाले नेपालीहरु किनमेल गर्न जाने गर्दछन् ।

भूसंरक्षण कार्यालय रुपन्देहीका कर्मचारीहरु कार्यालयको बा १ झ ९३२५ नम्बरको गाडी चढेर सरकारी पोसाकमै चिनी चियापत्ती खरिद गर्न सुनौली पुगेका हुन् । कार्यालयका प्राविधिक कृष्णदेव ठाकुरले कार्यालयको गाडी लिएर दैनिक उपभोग्य सामान किन्न सुनौली बजार आएको स्विकार गरे ।

यता भूसंरक्षण कार्यालय रुपन्देहीका निमित्त प्रमुख हरिप्रसाद खनालले आफूले कर्मचारीहरुलाई बेलहियाको डण्डाखोला नजिक साइट हेर्न पठाएको बताए । तर, कार्यालयको गाडी लिएर कर्मचारीहरु सरकारी पोसाकमै सीमावर्ती भारतीय बजार गएकोबारे आफूलाई केही जानकारी नभएको र यस विषयमा बुझेर कारवाही प्रक्रिया अगाडि बढाउने खनालले प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment