Comments Add Comment

लेबनान जाँदा लाएको माया मलेसियामा छुट्यो

malaysiya

रामचन्द्र नेपाल

क्वालालम्पुर । ‘विश्वास गरेँ, माया गरेँ, आज धोका भयो,’ उदास मुद्रामा कृष्णले भने ।

गत बुधबारदेखि कृष्ण बेचैन छन् । नवलपरासीका कृष्ण मगर अहिले २८ का भए । चार वर्षअघि उनी रोजगारीको सिलसिलामा लेबनानमा थिए । कृष्णका तीन भाइ अनि बहिनी छन् । जेठो छोरा भएकाले परिवारको जिम्मेवारी पनि उनैको काँधमा थियो ।

लेबनानको गुडुवा भन्ने ठाउँमा उनी कन्स्ट्रक्सनको काम गर्थे, दिनभरिजसो सिमेन्टसँग खेल्नुपथ्र्यो ।

दिनभरि काम गर्थे । कामबाट फर्केपछि खाना खाइवरी बिस्तारामा पल्टँदै फेसबुक चलाउँथे । एक दिन सर्च गर्दै जाँदा उनले एउटी केटी साथी भेटे- राधा मगर -नाम परिवर्तन), उमेर २६, घर सुनसरी, लेबनानको मुगगुवामा रोजगारी ।

‘मैले फ्रेन्ड रिक्वेस्ट पठाइहालेँ,’ कृष्ण भन्छन्, ‘उनले पनि तुरुन्तै स्विकारिन् । च्याट हुन थाल्यो । दुवै नेपाली, एउटै देशमा काम गर्ने भएपछि घनिष्ट पनि भइयो ।’

उनीहरू फुर्सद हुनासाथ च्याट गर्थे । पछि फोनमा कुरा हुन थाल्यो । ‘घन्टौँ फोनमा कुरा हुन्थ्यो, रात बितेको समेत पत्तो पाउँदैनथ्यौँ,’ कृष्ण भन्छन्, ‘हामीले एकअर्कालाई मन पराउन थाल्यौँ । माया बस्न गयो । मैले कुनै केटीको फोटो वा स्टाटसमा कमेन्ट गरे भनेँ उनी रिसाउँथिन् । उनले कुनै केटाको फोटोमा कमेन्ट गरे मलाई रिस उठ्थ्यो ।’

कृष्णले काम गर्ने र राधाले काम गर्ने दूरी निकै टाढा थियो । एकै देशमा भएर पनि उनीहरूले भेट्न समेत पाएनन् ।

त्यहाँ १८ महिना काम गरेर कृष्ण नेपाल फर्किए । त्यसपछि लगत्तै मलेसिया आए, ३४ महिनाअघि ।

‘मलेसिया पेनागको इलेक्ट्रोनिक कम्पनीमा राम्रै काम पाएँ । कमाइ पनि राम्रै छ,’ कृष्ण भन्छन्, ‘उनी लेबलानमै थिइन् । फेसबुकमा च्याट भइरहन्थ्यो । भिसा सकिएपछि उनी पनि नेपाल फर्किन् । मैले उनलाई मलेसिया बोलाएँ । उनले तपाईंले बोलाउनुहुन्छ भने आइहाल्छु भनिन् ।’

नेपाल पुगेको तीन महिनामै राधा पनि मलेसिया पुगिन्, कृष्णले काम गर्ने कम्पनीमै ।

फोनमा कुराकानी र फेसबुकको च्याटमा रमाउने उनीहरूको पहिलो देखभेट मलेसियामा भयो । काममा जाने, बस्ने-खाने सँगै हुन थाल्यो । कृष्ण भन्छन्, ‘बिदाको समय घुम्न पनि जान्थ्यौँ । फोटो खिच्थ्यौँ । सँगै भएको फोटो फेसबुकमा पनि राख्थ्यौँ ।’

गत हप्ता भने उनीहरुको सम्बन्धले अर्को मोड लियो । राधा कृष्णको सम्पर्कमा आइनन् ।

‘हामीबीच कुनै त्यस्तो झगडा भएको पनि थिएन,’ कृष्ण भन्छन्, ‘मेरो आठ हजार रिगेट र दुई तोला सुन लिएर उनी बेपत्ता भइन् । फोन गर्दा अर्कै लोग्ने मानिसले उठाएर भन्छ, अब फोन नगर, राधालाई बिर्सिदेऊ ।’

कृष्ण अहिले केही सोच्नै सकिरहेका छैनन् । भन्छन्, ‘माया र विश्वासमा धोका भयो, के गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment