+
+

असारदेखि काठमाडौंमा फोहोरबाट बिजुली बल्छः महानगर

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १९ गते १८:२८

fohorbata-bijuli१९ चैत, काडमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको अन्त्यसम्म काठमाडौंमा फोहरबाट बिजुली निकाल्न सुरु गर्ने जनाएको छ ।

नमूना परियोजनाका रुपमा स्थापना हुने बिजुली निकाल्ने प्लान्ट आगामी असारसम्म सञ्चालनमा ल्याउने महानरपालिकाको जनाएको छ । भारतबाट बिजुली निकाल्ने मेसिन किनेर ल्याउने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको महानगरका प्रमुख कार्यकारी रुद्रसिंह तामाङले बताए ।

तामाङ नेतृत्वको टोलीले फोहरबाट बिजुली निकाल्ने मेसिनको भारतमै पुगेर अवलोकन गरेर फर्किएको छ । विद्युत प्लान्ट भित्र्याउन राज एन्ड रिवाज नेपालीज वेस्ट कम्पनीले जिम्मा लिएको छ । भारतको इनिर्जी बीन नामक कम्पनीले निर्माण गरेको प्लान्टबाट बिजुली निकाल्ने मेसिन खरिद गर्ने तयारी छ । यो मेसिनको वारेन्टी ३ वर्षको हुनेछ ।

‘अहिले आउने ठूलो आकार र क्षमताको हैन । यो सामान्य डेमोजस्तै हुन्छ’ प्रमुख कार्यकारी तामाङले भने-‘तर, फोहोरबाट बिजुली निकाल्ने र जैविक फोहोरको व्यवस्थापन गर्ने सवालमा यसले नेपालका यसको परीक्षण गर्नेछ । त्यसैले यो निकै महत्वपूर्ण छ ।’

बिजुली निकाल्न कुहिने खालका जैविक फोहोरमात्रै प्रयोग गरिनेछ । काठमाडौंको टेकुस्थित फोहर स्टेशनमा जडान हुने मेसिनले फोहोरबाट पहिलो चरणमा बायो-ग्यास उत्पादन गर्नेछ । त्यही ग्यासबाट प्राप्त हुने शक्तिलेे बिजुलीको टर्वाइनलाई चलाइनेछ । टर्वाइन चलेपछि प्लान्टबाट दैनिक १४ देखि २० किलोवाटसम्म बिजुली निकाल्न सकिने अनुमान छ । फोहोरबाट उत्पादन हुने बिजुली टेकुको सडक बत्तीमा उपयोग गर्ने महानगरको योजना छ । परियोजनाका लागि १ करोड ८२ लाख रुपैयाँ खर्च हुने प्रमुख कार्यकारी तामाङले बताए ।

परियोजना अन्तरगत दैनिक तीन टन जैविक फोहोर प्रशोधन गरेर बिजुली निकालिने छ । छानिएको जैविक फोहरलाई सुरुमा मेसिनले धुलो बनाउनेछ । त्यसपछि फोहोरलाई प्लान्टमा कुहाइनेछ । कुहिएको फोहोरबाट बायो-ग्यास निकालेर त्यसबाटै बिजुलीको उत्पादन गर्ने योजना छ । महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा यो परियोजना नमूनाका रुपमा सञ्चालन गर्न लागेको हो ।

बिजुली निकाल्ने फोहोरका लागि महानगरका १९ र १२ नमबर वडामा सर्वसाधारणको घरमै जैविक फोहर बर्गीकरण गर्न लागिएको छ । त्यही फोहर बिजुली प्लान्टमा प्रयोग गरिनेछ । राजधानीमा दैनिक जम्मा हुने फोहोरमध्ये झण्डै ६५ देखि ७० प्रतिशत कुहिने खालका हुन्छन । फोहोरका लागि वाषिर्क करोडौं रुपैयाँ खर्च गर्ने गरेको महानगरले यो परियोजना सफल भए सबै जैविक फोहोरबाट बिजुली निकाल्न प्रयोग गर्ने योजना बनाएको छ ।

यो परियोजनाबाट बिजुली निकाल्न सके देशभरका नगरपालिकाले यसलाई पछ्याउन सक्ने अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?