Comments Add Comment

कांग्रेसमा कोषाध्यक्ष दाबी गर्ने कृष्ण कार्की को हुन् ?

२१ फागुन, काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार मनोनयन दर्ताको अन्तिम दिन थियो । कांग्रेस नेताहरु शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराउन व्यस्त थिए ।

Krishna-Karkiत्यहाँ रातो हाइनेकमाथि कालो कोट र ढाका टोपीमा सजिएका एक व्यक्ति पनि अघि सरे । उनले उम्मेदवारी दर्ताको फारम निर्वाचन समिति समक्ष अघि सारे । फारममा लेखिएको थियो- नामथर कृष्णकुमार कार्की, उम्मेदवार हुन चाहेको पद केन्द्रीय कोषाध्यक्ष ।

उनको फारम देखेर निर्वाचन समितिका सदस्यहरु छक्क परे । किनकी अनुमानविपरित कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारको रुपमा अर्का एक दाबेदार कार्की पनि थपिए । रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको प्यानलबाट पहिल्लै कोषाध्यक्ष पदमा क्रमशः सीतादेवी यादव, चित्रलेखा यादव र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराइसकेका थिए ।

को हुन् कार्की ?

कास्कीको पोखरा उपमहानगरपालिका १८ घर भएका कार्की क्षेत्रनम्बर २ का महासमिति सदस्य हुन् । कार्कीले ५ प्रस्तावक र ५ समर्थकको दस्तखतसहित उम्मेदवारी दर्ता गराएका छन् ।

उनका प्रस्तावकहरुमा हुर्मत कुमार न्यौपाने, हासन खान, हर्षजित लामा, देबी कृष्ण न्यौपाने र जनकराज गिरी छन् । यसैगरी समर्थकहरुमा कृष्णसिंह परियार, देबी प्रसाद कोइराला, मन्जु गौतम, पुष्पराज पराजुली र डम्बर गुरुङ छन् ।

नेविसंघ कास्की जिल्ला सदस्य हुँदै तरुण दल कास्की जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालीसकेका छन् कार्कीले । त्यसपछि क्षेत्रीय प्रतिनिधि हुँदै उनी बाह्रौं र तेह्रौं महाधिवेशनमा महासमितिम सदस्य निर्वाचित भए ।

४५ सालदेखि आफू निरन्तर राजनीतिमा सक्रिय भएको बताउने कार्कीले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताए । गुटको राजनीति अन्त्य गर्नुपर्छ भनेर कोषाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए ।

कार्कीले अनलाइनखबरसँग भने, ‘हाम्रो पार्टीमा गुट-उपगुटको राजनीति भयो, म यो अन्त्य गर्ने अभियानमा छु । त्यसैले उम्मेदवारी फिर्ता लिँदैन ।’

कांग्रेसलाई एकढिक्का बनाउँछु भन्ने नेताहरुले गुटको राजनीति गरेर पार्टीलाई बिगारेको उनको गुनासो छ । उनले आफू कुनै पनि नेताको पछि नलागेको दाबी समेत गरे । उनले भने, ‘कांग्रेसलाई माया गर्ने म स्वतन्त्र कार्यकर्ता हुँ । गुट उपगुट भत्काएर पार्टीलाई सिंगो र बलियो बनाउनुपर्छ । त्यसको सुरुवात मैले गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment