Comments Add Comment

यी हुन् धेरै बोनस दिने ‘टप टेन’ कम्पनी

Bank Bonus_2072

२३ चैत, काठमाडौं । सेयर भन्नेवित्तिकै धेरैको ध्यान ठूला कम्पनीतिर जान्छ । नजाओस् पनि कसरी, ठूला कम्पनीको बजार चर्चा पनि ठूलै हुन्छ ।

तर, सेयरमा लगानी गरेर मालामाल कमाउने हो भने ठूला कम्पनीमात्रै नताक्नुहोस् । साना कम्पनीहरुको सेयरमा लगानी गर्नेले यो वर्ष मालामाल कमाएका छन् ।

यो आर्थिक वर्षमा सेयरधनीलाई धेरै लाभांस दिने मूख्य १० कम्पनीमध्ये ६ वटा लघुवित्त कम्पनीहरु रहेका छन् ।

साना कम्पनीको सेयरमा लगानी गर्नेहरुले ठूलो परिणामा लाभांस पाएका मात्रै छैनन्, लाभांसको घोषणासँगै उनीहरुको सेयर मूल्य पनि आकासिँदा मालामाल आम्दानी भएको छ । त्यसैले केही वर्षअघिसम्म ‘लघुवित्तको सेयर’ भनेर नाक खुम्च्याउने लगानीकर्ताहरु अहिले लघुवित्ततर्फ आकषिर्त भएका छन् ।

पुँजीको आकार सानो भएकाले लघुवित्त कम्पनीहरुले पुँजीको आकारमा उल्लेख्य नाफा कमाएपछि सेयरधनीलाई आकर्षक लाभांस दिन सफल भएका हुन् ।

लगानीकर्ताको आकर्षण बढेसँगै लघुवित्त कम्पनीहरुको सेयर मुल्य व्यापक बढेको छ । कम्पनीहरुले सेयरधनीलाई उल्लेख्यमात्रामा लाभांसको घोषणा गरेपछि लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

गत आर्थिक वर्षको नाफाबाट यो वर्ष लगानीकर्तालाई सबैभन्दा बढी लाभांस दिने कम्पनी हो, युनिलिभर नेपाल । युनिलिभरले लगानीकर्तालाई यस वर्ष ९९० प्रतिशत नगद लाभांस दिएको छ । युनिलिभरले बोनस सेयर भने दिएको छैन । यो समाचार तयार पार्दासम्म युनिलिभरको प्रतिकित्ता सेयर मूल्य २९ जार ५ सय ८० रुपैयाँ छ ।

त्यसैगरी, निर्धन उत्थान लघुवित्त विकास बैंकले सेयरधनीलाई ६१.९१ प्रतिशत लाभांस दिएको छ । जसमध्ये ४८.८१ प्रतिशत बोनस सेयर र १३.१ प्रतिशत नगद लाभांस रहेको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य १७७५ रुपैयाँ छ ।

त्यस्तै, स्वावलम्बन लघुवित्त विकास बैंकले ४२ प्रतिशत बोनस सेयर र १०.६३ प्रतिशत नगद लाभांस गरी ५२.६३ प्रतिशत लाभांस दिएको छ । यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य २३४० रुपैयाँ छ ।

त्यसैगरी, छिमेक लघुवित्त विकास बैंकले ४० प्रतिशत बोनस सेयर र १२.७ प्रतिशत नगद लाभांस गरी ५२.७ प्रतिशत लाभांस दिएको छ भने डिप्रोक्स विकास बैंकले ५० प्रतिशत बोनस सेयर र २.६३ प्रतिशत नगद लाभांस गरी ५२.६३ प्रतिशत लाभांस दिएको छ ।

पोखरा फाइनान्स पनि यो वर्ष लगानीकर्तालाई धेरै लाभांस दिने १० कम्पनीमा परेको छ । फाइनान्सले ४८.५ प्रतिशत बोसन सेयर र २.५ प्रतिशत नगद लाभांस गरी ५१.०५ प्रतिशत लाभांस दिएको छ । त्यसैगरी, नेरुडे लघुवित्त संस्थाले ४४ प्रतिशत बोनस सेयर र २.३२ प्रतिशत नगद लाभांस गरी ४६.३२ प्रतिशत लाभांस दिएको छ । नेरुडेको सेयर मुल्य २२१५ रुपैयाँ रहेको छ ।

त्यस्तै, समिट माइक्रोफाइनान्सले ४१.७२ प्रतिशत बोसन सेयर र २.१९ प्रतिशत ४३.९१ प्रतिशत लाभांस दिएको छ । यो कम्पनीको प्रतिकित्ता सेयर मुल्य २५७० रुपैयाँ छ ।

त्यसैगरी, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले ३५ प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद लाभांस गरी सेयरधनीलाई ४१.८४ प्रतिशत लाभांस दिएको छ । यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य ३९०० रुपैयाँ छ ।

सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने नविल बैंकमा यो वर्ष धेरै लाभांस दिने कम्पनीहरुमध्ये १०औं स्थानमा परेको छ । नविलले ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद लाभांस गरी सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांस दिएको छ । यो बैंकको प्रतिकित्ता सेयर मुल्य २०४४ रुपैयाँ रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका अढाई सय कम्पनीहरुमध्ये आधाभन्दा बढी सेयरधनीलाई यो वर्ष सेयरधनीलाई लाभांस दिए । गत आर्थिक वर्षमा कमाएको नाफाबाट कम्पनीहरुले सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांस दिएका हुन् ।

५० बढी कम्पनीले २० प्रतिशतभन्दा बढी लाभांस दिएका छन् भने तीन दर्जन कम्पनीहरुले ५ प्रतिशतको हाराहारीमा मात्रै लाभांस दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment