Comments Add Comment

तीस लाख भन्दा बढीको तस्करीको सामान बरामद

taskari (3)गौतम श्रेष्ठ
२२ माघ रौतहट । सशस्त्र प्रहरी बल रौतहटले ठूलो परिमाणमा तस्करी हुदै गरेको सामान बरामद गरेको छ । बिहिबार राति तीस लाख भन्दा बढी मूल्यको लताकपडा र सवारी साधन सशस्त्र प्रहरीले बल सीमा सुरक्षा कार्यालय रौतहटले पक्राउ गरेको हो ।

भारतीय बजारबाट नेपाल भित्राउदै गरेको अवस्थामा रौतहटको देवाही गाविस ७ ईमलियामा भारतीय नम्बरको पिकअप भ्यान लोड गरिएको १५ लाख भन्दा बढी मूल्यका लतापकडाहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । १३ वटा ठूलो बोरामा प्याक गरिएका ती पोकाहरुमा साडी, कुर्ता, सुट पैन्ट र सर्टका कपडाहरु रहेको सशस्त्र प्रहरीले जनाएको छ । देवाही बाटै सशस्त्र प्रहरीले २१ हजार बराबरको डिजेल समेत नियन्त्रणमा लिएको छ ।

बारा र रौतहटको नाका भएर तस्करी को सामान भित्रिने गरेको खबरका आधारमा देवाहीमा सशस्त्र प्रहरीले तस्करीको सामान सहित भारतीय नम्बरको अनटेस्ट गाडी पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक मदन विष्टले बताए । १५ लाख बराबरको लताकपडा, १५ लाख बराबरको को गाडी र २१ हजारको डिजेल गए राति सशस्त्र प्रहरीले बरामद गरेको हो ।

taskari (2)तस्करका लागी आन्दोलन अवसर

तराई मधेशमा जारी आन्दोलनको सबै भन्दा बढी फाईदा कालोबजारी र तस्करहरुले उठाएका छन् । झण्डै ६ महिना देखि जारी रहेको आन्दोलनका कारण जुलुस र भिड नियन्त्रण बाहेक प्रहरीले अन्य काममा ध्यान पुर्‍याउन नसकेका उपरिक्षक विष्टको भनाई छ ।

“गस्ती पेट्रोलिंग लगायत चेकजाँच गर्नु पर्ने प्रहरी आन्दोलनमै व्यस्त बन्दा तस्करी गर्नेहरु मौलाए ।” उपरिक्षक विष्टले भने “विभिन्न नाकाबन्दी र धर्नाकै कार्यक्रममा सशस्त्र प्रहरी पनि खटिनु पर्ने भए पछि नाकाहरुमा तस्करले फाइदा उठाए ।” असहजता का बिच पनि सशस्त्र प्रहरीले काम जारी राखेको बताउदै उनले अब स्थीति सहज बनि रहदा आफूहरुले नाकाहरुमा निगरानी र चेकजाँच बढाएको बताए ।

एक महिनामा आधा करोड भन्दा बढीको सामान पक्राउ

जारी मधेश आन्दोलनका बेला तस्करी गर्न पल्केकाहरु यति बेला प्रहरीको निशानामा पर्न थालेका छन । एक महिना यता आन्दोलन अलि खुकुलो बन्दा सशस्त्र प्रहरी बल रौतहटले ७५ लाख ७४ हजार ३७८ रुपैया भन्दा बढिको सामान पक्राउ गरेर भन्सार बुझाएको छ ।

७ जना तस्कर सहित ९ मोटरसाइकल, एक थान थ्रेसर, १ थान कार, १ बोलेरो पिकअप गरी भारतबाट भित्राइएका ३४६५ कुखुराका चल्ला, ईन्धन र सालका काठ समेत सशस्त्र प्रहरीले यो अवधिमा पक्राउ गरेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय रौतहटले जनाएको छ ।

taskari (1)मुख्य नाका गौर भन्दा ग्रामिण नाकाहरुमा बाट बढि सामान पक्राउ परेको सशस्त्र प्रहरीको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार औरैया, बंकुल, देवाही र लक्ष्मीपुर नाका बाट सबै भन्दा बढी तस्करीका सामान बरामद भएका छन । पछिल्लो समय रौतहटको बंकुल नाका बाट दैनिक करोडौंको तस्करी हुने गरेको छ । प्रहरीका स्थानिय युनिटहरुको सँलग्नतामा ग्रामिण भेगबाट तस्करले कारोबार गर्ने गरेका छन ।

रौतहटको बंकुल क्षेत्रमा अहिले सबै भन्दा बढी तस्करहरु सक्रिय रहेका छन । मुख्य नाका गौरको मितेरी पुलमा अवरोध भएका कारण भारत सँग सिमा जोडिएको बंकुल नाका तस्करहरुको रोजाईमा परेको हो । यस क्षेत्र बाट तस्करहरुले ईन्धन, लताकपडा, रेडिमेड सामान, मोटर पार्टस का साथै मेशिनरी पार्टसको तस्करी गर्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment