Comments Add Comment

१० उद्योगपतिको चाहनाः कांग्रेसमा कसले जितोस् ?

CONGRESS BANERनविन अर्याल

२१ फागुन, काठमाडौं । विहीबारदेखि राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनबाट कस्तो नेतृत्व आउला भन्ने चासो उद्योगी व्यवसायीहरुमा पनि देखिएको छ ।

अब कांग्रेसमा कस्तो नेतृत्व आउनुपर्छ ? कांग्रेसको भावी आर्थिक नीति कस्तो हुनुपर्छ ? र, कस्ता मुद्दाहरुलाई अंगीकार गरेर कांग्रेस अगाडि बढ्नुपर्छ ? यसबारे अनलाइनखबरले १० जना उद्योगी व्यवसायीलाई सोधेको छ । हेर्नुहोस् उनीहरुको प्रतिक्रियाः

खुल्ला बजार अर्थतन्त्रको पक्षपाती नेतृत्व आउनुपर्छ

-पशुपति मुरारका, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

Pashupati-Murarkaकांग्रेस नेपालको सबैभन्दा ठूलो र पुरानो पार्टी हो । त्यही भएर जनताले कांग्रेसबाट धेरै अपेक्षा गरेका छन् । जनताको अपेक्षा पूरा गर्नका लागि कांग्रेसमा सबल र सक्षम नेतृत्व आवश्यक छ ।

कांग्रेस खुल्ला बजार अर्थतन्त्रको पक्षपाती हो । खुल्ला बजार अर्थतन्त्रको विकास गर्नेखालको नेतृत्व कांग्रेसले पाउनुपर्छ । कांग्रेस निजी क्षेत्रलाई विश्वास गरेर अगाडि बढ्नुपर्छ । देशको विकास गर्ने जिम्मेवारी नीजि क्षेत्रको पनि भएकाले दलहरुले साथ लिएर जानुपर्छ ।

नेपालमा विगतमा विभिन्न किसिमका द्वन्द्वहरु आउँदा अपेक्षाकृत विकास हुन सकेन । प्राकृतिक स्रोत साधनको विकास हुन सकेन । अब वातावरण सहज बनेको छ । देशको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले विकासको नेतृत्व गर्नुपर्ने हुन्छ । यसका लागि पनि कांग्रेसमा जिम्मेवारी वहन गर्न सक्ने सक्षम नेतृत्व आवश्यक छ ।

अहिलेसम्म कुनै पनि दलको नेतृत्वमा आर्थिक विषयमा राम्रो जानकारी भएको व्यक्ति आउन सकेको छैन । नेतृत्वमा आर्थिक मुद्दा बुझेको मान्छे आउन नसके पनि कम्तिमा कार्यसमितिमा अर्थतन्त्र बुझेको मान्छेहरु आउनुपर्छ ।

विकास निर्माणमा अग्रसर हुने नेतृत्व चाहिन्छ । यस्तो नेतृत्व चाहियो, जसले एक-एक पैसाको हिसाब गर्न सकोस्, विकास निर्माण लगाएको रकमको लाभहानी मापन गर्न सकोस् । मुलुकमा काम गरेर खान पाउने वातावरण तयार गर्न सक्नेखालको नेतृत्व कांग्रेसमा आउनुपर्छ ।

विकास निर्माणका परियोजना बनाउँदा कमजोर राष्ट्रवादको वकालत गर्ने व्यक्तिहरु कांग्रेसजस्तो पार्टीमा आउनुहुँदैन । परियोजना निर्माण सञ्चालनको जिम्मेवारी विदेशीलाई सुम्पिदा देशै बेच्यो भन्ने कुरा आउँछ । कमजोर राष्ट्रवाद अंगालेर केही हुँदैन, कमजोर राष्ट्रवादले पनि राष्ट्रियता झनै खतरामा पर्छ ।

टाढासम्म देख्न सक्ने नेतृत्व चाहिन्छ

-शेखर गोल्छा, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

Shekhar_Golchhaमुलुकको अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्न सक्नेखालको नेता कांग्रेसको नेतृत्वमा आउनुपर्छ । दुरगामी भिजन भएको अनुभवी व्यक्तिले मात्र अर्थतन्त्रको नेतृत्व गर्न सक्छन् । कांग्रेसको नेतृत्वमा मात्र होइन, कार्यसमिति नै इनर्जेटिक टिम आउनुपर्छ ।

मुलुकलाई सम्वृद्धिको बाटोमा लैजाने एउटा मात्र उपाय भनेको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । यसका लागि टाढासम्म देख्न सक्ने नेतृत्व चाहिन्छ । अर्थतन्त्र भनेको उद्योगीको मात्र होइन, उद्योगी व्यवसायी केवल माध्यमामात्र हुन्, अर्थतन्त्र जनताको कुरा हो । कांग्रेसले आर्थिक नीति बनाउँदा अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ ।

कांग्रेसको यस्तो नीति हुनुपर्छ, जसले मुलुकभित्र रोजगारी सृजना गर्न सकोस, अर्थतन्त्रलाई गतिशिल बनाओस, कसरी भेल्यु एडिसन गर्न सकिन्छ, त्यसमा ध्यान दिइओस, पूर्वाधार विकासमा दत्तचित्त भएर लागोस् । जनता विकास चाहान्छन्, कांग्रेस नेतृत्व र नीति विकासप्रेमी जनताको पक्षमा होस ।

म त भन्छु नेतृत्वमा युवा आउनुपर्छ
अनिल शाह, बैंकर्स

anil shahसुधार घरभित्रैबाट सुरु गर्नुपर्छ भन्ने नेपाली उखान छ । यही भएर प्रजातान्त्रिक अभ्यास कांग्रेसबाटै हुनुपर्छ । किनभने विगतदेखि नै प्रजातन्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले गर्दै आएको छ । प्रजातान्त्रिक परिपाटीलाई संस्थागत गर्ने काम कांग्रेसको हो ।

प्रजातन्त्रको सबैभन्दा ठूलो शत्रु भागबण्डा हो । भागबण्डाले आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विचलन ल्याउँछ । त्यही भएर प्रजातान्त्रिक परिपाटीमा प्रतिस्पर्धा जायज छ । जसरी कांग्रेसमा एउटै पदका लागि ३/४ जना उठ्न खोजिरहेका छन्, त्यसलाई मैले सकरात्मक रुपमा लिएको छु ।

अब आउने कांग्रेस नेतृत्व आगामी दिनमा कांग्रेसको मात्र होइन, आम जनताको सपना साकार गर्ने खालको हुनुपर्छ । मुलुकका आर्थिक मुद्दालाई अगाडि बढाउन सक्ने खालको हुनुपर्छ । अर्थतन्त्रलाई डोर्‍याउन सक्ने, आर्थिक विकासको भिजन भएको, कार्यान्वयन क्षमता भएको नेतृत्व कांग्रेसले पाउनुपर्छ भन्ने मेरो धारणा रहेको छ ।
जतिजना उठे पनि जित्ने एउटाले मात्र हो । चुनावमा हार्ने नेताले जित्ने नेतालाई असफल बनाउन लाग्ने होइन । आपसी सहयोग बढाएर पार्टीलाई मजबुद बनाउन लाग्नुपर्छ । सबैलाई मिलाएर लैजाने क्षमता भएको नेतृत्व आउन सक्यो भने कांग्रेसलाई मात्र होइन, राष्ट्रलाई नै फाइदा पुग्छ ।

म त भन्छु, नेतृत्वमा युवा आउनुपर्छ । हिजोलाई होइन, भोलिलाई बुझेर काम गर्न सक्ने नेतृत्व ल्याउनुपर्छ । जसले भावी पुस्तालाई विकास दिन सकोस् । कांग्रेस ठूलो पार्टी भएको र मुलुकको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने हुँदा सक्षम नेतृत्व आवश्यक छ ।

वाद हैन, विकासको कुरा गनेृ नेता चाहियो

हरिभक्त शर्मा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ

Haribhakta-Sharma-jpgमुलुकमा सम्वृद्धिको मार्गचित्र कोर्नेखालको आर्थिक मुद्दा बोकेर अगाडि बढ्ने नेता देशलाई चाहिएको छ । वादको कुरा बोक्ने होइन, असल नीति बोक्ने नेतृत्व कांग्रेसमा आउनुपर्छ । अहिलेसम्म वादका कुरा धेरै भए, अब बिकास निर्माणका कुरा गर्ने नेता चाहिन्छ ।

मुलुकको राजनीति एक किसिमले टुंगोमा पुगिसकेको छ । कांग्रेसको अबको नेतृत्व आर्थिक समृद्धिका लागि काम गर्ने, मुलुकमा लगानीमैत्री वातावरण तयार गरी औद्योगिक विकास गर्ने, निजी क्षेत्रलाई प्रश्रय दिने खालको हुनुपर्छ । अहिलेसम्म धेरै बोलियो, थोरै गरियो । अब थोरै बोल्ने धेरै काम गर्ने नेता आउनुपर्छ ।

काम गरेर खाने संस्कृतिको विकास गर्ने नेतृत्व कांग्रेमा खाँचो छ । जसले चन्दा मागेर होइन, काम गरेर खाने संस्कृतिको विकास गरोस् ।

कांग्रेस आफुलाई खुल्ला अर्थतन्त्रको पक्षपाती सम्झन्छ । त्यसो हुँदा खुल्ला अर्थतन्त्रको विकासमा काम गर्न सक्नेखालको नेतृत्व कांग्रेसले पाओस् । सरकार तथा पार्टीमा विधिको साशन स्थापित गर्न सक्ने खालको आउनुपर्छ । अहिलेसम्म व्यक्तिको शासन गर्ने व्यक्ति आउँदा जनताको हितमा काम हुन सकेन ।

इकोनोमिक डिप्लोम्यासी बुझेको नेता चाहिन्छ

राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

Rajesh-Kaji-shresthaकांग्रेस पुरानो र प्रजातान्त्रिक पार्टी हो । कांग्रेसको महाधिवेशनले निजी क्षेत्र र आर्थिक विकासका कुरा गर्ने खालको व्यक्तिहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउनुपर्छ । मुलुकको अर्थतन्त्र राम्रो भएपछि राजनीति स्वतः राम्रो भइहाल्छ ।

इकोनोमिक डिप्लोमेसी बुझेको र आर्थिक मुद्दामा लिड गर्न सक्ने नेतृत्व आएमात्र जनताको विकास हेर्ने चाहना पूरा हुन्छ ।

मुलुकको नेतृत्व राजनीतिक दलले गर्ने भएको हुँदा त्यहाँ अर्थशास्त्र बुझेका मानिसको जमात बढी हुनुपर्छ । राजनीति कम, अर्थतन्त्रलाई बढी प्राथमिकतामा राख्ने नेतृत्व कांग्रेसले पाउनुपर्छ भन्ने मेरो धारणा छ ।

पाका र युवा नेताहरु मिश्रति हुनुपर्छ

अञ्जन श्रेष्ठ, अध्यक्ष, नेपाल अटोमोबाइल डिलर एशोशिएसन

anjan-shrestha_laxmi-groupनेपालका प्रजातान्त्रिक आन्दोलनमा सुरुदेखि कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रजातान्त्रिक आन्दोलनमा इतिहास रचेको पार्टी हो, कांग्रेस । नेपालमा प्रजातन्त्र ल्याउन, लोकतन्त्र ल्याउन, नयाँ संविधान ल्याउन कांग्रेसको नेतृत्वदायी भूमिका रहृयो ।

अब कांग्रेसले नयाँ इतिहास रच्नुपर्छ । कांग्रेसले हिजो राजनीतिक क्रान्ति सफल बनाउनका लागि सफल भूमिका खेल्यो । अब आर्थिक क्रान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने कांग्रेसमा नेतृत्व आउनुपर्छ ।

मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्ने खालको नेतृत्व आवश्यक छ । सोही सोच भएका व्यक्तिहरु कांग्रेस कार्यसमितिमा आउनुपर्ने मेरो धारणा छ । २१औं शताब्दीको विश्व परिवेशसँग मेल खाने आर्थिक सामाजिक रुपान्तरण गर्ने जिम्मेवारी कांग्रेसले लिन सक्नुपर्छ ।

हामीले समृद्ध नेपालको परिकल्पना गर्ने हो । यसका लागि स्वच्छ समाज आवश्यक हुन्छ । आर्थिक र भौतिक रुपमा स्वच्छ र सवल नेपाली समाज बनाउने भूमिका कांग्रेसले खेल्नुपर्छ । कांग्रेस महाधिवेशनले जानेका बुझेका, पाका तथा युवा सबै भएका मिश्रति कार्यसमिति चयन गर्नुपर्छ ।

आर्थिक भिजन भएको नेता चाहिन्छ

सुमन पाण्डे, अध्यक्ष, पाटा नेपाल

Suman-Pandey-Photo1कांग्रेसमा भिजन भएका नेताहरु नेतृत्वदायी तहमा आउनुपर्छ । आर्थिक विकासविना मुलुकमा अग्रगमन आउँदैन । अग्रगमन दिन नसक्ने राजनीतिक शक्ति धेरै टिक्न पनि सक्दैन र दिगो पनि हुँदैन ।

मुलुकको परिस्थितीलाई बुझेर आर्थिक क्रान्तिको नेतृत्व गर्न सक्ने नेतृत्व कांग्रेसमा आउनुपर्छ । चाहे सरकारमा बसेर होस् वा बाहिर बसेर होस्, कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्न सक्नुपर्छ । अहिले सरसर्ती हेर्दा माथिल्लो तहमा त्यस्तो क्षमता भएको नेता आउने नदेखिए पनि कार्यसमितिमा थुप्रै आर्थिक विकासको भिजन भएका नेताहरु आउने सम्भावना देखिएको छ ।

हामीलाई तिब्र आर्थिक विकास चाहिएको छ । दुई अंकको आर्थिक विकास गर्न सक्ने खालको सक्षम नेतृत्व पनि मुलुकका लागि आवश्यक छ । हामीले चाहने हो भने २० प्रतिशतको आर्थिक विकास गर्न सक्ने सम्भावना छ । त्यो असम्भव पनि छैन ।

तर, त्यसका लागि भिजन चाहिन्छ । इमान्दार, भिजन, डेडिकेटेड तीन गुण भएको नेता नेतृत्वमा आउन सक्यो भने मुलुकका लागि सुखद हुन्छ ।

सबैलाई मिलाउन सक्ने सक्षम नेतृत्व आउनुपर्छ
विनायक शाह, महासचिव, होटल संघ नेपाल

binayak-shahaकांग्रेसले नारा बनाएको छ, शान्ति, समृद्धि र संविधान । यो नारा व्यवहारमा लागू गर्नेखालको नेतृत्व आउनुपर्छ । संविधान जारी भएको छ । यसलाई पूर्ण रुपमा लागू गर्नका लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ । संविधान लागू गर्नका लागि पनि सक्षम नेतृत्व आवश्यक हुन्छ ।

आर्थिक विकासमा मन, वचन र कर्मले लाग्ने नेतृत्व र पदाधिकारी महाधिवेशनबाट चयन हुनुपर्छ भन्ने हाम्रो धारणा हो । अहिले कांग्रेसभित्र गुट, उपगुट देखिएको छ । यो गुट उपगुट निर्वाचनसम्म मात्र देखिनुपर्छ । निर्वाचनपछि सबै पक्षलाई मिलाएर अगाडि लैजान सक्ने नेतृत्व कांग्रेसमा आउनुपर्छ ।

अब राजनीतिक मुद्दा बोकेर मात्र हुँदैन । जनता विकास चाहन्छन्, रोजगारी चाहन्छन्, काम गरेर खान पाउने वातावरण चाहन्छन् । यी कुराहरुको सुनिश्चिता गर्ने जिम्मेवारी कांग्रेसको हो । यसका लागि पनि सक्षम नेतृत्व र कार्यसमिति आवश्यक छ ।

विगतका हाम्रा नीति तथा कार्यक्रमहरु युगान्तकारी भए पनि कार्यान्वयन गर्न सकेनौं, हाम्रोजस्तै नीति तथा कार्यक्रमहरु अंगालेका अन्य मुलुकहरु कहाँबाट कहाँ पुगिसकेका छन् ।

अब हामी चुप लागेर बस्न सक्ने अवस्था छैन । हामी गर्न नसक्ने होइन, सक्षम छौं, मात्र राष्ट्रलाई सोचिदिने सक्षम नेतृत्वको खडेरीमात्र परेको हो । राजनीतिक स्थिरता र शान्ति आइसकेपछि अब आर्थिक समृद्धिमा लाग्नुपर्छ । यसको नेतृत्व पनि कांग्रेसले गर्न सक्नुपर्छ ।

आर्थिक क्रान्तिका लागि युवा पुस्ता आउनुपर्छ

प्रवलजङ्ग पाण्डे, युवा उद्यमी

prabal-jung-pandeyकांग्रेसमा नयाँ पुस्ताहरु अगाडि आउनुपर्छ भन्ने मेरो धारणा छ । कांग्रेसको नेतृत्वमा पनि अर्थतन्त्र बुझेको व्यक्ति आउनुपर्छ । जसले आर्थिक मुद्दालाई जोडतोडका साथ अगाडि बढाउने हिम्मत राखोस ।

मुलुकमा एक लेभलको राजनीति क्रान्ति भइसकेको छ । अबको पालो हो, आर्थिक क्रान्तिको । आर्थिक क्रान्तिका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ । कांग्रेसको नेतृत्वमा मात्र होइन, गाउँ लेवलदेखि केन्द्रसम्म आर्थिक मुद्दा बुझेको मान्छे हुनुपर्छ ।

हाम्रा नेताहरुले विकास निर्माण र आर्थिक क्रान्तीका धेरै गफमात्र गरे । व्यवहारमा त्यो लागू भएको देखिएन । अब टाइम बाउन्ड बनाएर आर्थिक क्षेत्रमा काम गर्नेखालको नेतृत्व कांग्रेसमा आवश्यक छ । अब समय खेर फाल्ने होइन । यो समय यो-यो काम गर्छु भनेर समयसीमा तोकेर काम गर्नुपर्ने बेला आएको छ ।

कांग्रेसका पुराना नेताले राजनीतिक परिवर्तन गरेका छन् । अब आर्थिक क्रान्तिका लागि नयाँ युवापुस्ता अगाडि आउनुपर्ने मेरो धारणा छ ।

विकास निर्माणका लागि नयाँ पुस्ता धेरै अनुभवी र चुस्त देखिन्छ । देशको आर्थिक उन्नति गर्ने खालको नीति बनाएर टाइम बाउन्डभित्र पुरा गर्ने क्षमता भएको नेतृत्व कांग्रेसमा आवश्यक छ ।

युवापुस्तालाई नेतृत्व हस्तान्तरण हुनुपर्छ

दक्ष पौडेल, सञ्चालक, प्रभु बैंक

नेपाली कांग्रेसको महाधिवेशनले समग्र नेपालको आर्थिक विकासका लागि विकासप्रेमी नेतृत्व चयन गर्नुपर्छ । जसले मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्दै युवा जनशक्तिलाई स्रोतको रुपमा उपयोग गर्दै उद्योग कलकारखानाको विकास गरेर रोजगारी सिर्जना गरी दक्ष-अदक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सकोस् ।

कांग्रेसको नयाँ नेतृत्वले सहकारिताको माध्यमबाट समतामूलक समाज रुपान्तरण गर्न सक्नुपर्छ । विगतमा भन्दा यो महाधिवेशनमा युवा पुस्ताको बाहुल्यता बढी देखिन्छ । महाधिवेशन प्रतिनिधिमा युवा पुस्ताको बाहुल्यता रहेको हुँदा असल र सक्षम नेतृत्व चयन हुनेछ भन्ने विश्वास छ । कांग्रेसले सवल सक्षम र युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न सक्ने नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment